+
+
Shares

मुकोट हिमालको काखसम्म पुग्यो सडक, ५ हजार ७ सय मिटर उचाइमा निर्माणको चुनौती

विश्वकै अग्ला मानव बस्तीमध्ये पर्ने मुकोट क्षेत्रसम्म सडक पुगेपछि वर्षौंदेखि भौगोलिक विकटतामा रहेका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २३ गते ११:०२

२३ असोज, सुर्खेत । ठूली भेरी नदीको उद्गमस्थल मुकोट हिमालको काखमा रहेको मुकोट बस्ती सडक सञ्जालसँग जोडिएको छ। अत्यन्तै कठिन भौगोलिक अवस्था र उच्च हिमाली क्षेत्रमा चुनौतीपूर्ण काम गर्दै स्थानीय सरकारले मुकोटसम्म सडक पुर्‍याएको हो।

विश्वकै अग्ला मानव बस्तीमध्ये पर्ने मुकोट क्षेत्रसम्म सडक पुगेपछि वर्षौंदेखि भौगोलिक विकटतामा रहेका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

सडक निर्माणका क्रममा ५ हजार ७ सय, ५ हजार ५ सय, ५ हजार ३ सय र ४ हजार ८ सय ४६ मिटरजस्ता अत्यधिक उचाइका क्षेत्रमा समेत काम गरिएको छ।

छार्का ताङसोङ गाउँपालिकाका इन्जिनियर बमबहादुर भण्डारीका अनुसार हिमालको काखमा हिउँ छिचोल्दै सडक निर्माण गरिएको हो। सीमित स्रोत–साधन र प्रतिकूल मौसमका बीच उच्च हिमाली क्षेत्रमा सडक निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको उनले बताए।

६५ किलोमिटर सडक निर्माण

मुस्ताङतर्फबाट छार्का ताङसोङ गाउँपालिका–१ सम्म करिब ३० किलोमिटर सडक निर्माण भएको छ। त्यहाँबाट मुकोटसम्म थप ३५ किलोमिटर सडक निर्माण गरिएको इन्जिनियर भण्डारीले बताए। यसरी मुस्ताङदेखि छार्का हुँदै मुकोटसम्म करिब ६५ किलोमिटर सडकले उच्च हिमाली बस्तीलाई सडक सञ्जालसँग जोडेको छ। १० किलोमिटर प्रदेश सरकार र बाँकी सबै गाउँपालिकाले सडक निर्माण गरेको भण्डारीले बताए ।

सडक निर्माणले ठूली भेरी नदीको उद्गम क्षेत्रदेखि विभिन्न बस्ती हुँदै मुकोट हिमालको काखसम्म यातायातको पहुँच विस्तार भएको छ।

यसअघि पैदल यात्रामा निर्भर रहनुपर्ने स्थानीयलाई सडक पुगेपछि दैनिक उपभोग्य सामग्री ढुवानी, आवतजावत तथा स्थानीय उत्पादनको ओसारपसारमा सहजता हुने अपेक्षा गरिएको छ।

हिउँ र उचाइसँग जुध्दै निर्माण

उच्च हिमाली क्षेत्रमा सडक निर्माण सामान्य भूभागको भन्दा निकै कठिन हुने गरेको इन्जिनियर भण्डारीले बताए। अत्यधिक उचाइ, हिउँ, चिसो मौसम र कठिन भूगोलका कारण निर्माणका क्रममा अनेक चुनौती सामना गर्नुपरेको उनको भनाइ छ। ‘हिमालको काखमा हिउँ छिचोल्दै सडक निर्माणको काम गरेका छौँ,’ भण्डारीले भने।

मुकोटसम्म सडक पुग्नु भौतिक पूर्वाधार निर्माण मात्रै नभई दुर्गम हिमाली भूगोललाई राज्यको विकासको मूलधारसँग जोड्ने महत्वपूर्ण प्रयास भएको स्थानीय सरकारको बुझाइ छ। सडकसँगै शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटन क्षेत्रमा समेत नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

ठूली भेरी नदीको उद्गमस्थलबाट बस्ती–बस्ती जोड्दै मुकोट हिमालको काखसम्म पुगेको सडकले उच्च हिमाली क्षेत्रमा पूर्वाधार निर्माणको नयाँ सम्भावना रहेको स्थानीयबासीको भनाइ रहेको छ । मुस्ताङ हुँँदै डोल्पा जोडने यो सडकले छोटो यात्रा समेत बनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?