+
नेपाली क्रिकेट :

ओडीआई विश्वकप खेल्ने सपना कहिले होला पूरा ?

२०८३ असोज  २१ गते १३:२५ २०८३ असोज २१ गते १३:२५

एसोसिएट राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल अहिले टेस्ट राष्ट्रहरूसँग खेल्ने तहमा पुगेको छ । तर एउटा सपना भने अझै अधुरै छ– ओडीआई विश्वकप ।

२० असोज, काठमाडौं । कुनै पनि क्रिकेटिङ राष्ट्रका सपना एउटै हुँदैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेपछि पहिलो लक्ष्य आफ्नो पहिचान बनाउने हुन्छ, त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित खेल्ने, ठूलो टोलीलाई हराउने र विस्तारै विश्व क्रिकेटको ठूलो मञ्चमा पुग्ने सपना देखिन्छ ।

नेपालका लागि पनि यी सपना नयाँ होइनन् । क्रिकेटमा प्रवेश गरेदेखि नै नेपालले धेरै चरण पार गरिसकेको छ । एसोसिएट राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल अहिले टेस्ट राष्ट्रहरूसँग खेल्ने तहमा पुगेको छ । तर एउटा सपना भने अझै अधुरै छ– ओडीआई विश्वकप ।

नेपालले अहिलेसम्म पुरुष ओडीआई विश्वकप खेल्न सकेको छैन । टी–२० विश्वकपमा भने नेपालले तीनपटक विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा सहभागिता जनाइसकेको छ । तर ५० ओभरको विश्वकपमा पुग्नु नेपाली क्रिकेटको अझ ठूलो प्रतीक्षा बनेको छ ।

विश्वकप खेल्नु कुनै पनि क्रिकेटिङ राष्ट्रका लागि केवल एउटा प्रतियोगितामा सहभागिता जनाउनु होइन । यो वर्षौंको मेहनत, संरचना, खेलाडी उत्पादन, घरेलु क्रिकेट र अन्तर्राष्ट्रिय प्रदर्शनको परिणाम हो ।

नेपालले पनि पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्तर देखाउँदै आएको छ । एसिया कपमा भारत र पाकिस्तानजस्ता टोलीसँग खेल्ने अवसरदेखि टी–२० विश्वकपसम्मको यात्राले नेपाल विश्व क्रिकेटको नक्सामा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको देखाएको छ ।

तर ओडीआई विश्वकपको ढोका भने अझै खुलेको छैन । विश्वकप छनोटको यात्रामा नेपाल पटक–पटक नजिक पुगेको छ । नेपालले हालसम्म तीनपटक (सन् २०१४, २०१८ र २०२३ मा) एकदिवसीय विश्वकपको छनोट खेलेको छ । तर नेपालले उक्त छनोट पार गरेर विश्वकपमा स्थान बनाउन भने सकेको छैन ।

यसले एउटा प्रश्न भने निरन्तर छाडेको छ– नेपालले ओडीआई विश्वकप खेल्न अझै कति पर्खनुपर्ने हो ?

Photo : Peter Lim/PhotoDesk.com.my for Asian Cricket Council

ओडीआई मान्यता जोगाउनु नै पहिलो चुनौती

विश्वकप पुग्ने सपना देखिरहँदा नेपालका लागि अहिलेको अर्को महत्वपूर्ण चुनौती ओडीआई मान्यता जोगाउनु पनि हो । हाल नेपाल ओडीआई मान्यता जोगाउनै मुस्किल अवस्थामा छ त्यसैले विश्वकप त अहिलेका लागि परकै कुरा हो ।

विश्व क्रिकेटमा एसोसिएट राष्ट्रका लागि ओडीआई मान्यता आफैंमा ठूलो उपलब्धि हो । तर त्यो मान्यता निरन्तर कायम राख्न पनि नियमित अन्तर्राष्ट्रिय प्रदर्शन आवश्यक हुन्छ ।

नेपालले पछिल्ला वर्षमा ओडीआईमा उतारचढावपूर्ण प्रदर्शन गरेको छ । कहिले उत्कृष्ट जित निकाल्ने, कहिले अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्ने क्रमले टोलीलाई स्थिर हुन दिएको छैन । नेपालका ओडीआई जितहरू क्षणिक मात्र हुँदा त्यसले दिगो सफलता दिलाउन सकिरहेको छैन ।

विश्वकप खेल्ने हो भने केही ठूला खेल जितेर मात्र पुग्दैन । लामो समयसम्म निरन्तर राम्रो प्रदर्शन गर्ने टोली बन्नुपर्छ । यही कारण अहिलेको प्राथमिकता विश्वकपमा पुग्ने सपना मात्र होइन, ओडीआई क्रिकेटमा आफ्नो स्थानलाई स्थायी बनाउने पनि हो ।

