+
+
Shares

कांग्रेस महाधिवेशन : कुन पदको उम्मेदवारका लागि के चाहिन्छ योग्यता ?

कांग्रेसको केन्द्रीय सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्नेछ ।

केशव सावद केशव सावद
२०८३ असोज १९ गते २०:३२

१९ असोज, काठमाडौं । कांग्रेसको जारी १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि सोमबारदेखि निर्वाचन कार्यक्रम सुरू भएको छ ।

केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सम्पन्न गरेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत मंगलबार बिहानदेखि मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकिएको छ ।

निर्वाचन समितिले बुधबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकशन गर्ने कार्यतालिका बनाएको छ । कार्यतालिकाअनुसार बुधबार एक दिन उम्मेदवारहरूलाई प्रचार–प्रसारका लागि समय दिइएको छ ।

समितिका सदस्य सचिव कटुवालद्वारा जारी विज्ञप्तिअनुसार बिहीबार (२२ असोज) बिहान ७:३० देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन समितिले राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन स्थानमा मतदान हुने बताएको छ ।

बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ ।

कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाइने भएको छ । खुलामञ्चमा नै भ्रातृ एवम् शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्ने छन् ।

कांग्रेसको १५औं महाधिवेशनका लागि जारी निर्वाचन निर्देशिका, २०८३ ले केन्द्रीय सभापतिसहित विभिन्न तहका पदाधिकारी तथा नेतृत्वका लागि आवश्यक क्रियाशील सदस्यताको अवधि तोकेको छ ।

कांग्रेसको केन्द्रीय सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्नेछ ।

केन्द्रीय सदस्यको हकमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ । यस्तै जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारीका लागि पनि क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष पूरा भएको हुनुपर्ने भनिएको छ ।

तर, ३५ वर्ष मुनिका युवा, समायोजन भइ आएका र पेशागत–श्रमिक क्षेत्रका सदस्यको हकमा सीमा लागू नहुने निर्देशिकामा उल्लेख छ ।

‘जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको हकमा १० वर्ष (तर, ३५ वर्ष मुनिका युवा, समायोजन भइ आएका र पेशागत–श्रमिक क्षेत्रका सदस्यको हकमा यो सीमा लागु हुने छैन),’ निर्देशिकामा उल्लेख छ ।

कांग्रेसको गाउँपालिका तथा नगरपालिका सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा जिल्ला उपसभापति र सचिवका लागि भने कम्तीमा पाँच वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने वैधानिक व्यवस्था छ ।

यसअघि १४औं महाधिवेशनमा पनि केन्द्रीय सभापतिका लागि १५ वर्ष तथा केन्द्रीय पदाधिकारी र सदस्यका लागि १० वर्ष क्रियाशील सदस्यताको व्यवस्था थियो ।

तर, गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा संशोधन गरिएको विधानमा पुरानो व्यवस्था हटाइएको छ । यद्यपि, निर्वाचन निर्देशिकामार्फत उम्मेदवारको योग्यता र मनोनयनसम्बन्धी व्यवस्था गरिएको छ ।

विधानको धारा २१ बमोजिम निरन्तर क्रियाशील सदस्य रहेको वर्ष प्रमाणित गर्ने काम पार्टीका मुख्य सचिव वा मुख्य सचिव भइ काम गर्ने व्यक्तिलाई दिइएको छ ।

केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको पदमा उम्मेदवार हुन चाहने आकांक्षीले मनोनयन पत्र दाखिला गर्दा निरन्तर क्रियाशील सदस्यको प्रमाणित निस्सा मनोनयन पत्रका साथ दाखिला गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘विधानको धारा १३ (६) बमोजिम निरन्तर क्रियाशील सदस्य रहेको वर्ष प्रमाणित गर्ने काम नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव वा मुख्य सचिव भइ काम गर्ने व्यक्तिको हुनेछ,’ निर्देशिकमा भनिएको छ ।

१५औं महाधिवेशनमा कांग्रेसको इतिहासमै पहिलोपटक सबैभन्दा धेरै प्रतिनिधिहरू सहभागी भएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा साढे सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।

यसपालिको महाधिवेशनमा सहभागी प्रतिनिधिसँगै उम्मेदवारका आकांक्षीहरू पनि धेरै देखिएका छन् । आकांक्षीको संख्या बढेका कारण कांग्रेसले एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति तथा एक महिला महामन्त्री थपिने छ ।

विधान संशोधनपछि अब कांग्रेसमा चार उपसभापतिका लागि प्रतिष्पर्धा हुने छ । यस्तै महामन्त्रीको संख्या एक जना महिलासहित तीन हुनेछन् । उपसभापति र महामन्त्री सबै निर्वाचित हुनुपर्नेछ ।

कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ । समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित १५ जना सहमहामन्त्री हुने भएका छन् ।

महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ्ग समुदायबाट १/१ सहमहामन्त्री हुनेछन् ।

अघिल्लो महाधिवेशनको समयमा अल्पसंख्यक/अपाङ्ग क्लस्टर राखिएको थिएन । सहमहामन्त्री पदमा खुलातर्फबाट पनि छनोट गरिने भएको छ । त्यसका लागि दुई जना छुट्याइएको छ ।

सभापतिले सहमहामन्त्री चार जना मनोनीत गर्ने व्यवस्था गरिएको छ । सभापतिले एक महिला सहित चार जना थप्ने गरी विधान संशोधन गरिएको छ ।

यस्तै अब कांग्रेसको केन्द्रीय कार्यसमितिमा ४५ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने छन् । त्यसैगरी महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष निर्वाचित १२ जना सदस्य हुने छन् ।

प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहने गरी प्रत्यक्ष निर्वाचित २८ सदस्य केन्द्रीय समितिमा आउने छन् । दलित महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिला र एक मधेशी दलितसहित १२ तथा आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिलासहित १७ जना केन्द्रीय सदस्य हुनेछन् ।

खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट सात महिलासहित १५, मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिलासहित ११, थारु महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित तीन जना निर्वाचित हुनेछन् ।

त्यसैगरी मुस्लिम प्रतिनिधिमध्येबाट एक महिलासहित तीन जना, पिछडिएको क्षेत्रका प्रतिनिधिमध्येबाट एक महिलासहित दुई, अल्पसंख्यक प्रतिनिधिमध्येबाट एक र अपाङ्गता भएका प्रतिनिधिमध्येबाट एक जना केन्द्रीय सदस्य बन्ने छन् ।

श्रमिक महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित तीन जना, पेशागत विषयगत क्षेत्रका महाधिवेशन प्रतिनिधिहरु मध्येबाट दुई महिला सहित सात जना पनि निर्वाचित हुने छन् ।

युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुनेगरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना र खुल्ला सातजना गरी २१ जना सदस्य तथा नेपाली जनसम्पर्क समितिबाट दुई महिला खुलासहित तोकिएबमोजिमका क्षेत्रबाट निर्वाचित हुने सात जना पनि केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।

प्रजातन्त्र सेनानी, शहिद परिवार र द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधि मध्येबाट एक–एक जना १५ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा जितेर आउने छन् ।

कांग्रेसको विधानले केन्द्रीय सभापतिले ६१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने अधिकार दिएको छ । प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमिति सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने वैधानिक व्यवस्था छ ।

कांग्रेसको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना सदस्यलाई कोषाध्यक्षमा मनोनीत गर्ने प्रावधान रहँदै आएको छ ।

१५औं महाधिवेशनदेखि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिले प्रवक्तामा मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?