+
+
Shares

८१ वर्षदेखि बेपत्ता चिनियाँ क्यालिग्राफी हङकङमा २ करोड २६ लाख डलरमा बिक्री

द्वितीय विश्वयुद्धको राजनीतिक हलचल र लुटपाटमा परी सन् १९४५ देखि बेपत्ता भएको दुर्लभ ऐतिहासिक चिनियाँ क्यालिग्राफी ‘जिसि टिए’ ८१ वर्षपछि पुनः सार्वजनिक हुँदै लिलामीमा २ करोड २६ लाख अमेरिकी डलरमा बिक्री भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द्वितीय विश्वयुद्धपछि बेपत्ता भएको चिनियाँ क्यालिग्राफी 'जिसि टिए' ८१ वर्षपछि पुनः सार्वजनिक भई १७७.४५ मिलियन हङकङ डलरमा बिक्री भएको छ।
  • प्रारम्भिक ताङका क्यालिग्राफर यु सिनानको यो निजी पत्र 'चाइना गार्डियन'ले हङकङमा आयोजना गरेको लिलामीमा १५५ मिलियन हङकङ डलरको ह्यामार प्राइस पाएको थियो।
  • लिलामीअघि बेइजिङमा प्रदर्शन गरिएको यो कृतिको शीर्षक र सुरुवाती दुई अक्षर हराएका छन्, तर बाँकी भाग र टिप्पणीहरू सुरक्षित रहेको बताइएको छ।

द्वितीय विश्वयुद्धको राजनीतिक हलचल र लुटपाटमा परी सन् १९४५ देखि बेपत्ता भएको दुर्लभ ऐतिहासिक चिनियाँ क्यालिग्राफी ‘जिसि टिए’ ८१ वर्षपछि पुनः सार्वजनिक हुँदै लिलामीमा २ करोड २६ लाख अमेरिकी डलर (करिब १७ करोड ७४ लाख ५० हजार हङकङ डलर) मा बिक्री भएको छ।

चिनियाँ कला क्षेत्रको प्रसिद्ध प्रदर्शनी गृह ‘चाइना गार्डियन’ ले हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा आयोजना गरेको प्रदर्शनीमा यस ऐतिहासिक कृतिलाई रु १५५ मिलियन हङकङ डलरको ह्यामार प्राइस मिलेको थियो । जसमा बायर प्रिमियम थपिँदा अन्तिम मूल्य १७७.४५ मिलियन हङकङ डलर पुगेको छ।

ताङ राजवंशका महान क्यालिग्राफर र कृतिको महत्त्व

यो क्यालिग्राफी प्रारम्भिक ताङ राजवंश (सन् ६१८-९०७) का महान क्यालिग्राफर यु सिनानले आफ्ना साथीलाई लेखेको एक निजी पत्र हो। ‘जिसि छिङ सिन’ (मैले धेरै समयदेखि तिमीलाई सम्झिरहेको छु) भन्ने वाक्यबाट सुरु हुने भएकाले यसको नाम ‘जिसि टिए’ राखिएको हो। यु सिनान ताङ सम्राट ताइजोङका क्यालिग्राफी गुरु हुन् र उनलाई ताङ कालका चार महान् क्यालिग्राफरमध्ये एक मानिन्छ।

हिउँदको अन्त्यतिर लेखिएको केही दर्जन शब्दहरूको यो पत्रमा यु सिनानले आफ्ना साथीको हालखबर सोध्नुका साथै आफ्नो स्वास्थ्य खस्किँदै गएको उल्लेख गरेका छन्। २७ सेन्टीमिटर चौडा र ५२.५ सेन्टीमिटर लम्बाइ भएको यो ह्याण्डस्क्रोलमा तत्कालीन सम्राटहरू र प्रसिद्ध कला पारखीहरूको मोहर र टिप्पणीहरू अंकित छन्।

