News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय बैंकले उपमहानगरपालिका र नगरपालिकाभित्रका शाखा पनि एकीकरण वा समायोजन गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको छ।
- एक किलोमिटरभित्र सञ्चालनमा रहेका शाखामध्ये कम्तीमा एउटा कायम हुने गरी अन्य शाखा समायोजन गर्न सकिने व्यवस्था शुक्रबार जारी निर्देशनमा छ।
- चार शाखा बन्द गरेपछि शाखारहित ग्रामीण वडामा एउटा नयाँ शाखा खोल्नुपर्ने र गाउँपालिका तथा ग्रामीण क्षेत्रमा शाखा बन्द, स्थानान्तरण वा गाभ्न पूर्वस्वीकृति चाहिनेछ।
२३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उपमहानागर र नगरपालिका भित्रका शाखा पनि एकीकरण वा समायोजना गर्नसक्ने भएका छन् ।
केन्द्रीय बैंकले विद्युतीय कारोबार बढेको शुनाले बैंक वित्तीय संस्थाको भौतिक शाखा घटाउने उद्देश्य अनुसार, उपमहानगर र नगरपालिकाभित्र शाखा पनि समायोजना गर्न सकिने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै महानगरपालिकाभित्र मात्र रहेको शाखा समायोजनको सुविधा नगरपालिकासम्म पुर्याएको हो । यसअघि विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तिय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तिय संस्था स्वयंले महानगरपलिकामा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्ने व्यवस्था थियो ।
केन्द्रीय बैंकले उपमहानगरपालिका तथा नगरपालिकाभित्र रहेका आफ्ना शाखाहरूको समायोजनामा भने केही शर्त तोकेको छ । शहरी तथा शहरोन्मुख क्षेत्रमा रहेको शाखा समायोजन/एकीकरण गर्न सकिनेछ ।
समायोजन/एकीकरण गर्दा एक किलोमिटरको दूरी भित्र सञ्चालनमा रहेको शाखाहरू मध्ये कम्तीमा कुनै एक शाखा कायम हुने गरी सोही दूरी भित्रका आफ्ना अन्य शाखा मात्र समायोजन/एकीकरण गर्न सकिने निर्देशनमा उल्लेख छ ।
समायोजन/एकीकरण गरी प्रत्येक चार वटा शाखाहरू बन्द गरेपछि कुनै पनि बैंक तथा वित्तिय संस्थाको शाखा नरहेको ग्रामिण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्नेछ । त्यसको विवरण यस बैंकको बैक तथा वित्तिय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको पूर्वस्वीकृति बिना गाँउपालिका तथा ग्रामिण क्षेत्रमा रहेका शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउने छैनन् ।
समायोजन/एकीकरण भन्नाले कुनै इजाजतपत्रप्राप्त संस्थाको दुई वा दुई भन्दा बढी शाखाहरू एक आपसमा गाभिएर एउटा शाखा कायम हुने अवस्था सम्झनु पर्दछ ।
समायोजन/एकीकरण गर्दा शाखाहरूको वर्गीकरण गर्ने प्रयोजनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्रकाशन गरिएको पछिल्लो नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनमा उल्लेख भएका शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रलाई सम्झनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4