+
+
Shares

विराटनगरमा देउवा पक्षको अधिवेशन

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंमा केन्द्रीय नेतृत्वका लागि मतदान जारी रहँदा पार्टीको उद्गमस्थल विराटनगरमा भने इतर पक्षले महानगर अधिवेशन सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:२३

२३ असोज, विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको अधिवेशनले विराटनगर महानगरपालिकाको नयाँ नेतृत्व चयन गर्नेछ । कांग्रेस संस्थापन पक्षको अधिवेशनबाट भने कृष्ण कार्की नगर सभापति निर्वाचित भइसकेका छन् ।

शुक्रबार आयोजित इतर पक्षको अधिवेशन उद्घाटन सत्रमा पार्टीका शीर्ष र पुराना नेताहरूको उपस्थिति थिएन । संस्थापन इतर समूहका नेता केदार कार्कीको प्रमुख आतिथ्यमा अधिवेशन अघि बढाइएको थियो ।

अधिवेशनमा करिब ६०० प्रतिनिधिहरूको सहभागिता रहेको आयोजक पक्षले दाबी छ । तर उद्घाटन सत्रमा कार्यकर्ताको उपस्थिति भने पातलो देखिएको थियो ।

कांग्रेसको कुनै पनि पक्षमा स्पष्ट रूपमा नखुलेका नेता डा. शेखर कोइराला अधिवेशनमा आएनन् । कार्यकर्ताको सहभागिता न्यून देखिएको अधिवेशनमा कोइराला निकट नेता कार्कीसहित संस्थापन पक्षका मोरङ संयोजक सुवास पौडेल र निर्वाचन समिति सदस्य रुपेश कोइराला लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता केदार कार्कीले पार्टीको आधिकारिक अधिवेशन शुक्रबारबाट सुरु भएको बताए । काठमाडौंमा भने कांग्रेसकझ मेला लागेको उनले बताए । पार्टीको वैधानिकता विवाद अदालतमा रहेकाले काठमाडौंमा चलिरहेको महाधिवेशनलाई महाधिवेशन भन्न नसकिने उनको भनाइ छ ।

नेपाली कांग्रेसको स्थापना र राजनीतिक यात्रामा विराटनगरको भूमिका छ । नेपालको लोकतान्त्रिक आन्दोलनको बिजारोपण विराटनगर जुट मिलका मजदुरहरूले गरेका थिए, जसको नेतृत्व कांग्रेसका नेताहरूले गरेका थिए । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मथलो पनि विराटनगर नै हो ।

पार्टी दुई भागमा विभाजन हुँदा कोइराला परिवारको विरासतको राजनीति गरिरहेका शेखर कोइराला तटस्थ बसेका छन् । कोइराला परिवारकै सदस्य शशांक कोइराला इतर पक्षको महाधिवेशन समितिको नेतृत्व गरिरहेका छन् ।

गिरिजाप्रसादकी छोरी सुजाता कोइराला र मातृका कोइरालाको नाति पुस्ता भने कांग्रेस  महाधिवेशनमा सहभागी छन् । मातृकाकी नातिनी ऋचा कोइराला १५औं महाधिवेशनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेर सहभागी भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?