प्यालेस म्युजियमको कल्चरल रेलिक्स एक्विजिसन एन्ड अप्रेजल कमिटीका सदस्य जिन युनचाङले गत सेप्टेम्बरमा आयोजित विचारगोष्ठीमा भनेका थिए, “आज यो एक बहुमूल्य लिलामी सामग्री हो, तर एक दिन यो इतिहासकै सबैभन्दा अमूल्य क्लासिक साबित हुनेछ।”

यस्तै, ‘चिनियाँ क्यालिग्राफी’ पत्रिकाका मुख्य सम्पादक झु पेइरले कृतिको प्राविधिक सुन्दरताबारे टिप्पणी गर्दै भनेका छन्, “जिसि टिएले मसीको प्रयोग, रेखाको शक्ति र सुक्खा ब्रसको सङ्क्रमणलाई स्पष्ट रूपमा देखाउँछ। यसले कागजमा ब्रसको गति र चाप कस्तो थियो भन्ने दुर्लभ दृश्य प्रस्तुत गर्छ। यसको अध्ययनले विद्वानहरूलाई यु सिनानबारे पुनः विचार गर्न मद्दत गर्नेछ।”

८१ वर्षको इतिहास र बेपत्ताको कथा

यस क्यालिग्राफीमा मिङ राजवंशका महान् कला समीक्षक डोङ छिछाङले सन् १५९८ मा प्रशंसात्मक टिप्पणी लेखेका थिए। पछि छिङ राजवंशका सम्राटहरू छियानलोङ, जियाछिङ र सुआनतोङले यसमा आफ्ना शाही छापहरू लगाएका थिए।

सन् १९३० को दशकमा चिनियाँ अन्तिम सम्राट पुयीले शाही सङ्ग्रहका कलाकृतिहरू चाङचुन सहरस्थित आफ्नो दरबार परिसरको ‘लिटिल व्हाइट हाउस’ मा लगेका थिए। सन् १९४५ मा जापानी कब्जा अन्त्य भई युद्धको अराजकता फैलिँदा सैनिकहरूले उक्त सङ्ग्रह लुटपाट गरेका थिए। सोही क्रममा यो क्यालिग्राफी पनि नष्ट भएको अनुमान गरिएको थियो।

सन् १९९१ मा प्रसिद्ध चिनियाँ क्यालिग्राफर याङ रेनकाइले आफ्नो पुस्तकमा निराशा व्यक्त गर्दै लेखेका थिए,”यु सिनानको वास्तविक जिसि टिए ‘लिटिल व्हाइट हाउस’ को लुटपाटमा परी नष्ट भयो र सधैँका लागि गुम्यो। यु सिनानको यो कृति अब अस्तित्वमा नरहनु निकै दुःखी कुरा हो।”

पुनरागमन र लिलामी

लामो समयसम्म हराएको मानिएको यो कृति पूर्ण रूपमा भने सुरक्षित छैन। यसको शीर्षक र सुरुवाती दुई अक्षरहरू हराएका छन् । तर बाँकी भाग र मिङकालीन टिप्पणीहरू सुरक्षित रहेकाले तिनलाई पुनः जोडेर वर्तमान स्वरूप दिइएको छ।

लिलामीअघि सेप्टेम्बरमा बेइजिङमा प्रदर्शनमा राखिँदा यो दुर्लभ कृति हेर्न मानिसहरूको ठूलो घुइँचो लागेको थियो। आयोजकहरूले प्रत्येक दर्शकका लागि हेर्ने समय मात्र दुई मिनेट तोकेका थिए भने लाइनमा बस्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो। कला इतिहासकारहरूका अनुसार यो बिक्रीले चिनियाँ क्यालिग्राफी र सांस्कृतिक धरोहरको ऐतिहासिक महत्त्वलाई पुनः विश्वमञ्चमा स्थापित गरेको छ। साउथ चाइना मर्निंग पोस्टबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?