+
+
Shares

‘बा: एक योद्धा’मा खास के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक तथा लेखक हरि लम्सालको चलचित्र ‘बा: एक योद्धा’ तेस्रो हप्तामा पनि बलियो ‘वर्ड अफ माउथ’का कारण प्रदर्शन भइरहेको छ।
  • चलचित्रले रुद्रप्रसाद अधिकारीको कथामार्फत सन्तानको भविष्यका लागि बा ले घरजग्गा र सुनसमेत दाउमा राख्ने बाध्यता देखाएको छ।
  • निर्माण टोली हेटौँडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखराका हलमा दर्शक भेटेर काठमाडौं फर्किएको छ।

जीवनको गोधूलि साँझमा उभिएका एक बाको मुटुभित्र कतिवटा अशान्त आँधीबेहरी चल्छन् ? अनुहारमा मुस्कानको मुखौटा सजाएर छातीभित्र विवशताको पहाड थिच्दै सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो सम्पूर्ण अस्तित्व होम्ने त्यस्तै बाको कथा हो- बा: एक योद्धा ।

निर्देशक तथा लेखक हरि लम्सालले हरेक नेपाली घरको चुलोचौकोमा गुञ्जिरहेको उही परिचित सुस्केरा, मौन रोदन र पुस्तान्तरणको कारुणिक द्वन्द्वलाई अहिले पर्दामा उतारेका छन् ।

यो फिल्मको केन्द्रमा रुद्रप्रसाद अधिकारी छन्। पेसाले उनी अहेव हुन्। उनीसँग डाक्टरीको ठूलो प्रमाणपत्र नभए पनि उनको हातको ओखती र आत्मीय बोलीले गाउँलेका शारीरिक रोग निको पारिरहेको हुन्छ ।

अर्कोतिर, रुद्रप्रसाद आफ्ना जीवनका तमाम अभाव र सङ्घर्षको थोरै छायासम्म पनि परिवारमा नपरोस् भन्ने चाहने बा हुन् । उनी आफ्ना सन्तानका लागि सर्वस्व त्याग्न तयार रहने बा हुन् । बालबच्चा साना छँदा उनीहरूलाई हँसाउन र रमाउन कहिले हात्ती, कहिले घोडा, त कहिले कुकुर र बाँदर बनेर आँगनभरि खेलिदिने उनी स्नेही र सहृदयी बा हुन् ।

संसारका हरेक बाझैँ रुद्रप्रसादको जीवनको पनि एउटा ठूलो सपना हुन्छ-सन्तानलाई आफ्नै पसिनाले हुर्काएर सम्मानजनक जीवन दिनु ।

र, फिल्म उनको त्यही सपनामध्ये एक छोरीको विवाहबाट सुरु हुन्छ । उनले अत्यन्तै प्यारी छोरी कृपालाई घरकी सुगन्धित फूलजस्तै जतनले हुर्काएर पञ्चेबाजाको घन्किँदो धुनसँगै सात गाउँकै नमुना हुने गरी धूमधामका साथ बिहे गरेर पठाउँछन्। छोरीको बिहेमा लागेको ऋणको भारी छातीमा बाँकी नै छँदै उनी छोरीका लागि सानो टुक्रा जग्गा दिने निर्णय गर्छन् ।

तर, त्यो निर्णयले घरमा आँधीको बीजारोपण गराउँछ ।

छोरा विशाल र बुहारी विदेश जान खोजिरहेका छन् । पैसा अपुग भयो भने सोही जग्गा बेचेर जाने उनीहरूको विकल्प हुन्छ। बुबाले त्यही जग्गा बहिनीलाई दिएपछि छोरा विशाल बुबासँग रिसाउँछ ।

त्यसैबीच, कलेजको अफर लेटर आएसँगै कन्सल्टेन्सी र भिसा प्रक्रियाका लागि विशालले बालाई ६० लाख रुपैयाँ लाग्ने सुनाउँछ। एकातिर छोरीको बिहेको ऋण, अर्कातिर विदेश जान लाग्ने ६० लाखको बोझ! आफ्ना सन्तान आफ्नै आँखाअगाडि देशमै बसून् भन्ने बाबुको सामान्य चाहना युवा पुस्ताको वैदेशिक मोहका अगाडि निरुपाय बन्न पुग्छ ।

त्यसपछि सुरु हुन्छ-एउटा पिताको धैर्य, स्वाभिमान र विवशताको कारुणिक परीक्षा । सन्तानको खुसीका लागि आफ्नो प्राण अडिएको र पसिनाले सिँचेको पैतृक घर धितो राख्न वा बेच्नसम्म रुद्रप्रसाद तयार हुन्छन्। तर, जग्गा टेढोमेढो भएकाले बैंकले धितो कर्जा अस्वीकार गरिदिन्छ ।

समय घर्कँदै जाँदा र कन्सल्टेन्सीको ताकेता बढ्दा अत्तालिएको छोराले आवेशमा आएर बाबुमाथि ‘मलाई किन जन्माएको?’ भन्दै मर्मभेदी प्रश्न दाग्छ ।

छोराको त्यो कठोर शब्दले रुद्रप्रसादको छाती छेडिन्छ। तर, पनि उनी आक्रोशित हुँदैनन्। आफ्ना पीडा र अपमानका आँसु छातीभित्रै दबाएर उनी केवल ढाडस दिन्छन्-‘म जसरी पनि पैसा मिलाउँछु।’

यतिसम्म कि छोरालाई विदेश पठाउन रुद्रप्रसादकी श्रीमतीसमेत हातको सुन बेच्न तयार हुन्छिन्। जसोतसो उनीहरूले छोराबुहारीलाई विदेश पठाउने पैसा जुटाउँछन् । छोराबुहारी विदेश उड्छन् ।

तर, त्यसपछि छोराबुहारीलाई के हुन्छ? रुद्रप्रसाद र उनकी श्रीमतीलाई के हुन्छ ? धूमधामसँग बिहे गरेकी छोरीको वैवाहिक सम्बन्ध के हुन्छ ? यी यावत् प्रश्नहरूको उत्तर फिल्मको बाँकी कथामा छ ।

समग्रमा, यो फिल्मले सन्तानका असम्भव सपना पूरा गर्न आफ्नो सम्पूर्ण अस्तित्व र चिनारी नै दाउमा राख्ने बाको कथा देखाएको छ । उनको कथाले आधुनिक नेपाली समाजको कठोर विडम्बनालाई छर्लङ्ग पारेको छ ।

त्यसैले हुन सक्छ, यो फिल्मले राम्रो ‘वर्ड अफ माउथ’ पाएको छ। यही कारण अहिले यो फिल्म तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ । दर्शकहरूले ‘घरघरको कथा’ भन्दै हेर्नैपर्ने सिनेमा भएको प्रतिक्रिया दिइरहेका छन् ।

कलाकार र निर्देशकसहितको निर्माण टोली पनि मोफसलका दर्शकलाई भेटेर काठमाडौं फर्किएको छ। हेटौँडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, पोखरालगायत देशका विभिन्न ठूला सहरका हलमा पुगेर दर्शक भेटेपछि निर्माण टोली काठमाडौं फर्किएको हो ।

वैदेशिक रोजगारीको चपेटामा पिल्सिएर आफ्ना घरजग्गा र सुन धितो राख्दै सन्तानलाई विदेश पठाउन बाध्य लाखौँ नेपाली बाबुहरूको ओसिलो यथार्थलाई पोखेको यो फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङलगायत कलाकारहरूको जीवन्त अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?