News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजना कार्यान्वयन भइरहेको बताए ।
- हुलाक सेवा विभागले १५२औं विश्व हुलाक दिवसका अवसरमा बिसे नगर्ची, वाङ्गे सार्की, कुलवीर थापामगर, कर्णबहादुर रानामगर र जोन लोगी बेयर्डको तस्विर अंकित टिकट जारी गरेको हो ।
- राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्विर अंकित टिकट जारी हुनुले दलित समुदायको ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताए ।
२३ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवा आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजना प्रभावकारी कार्यान्वयन हुँदै गएको बताएका छन् ।
हुलाक सेवा विभागद्वारा १५२औं विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकता अनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
हुलाक सेवाको ऐतिहासिक महत्त्व कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ, अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।’
उनले आधुनिक प्रविधि विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको बताए । हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको १ सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्विर अंकित हुलाक टिकट जारी गरेको हो ।
विभागले ती व्यक्तित्वका तस्विर अंकित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ । कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले उक्त हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।
कार्यक्रममा राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्विर अंकित हुलाक टिकट जारी हुनुले दलित समुदायका ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताए ।
सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले परिवर्तित परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताए । देशभरिका पालिका तहसम्म फैलिएको हुलाक सञ्जाल उपयोग गर्दै सरकारी कुरियर सेवाका रूपमा नागरिकका घरघरमा सेवा पुर्याउन सकिने बताए ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वभरि अझै सान्दर्भिक रहेको बताइन् ।
प्रतिक्रिया 4