यसका लागि नेपाली टोलीले टी-२०आईमा मात्र नभएर ओडीआई क्रिकेटमा पनि केन्द्रित हुन जरुरी हुन्छ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान रहिसकेका पवन अग्रवाल पनि यही धारणा राख्छन् ।

‘५० ओभरको विश्वकप खेल्ने भनेपछि घरेलु संरचना सुधार गर्नुको त विकल्प नै छैन । खेलाडीहरू टी-२० धेरै खेलेकाले लामो फर्म्याटको दबाब झेल्नै सक्दैनन्’ अग्रवालले भने, ‘हाम्रो सुरुवात नै टी-२० बाट बढी हुन्छ, त्यसकारण ५० ओभरमा खेल्न गाह्रो देखिएको छ ।’

नेपाली टोलीले बाहिरी कन्डिशनमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । यदि ५० ओभरको विश्वकप खेल्ने हो भने घरेलु मात्र नभएर बाहिरी जस्तोसुकै कन्डिशनमा पनि राम्रो खेल्न सक्नुपर्छ ।

‘बाहिर अलि च्यालेन्जिङ विकेटहरू हुन्छन्, नेपालमा अब अलि फ्ल्याट पिचमा खेलेको बानी पनि भएर बाहिरको विकेटमा राम्रो ब्याटिङ हुनै सकिरहेको छैन’ अर्का पूर्वकप्तान राजु खड्काले भनेका छन् ।

यही कारण नेपालले लिग २ अन्तर्गत खेल्ने ओडीआई शृङंखलामा घरेलु मैदानमा राम्रो खेल्दा बाहिर संघर्ष गरिरहेको छ, जसको प्रत्यक्ष असर अंकतालिकामा पर्ने गरेको छ र त्यसले विश्वकपको यात्रा अझ कठिन बनाएको छ ।

नेपालसँग प्रतिभा छ भन्ने प्रमाण पछिल्ला वर्षका प्रदर्शनले दिइसकेको छ । प्रश्न अब प्रतिभाको मात्र होइन, त्यसलाई लामो समयसम्म अन्तर्राष्ट्रिय स्तरमा टिकाइराख्ने संरचनाको हो ।

एसोसिएट राष्ट्रका लागि बाटो अझ कठिन

नेपालको सपना पूरा हुन नसक्नुको कारण नेपालभित्र मात्रै खोजेर भने पुग्दैन । एसोसिएट क्रिकेटको संरचना आफैंमा चुनौतीपूर्ण छ ।

एकदिवसीय विश्वकपमा टी-२० विश्वकपभन्दा कम राष्ट्रहरू सहभागी हुन्छन् । सन् २०२३ को एकदिवसीय विश्वकपमा १० राष्ट्रले खेलेका थिए । त्यसअघि सन् २०१९ मा पनि १० टोलीले मात्र खेले । सन् २०१५ मा भने १४ टोलीले दुई समूहमा विभाजित भएर खेलेका थिए । सन् २०११ मा पनि १४ टोलीले नै खेलेका थिए ।

सन् २०१९ देखि सहभागी टोलीको संख्या घटाइएको थियो, जसका कारण एसोसियट राष्ट्रले एकदिवसीय विश्वकप खेल्न थप कठिन बन्यो ।

अब सन् २०२७ मा १४ टोली नै सहभागी हुने भनिएपनि मुख्य प्रतियोगिता भने १२ टोलीले मात्र खेलेसरह देखिन्छ । आयोजकमध्ये दक्षिण अफ्रिका र जिम्बाबे सोझै विश्वकप खेल्दा वरीयताका आधारमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश पनि सोझै विश्वकप खेल्नेछन् ।

अब बाँकी टोलीको टुङ्गो भने विश्वकप छनोटबाट लाग्छ । विश्वकप छनोटबाट शीर्ष ४ मा हुनेमध्ये शीर्ष टोली सोझै विश्वकपमा प्रवेश गर्नेछन् भने बाँकी तीन टोली फेरि एकआपसमा खेल्छन् जहाँबाट तीमध्ये एक टोली मात्र विश्वकपमा पुग्छन् ।

यसको अर्थ १४ टोली सहभागी भनेर बताइएपनि २ टोलीको यात्रा मुख्य चरणमा नपुग्दै समाप्त हुन्छ । त्यसकारण एकदिवसीय विश्वकप खेल्ने टिम संख्या नै कम हुँदा एसोसियट राष्ट्रहरू वञ्चित हुने गरेका छन् ।

अर्कोतर्फ पूर्ण सदस्य राष्ट्रहरूलाई नियमित टेस्ट, ओडीआई र टी–२०आई खेल्ने अवसर हुन्छ । उनीहरूका खेलाडीले विश्वस्तरीय प्रतियोगितामा निरन्तर प्रतिस्पर्धा गर्छन् । त्यसको तुलनामा एसोसिएट राष्ट्रका लागि उच्चस्तरीय खेलको संख्या र अवसर सीमित हुन्छ ।

