News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालसँग नियमित खेल्ने नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र नामिबियाले यसअघि ओडीआई विश्वकप खेलिसकेका छन्।
- नेदरल्यान्ड्सले पाँच, स्कटल्यान्डले तीन, यूएईले दुई र नामिबियाले एकपटक विश्वकप खेलेका छन् भने नेपाल अहिलेसम्म मुख्य विश्वकपमा पुगेको छैन।
- २०२७ को विश्वकपका लागि लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन्, र नेपाल ती चार टोलीसँगै प्रतिस्पर्धा गरिरहेको छ।
काठमाडौं । नेपालले पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान बलियो बनाउँदै गएको छ । एसोसिएट क्रिकेटमा नेपालले नियमित रूपमा सामना गर्ने टोलीहरू पनि अब अपरिचित छैनन् ।
तर नेपालको अहिलेको प्रतिस्पर्धाको स्तरलाई अर्को कोणबाट हेर्ने हो भने एउटा रोचक तथ्य भेटिन्छ- नेपालसँग अहिले नियमित खेल्ने चार टोलीले यसअघि नै ओडीआई विश्वकपको अनुभव बटुलिसकेका छन् ।
हुन त ती टिमहरूले धेरै वर्षअघि विश्वकपको अनुभव बटुलेका हुन्, जतिबेला सायद नेपाली टोलीका अहिलेका केही खेलाडी त जन्मिएका पनि थिएनन् ।
नामिबिया, संयुक्त अरब इमिरेट्स (यूएई), स्कटल्यान्ड र नेदरल्यान्ड्स- यी चारै टोली विश्वकपको मुख्य प्रतियोगिता खेलिसकेका टोली हुन् । फरक समय र फरक परिवेशमा यी टोलीहरूले विश्वकप खेलेका छन् ।
अहिले यी सबै टोली नेपालसँगै २०२७ को विश्वकप छनोटको बाटोमा छन् । नेपालले विश्वकपको मुख्य प्रतियोगिता भने अहिलेसम्म खेल्न सकेको छैन ।
नेदरल्यान्ड्स सबैभन्दा धेरैपटक विश्वकप पुगेको टोली

नेपालसँग नियमित प्रतिस्पर्धा गर्ने चार टोलीमध्ये नेदरल्यान्ड्सको विश्वकप अनुभव सबैभन्दा लामो छ ।
नेदरल्यान्ड्सले १९९६ मा पहिलोपटक विश्वकप खेलेको थियो । त्यसपछि २००३, २००७, २०११ र २०२३ मा गरी पाँच संस्करणमा विश्वकप खेलेको छ । २०२३ को विश्वकपमा छनोट हुनु पनि उसको लागि महत्वपूर्ण पुनरागमन थियो। स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स भारतमा भएको विश्वकपमा पुगेको थियो ।
२०२३ को विश्वकपमा पनि नेदरल्यान्ड्सले दक्षिण एसियामा आएर खेलेको थियो । अहिले त्यही टोली नेपालसँग विश्वकप लिग–२ मा नियमित प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो लिग २ चक्रमा पनि खेल भएका छन् । २०२६ मा यी दुई टोलीबीच नेपाल र नेदरल्यान्ड्स दुवैमा लिग २ का खेल भएका थिए ।
लिग २ को अंकतालिकामा नेदरल्यान्ड्स अहिले तेस्रो स्थानमा छ र सिधै विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । त्यहाँबाट नेदरल्यान्ड्सले फेरि विश्वकपको बाटो तय गर्न सक्छ ।
स्कटल्यान्ड : तीन विश्वकप, तर जित अझै बाँकी

स्कटल्यान्डले सन् १९९९ मा पहिलोपटक विश्वकप खेलेको थियो । त्यसपछि २००७ र २०१५ मा पनि विश्वकपमा स्थान बनायो ।
स्कटल्यान्डको विश्वकप इतिहास भने नेदरल्यान्ड्सको भन्दा फरक छ । उसले तीनपटक विश्वकप खेले पनि मुख्य प्रतियोगितामा अहिलेसम्म जित निकाल्न सकेको छैन । तर एसोसिएट क्रिकेटमा स्कटल्यान्ड लामो समयदेखि बलियो टोलीका रूपमा रहँदै आएको छ ।
अझ पछिल्लो विश्वकप छनोट चक्रमा स्कटल्यान्डको प्रदर्शन प्रभावशाली रह्यो । २०१९ देखि २३ सम्म भएको लिग २ चक्रमा उसले ३६ मध्ये २४ खेल जित्दै शीर्ष स्थानमा रहेर विश्वकप छनोटको यात्रा अघि बढाएको थियो ।
यसपटकको लिग २ चक्रमा स्कटल्यान्ड दोस्रो स्थानमा छ र सिधै विश्वकप छनोटमा स्थान उसले पनि बनाएको छ ।
यूएई : दुईपटक विश्वकप खेलेको टोली

नेपालको अर्को नियमित प्रतिद्वन्द्वी यूएईले पनि दुईपटक ओडीआई विश्वकप खेलिसकेको छ ।
यूएईले सन् १९९६ मा पहिलोपटक विश्वकप खेलेको थियो । त्यसपछि २०१५ मा दोस्रोपटक विश्वकपमा पुगेको थियो । १९९६ को विश्वकपमा यूएईले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।
२०१५ को विश्वकपमा भने यूएईले जित निकाल्न सकेन । तर विश्वकप खेलिसकेको अनुभव बोकेको यूएईको क्रिकेटिङ यात्रा भने उतारचढावले भरिएको छ ।
अहिले पनि यूएई नेपालसँगै विश्वकप छनोटको बाटोमा त छ तर लिग २ मा पुछारमा रहेकाले ओडीआई मान्यता पनि प्लेअफबाटै जोगाउनुपर्ने हुन सक्छ ।
नामिबिया : विश्वकप खेलेर पनि अहिले नेपालको नियमित प्रतिद्वन्द्वी

नामिबियाले सन् २००३ मा पहिलोपटक ओडीआई विश्वकप खेलेको थियो । त्यसयता विश्वकपको मुख्य प्रतियोगितामा पुग्न सकेको छैन । तर एसोसिएट क्रिकेटमा नामिबिया लामो समयदेखि प्रतिस्पर्धी टोलीका रूपमा रहेको छ ।
लिग २ को अहिले चलिरहेको चक्र सुरु हुँदा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले नै पहिलो त्रिकोणात्मक शृङ्खला खेलेका थिए, नेपालमै ।
२०२६ मा पनि नेपाल र नामिबियाबीच लिग २ का खेल भएका छन् । अंकतालिकामा नामिबियाले नेपालभन्दा माथि फिनिस गर्ने पक्का छ, ओमानले चारवटै खेल हारेमा नामिबिया शीर्ष ४ मै पर्ने झिनो सम्भावना पनि जीवितै छ ।
यसरी, एक समय विश्वकप खेलिसकेको नामिबिया अहिले नेपालको विश्वकप यात्राकै बाटोमा पर्ने नियमित प्रतिद्वन्द्वी हो ।
***
रोचक पक्ष के छ भने अहिले नेपालसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका यी चार टोलीको विश्वकप इतिहास भने निकै फरक छ ।
नेदरल्यान्ड्सले पाँचपटक विश्वकप खेलेको छ। स्कटल्यान्ड तीनपटक विश्वकप पुगेको छ। यूएई दुईपटक विश्वकप खेलिसकेको छ भने नामिबियाले एकपटक विश्वकपमा सहभागिता जनाएको छ।
नेपाल भने अहिलेसम्म मुख्य विश्वकपमा पुगेको छैन ।

तर अहिलेको विश्वकप छनोट संरचनाले नेपाललाई यी टोलीसँगै एउटै बाटोमा प्रतिस्पर्धा गर्ने अवसर दिएको छ । २०२७ को विश्वकपका लागि लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् भने बाँकी चार टोलीले पनि प्लेअफ मार्फत् विश्वकपमा स्थान बनाउन सक्छन् ।
नेपालको चुनौती केवल विश्वकपमा पहिलोपटक पुग्ने मात्र होइन । अहिले नेपालले नियमित रूपमा सामना गरिरहेका टोलीहरूकै इतिहास हेर्दा त्यो यात्राको कठिनाइ पनि प्रस्ट हुन्छ ।
नेदरल्यान्ड्स पाँचपटक विश्वकप पुगिसकेको छ। स्कटल्यान्ड तीनपटक पुगिसकेको छ। यूएई र नामिबियाले पनि विश्वकपको मैदान देखिसकेका छन्।
नेपालले भने यही स्तरका टोलीसँग नियमित खेल्दै आफ्नो विश्वकपको सपना पछ्याइरहेको छ। अझ महत्वपूर्ण कुरा, नेपालले यी सबै टोलीलाई हराउन सक्ने क्षमता पनि देखाइसकेको छ।
प्रतिक्रिया 4