नेपालले पनि यही समस्या भोग्दै आएको छ । अझ ठूलो प्रतियोगिताको छनोट प्रक्रियामा एउटा खराब खेलले वर्षौंको मेहनतलाई प्रभावित गर्न सक्छ ।

अहिलेका लागि एसोसियट राष्ट्रको विश्वकप खेल्ने माध्यम भनेको क्रिकेट विश्वकप लिग २ हो जसमा तीनदेखि चार वर्षको अन्तरालमा एसोसियटका उत्कृष्ट ८ टोलीले ३६ ओडीआई खेल्छन् ।

लिग २ बाट विश्वकप छनोट हुँदै त्यहाँबाट विश्वकपको ढोका खुल्न सक्छ । लिग २ मा शीर्ष ४ मा पर्ने टोली विश्वकप छनोटमा पुग्छन् भने बाँकी ४ टोलीले प्लेअफ पार गरेर पनि विश्वकप छनोटमा पुग्न सक्छन् ।

त्यसैले विश्वकपसम्म पुग्ने नेपालको यात्रा केवल मैदानमा खेल जित्ने विषय मात्र होइन । पर्याप्त अन्तर्राष्ट्रिय खेल, बलियो घरेलु संरचना, नियमित उच्चस्तरीय प्रतिस्पर्धा र सही छनोट प्रणाली पनि त्यत्तिकै महत्वपूर्ण छन् ।

टेस्ट मान्यता- अर्को ठूलो सपना

ओडीआई विश्वकपपछि नेपाली क्रिकेटको अर्को ठूलो लक्ष्य के हुन सक्छ ? जवाफ स्वाभाविक छ– टेस्ट मान्यता ।

विश्व क्रिकेटमा टेस्ट मान्यता पाउनु कुनै पनि राष्ट्रका लागि सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो । तर त्यो तहमा पुग्न ओडीआई विश्वकप खेल्नेभन्दा पनि ठूलो संरचनागत तयारी आवश्यक हुन्छ ।

त्यसका लागि घरेलु प्रथम श्रेणी क्रिकेट बलियो हुनुपर्छ । खेलाडीले चारदिने क्रिकेट खेल्न पाउनुपर्छ । नियमित उच्चस्तरीय प्रतियोगिता हुनुपर्छ। पूर्वाधार, खेलाडीको संख्या र क्रिकेट प्रशासन सबै पक्ष एकैसाथ अघि बढ्नुपर्छ ।

त्यसैले टेस्ट मान्यता अहिलेको तत्कालीन लक्ष्यभन्दा पनि नेपाली क्रिकेटको दीर्घकालीन गन्तव्य हो । आईसीसीको वार्षिक सम्मेलनमा क्यानका सचिव पारस खड्काले नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने कुरा उल्लेख गरेका थिए ।

‘हामीसँग फ्यान छन्, सरकार र आईसीसीको समर्थन छ। हामी वेस्ट इन्डिजसँग पहिलोपटक सिरिज खेल्दैछौं। नेपाल छिट्टै टेस्ट राष्ट्र बन्नेछ- यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता हो’ पारसले भनेका थिए ।

कुनै समय टी–२० विश्वकप र ओडीआई मान्यता पनि टाढाको सपना जस्तै थिए । आज नेपाल त्यहाँ पुगिसकेको छ ।

त्यसकारण सपना देख्ने अधिकार नेपाललाई छ । नेपाली क्रिकेटले धेरै पटक प्रमाणित गरेको एउटा कुरा हो– अवसर पाउँदा नेपाल ठूलो टोलीसँग प्रतिस्पर्धा गर्न सक्छ ।

तर विश्वकप खेल्नका लागि अब केवल ‘ठूला टोलीलाई हराउने’ क्षण खोजेर पुग्दैन । नेपालले आफूलाई नियमित रूपमा ठूलो प्रतियोगिताका लागि योग्य टोलीका रूपमा स्थापित गर्नुपर्नेछ ।

विश्वकपको एउटा टिकटले नेपाली क्रिकेटको सबै समस्या समाधान गर्दैन । तर त्यो टिकटले नेपाली क्रिकेटको अर्को पुस्तालाई ठूलो सपना देखाउने आधार भने पक्कै दिन सक्छ ।

आजको पुस्ताले टी–२० विश्वकप देख्यो । अर्को पुस्ताले ओडीआई विश्वकप देख्न सक्छ । त्यसपछि टेस्ट क्रिकेटको सपना पनि असम्भव रहने छैन ।

तर त्यसका लागि प्रश्न ‘नेपाल विश्वकप खेल्छ कि खेल्दैन ?’ भन्ने होइन । प्रश्न अब यति मात्रै हो– ओडीआई विश्वकप खेल्ने नेपालको सपना कहिले पूरा होला ?

जवाफ मैदानमै खोज्नुपर्नेछ। र त्यो जवाफ एक खेलले होइन, अबका धेरै वर्षको निरन्तर प्रदर्शनले दिनेछ ।

ओडीआई विश्वकप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय