+
+
Shares
हुलाक दिवस :

हुलाकको महत्त्व खुम्चिँदै, सेवा फेरिँदै

हातहातमा मोबाइल र इन्टरनेट पुगेपछि चिठीकोे प्रतीक्षा घटेको छ भने हुलाक सेवाको परम्परागत महत्व पनि खुम्चिँदै गएको छ।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ असोज २३ गते २०:३४

२३ असोज, भरतपुर। कुनै बेला हुलाकी गाउँमा आइपुग्दा कसको चिठी आयो भन्दै उनको पछिपछि लाग्ने मानिसको भिड हुन्थ्यो। टाढा रहेका आफन्तको खबर बोकेर आउने चिठीमा परिवारको माया, आत्मीयता र भावना जोडिएको हुन्थ्यो।

चिठी हात पर्दा प्राप्त हुने खुसी र त्यसलाई पढ्न पाउँदाको उत्साह बेग्लै हुन्थ्यो । तर अहिले समय फेरिएको छ। हातहातमा मोबाइल र इन्टरनेट पुगेपछि चिठीकोे प्रतीक्षा घटेको छ भने हुलाक सेवाको परम्परागत महत्व पनि खुम्चिँदै गएको छ।

आज १५२औं विश्व हुलाक दिवसका अवसरमा चितवनका हुलाक कर्मचारीले प्रविधिको विकासले हुलाक सेवाप्रति मानिसको अपेक्षा र व्यवहारसमेत परिवर्तन गरेको बताए ।

माडी नगरपालिका–८ का स्थानीय कृष्णप्रसाद सापकोटाले २०८३ साल असार १५ गते जिल्ला हुलाक कार्यालय चितवनबाट अवकाश भए। २०४४ सालमा स्थायी नियुक्ति लिएर हुलाक सेवामा प्रवेश गरेका उनले वर्षौंसम्म माडीको बाँदरझुलासम्म चिठी पुर्‍याएको बताए ।

चिठी बोकेर हिँड्दाका दु:ख, अप्ठ्यारा र सेवाग्राहीबाट पाएको माया उनका स्मृतिमा अझै ताजै छन् । ‘बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म चिठी वितरण गर्दैमा दिन बित्थ्यो,’ उनी विगत सम्झिन्छन् , ‘चिठी लिएर जाँदा मानिसहरूले धेरै माया गर्थे। एउटा गाविस पूरै हिँडेर सक्नुपर्थ्यो ।’

हुलाकीको जिम्मेवारी चिठी पुर्‍याउनुमा मात्र सीमित थिएन। लामो दुरी पैदल हिँड्नुपर्ने, गाउँका सबै घरसम्म पुग्नुपर्ने र कहिलेकाहीँ जोखिमसमेत मोल्नुपर्ने अवस्था आएको उनी बताउँछन्।

सापकोटाको हुलाक सेवाको यात्रामा सुखद सम्झनासँगै पीडादायी घटना पनि जोडिएका छन् । २०४६ सालमा चिठी वितरणका क्रममा चार जना युवाले आफूलाई समातेर खोलामा चोपलेको र साइकलसमेत बगाइदिएको घटना उनी अझै बिर्सन सक्दैनन्। त्यस घटनापछि काम गर्न नसक्ने भन्दै उनले राजीनामापत्र जिल्ला हुलाक कार्यालयमा पठाए।

त्यसपछि जिल्ला कार्यालयले चिठी घरघरमा पुर्‍याउनुको सट्टा सेवाग्राहीलाई हुलाक कार्यालयमै आएर लिन सक्ने व्यवस्था मिलायो। उनले पनि सोहीअनुसार काम गरेको बताए।

चिठी पाउँदा सेवाग्राहीको अनुहारमा देखिने खुसीले कामको थकान बिर्साइदिने गरेको उनी बताउँछन् । तर अहिले त्यही चिठी बोकेर घरघर पुग्दा पहिलेको जस्तो आत्मीयता पाउन मुस्किल छ।

‘अहिले चिठी लिएर घरमा जाँदा घण्टौं कुर्नुपर्छ। लिनुपर्ने मान्छे नै भेटिँदैनन् । भेटिए पनि चिठी नलिने अवस्था हुन्छ,’ सापकोटा थप्छन्, ‘धेरैजसो चिठी अदालत र बैंकका हुन्छन्। लिन कोही नआएपछि फिर्ता ल्याउनुपर्छ।’

मोबाइल र इन्टरनेटको सहज पहुँचले मानिसलाई क्षणभरमै सन्देश आदानप्रदान गर्न सम्भव बनाएको छ। तर त्यससँगै चिठीको प्रतीक्षा, त्यसमा जोडिएको भावना र हुलाकीप्रतिको पुरानो आत्मीयता हराउँदै गएको उनको अनुभव छ।

पहिले चिठी केही दिन ढिलो पुगे पनि सेवाग्राहीले खासै गुनासो नगर्ने गरेको सापकोटा सम्झन्छन् । अहिले भने सेवा छिटो हुनुपर्ने अपेक्षा बढेको छ। हुलाकमार्फत सामान पठाउँदा वा प्राप्त गर्दा पनि मानिसहरूले इन्टरनेट र फोनको गतिसरह तत्काल सेवा खोज्ने गरेका छन् ।

‘पहिले चिठीमा आफन्तको भावना आउँथ्यो। अहिले सबैको हातमा मोबाइल र इन्टरनेट छ। सामान पठाउने बित्तिकै फोन आउँछ। किन ढिला भयो भनेर गालीसमेत गर्छन्,’ उनी भन्छन् ।

समयसँगै हुलाकले आफ्नो सेवा पनि विस्तार गर्दै लगेको छ। अब हुलाकको काम चिठीपत्र ओसारपसारमा मात्रै सीमित छैन। सामान ढुवानीदेखि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नमुना र रिपोर्ट ओसारपसारसम्मका काममा हुलाक सेवा प्रयोग हुन थालेको छ।

जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्याल भरतपुर अस्पतालबाट विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइने नमुना र परीक्षणपछि ल्याइने रिपोर्ट ओसारपसारमा हुलाकले सेवा दिइरहेको बताउँछन् । २४ घण्टाभित्र प्रयोगशालामा पुर्‍याउनुपर्ने सामग्रीको ढुवानीमा समेत कार्यालयले काम गरिरहेको उनले बताए ।

उनका अनुसार सरकारले घरघरमै आवश्यक पासवर्ड पुर्‍याउने लगायतका सेवा हुलाकमार्फत विस्तार गर्ने प्रयास गरिरहेको छ। बदलिँदो समयअनुसार नयाँ सेवा थपेर हुलाकलाई पुन: प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

सञ्चार माध्यम र हुलाकबीचको सम्बन्ध

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली हुलाक र सञ्चार माध्यमबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँछन् । हुलाक सेवाले सञ्चार माध्यमका सामग्री तथा सूचना आदानप्रदानमा भूमिका खेलेको उनी बताउँछन् । अहिले पनि हुलाक र सञ्चारमाध्यमबीच समन्वयको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ।

पराजुलीका अनुसार हुलाकको आफ्नै इतिहास र महत्व भए पनि पछिल्लो समय यसको भूमिका कमजोर बन्दै गएको छ । विगतमा हुलाकी गाउँमा आइपुग्दा चिठी कसका लागि आयो भनेर मानिसहरू उत्सुकतापूर्वक प्रतीक्षा गर्थे। अहिले त्यो दृश्य विरलै देखिने गरेको उनले बताए । ‘हुलाकको महत्व बढाउन सेवाको विस्तार गर्नुपर्छ,’ उनी भन्छन्।

उनका अनुसार हुलाक कार्यालयले विदेशमा रहेका नेपालीलाई घरमा उत्पादित वस्तु पठाउने जस्ता कामको सुरुवात गरेको छ। तर यस्तो डेलिभरी सेवा चितवनमा समेत प्रभावकारी रूपमा विस्तार गर्न सके हुलाकको उपयोगिता बढाउन सकिने उनको धारणा छ।

सेवाको दायरा बढ्दै, कर्मचारीको समस्या उस्तै

हुलाक सेवाको महत्व घट्दै गएको चर्चा भइरहँदा त्यसमा कार्यरत कर्मचारीका समस्या पनि कम छैनन् । विशेषगरी अतिरिक्त हुलाक कर्मचारीले पाउने पारिश्रमिक र कामको प्रकृतिबीच ठूलो असमानता रहेको गुनासो गरेका छन् ।

विगत १२ वर्षदेखि जिल्ला हुलाक कार्यालय चितवनमा कार्यरत यशोदा आचार्य आफूहरूले राज्यबाटै उपेक्षा भोग्नुपरेको बताउँछिन् । उनका अनुसार अतिरिक्त हुलाक कर्मचारीलाई दैनिक दुई घण्टा काम गरेवापत मासिक ७ हजार रुपैयाँ दिने व्यवस्था भए पनि व्यवहारमा दिनभरि नै काममा खटिनुपर्ने अवस्था छ । घरघरमा पासवर्ड पुर्‍याउने लगायतका काममा समेत आफूहरूलाई परिचालन गर्ने गरिएको उनको भनाइ छ।

‘दिनभरि काम गर्नुपर्छ। घामपानी, चाडपर्व र व्यक्तिगत समस्या नभनी खटिनुपर्छ। तर मासिक ७ हजार रुपैयाँले घर खर्च चलाउन पनि पुग्दैन,’ आचार्य भन्छिन्, ‘यति रकमले कसरी परिवार पाल्ने ?’

समयअनुसार पारिश्रमिक बढाउन पटकपटक माग गरिए पनि सुनुवाइ नभएको उनको गुनासो छ। नयाँ सरकारले समेत आफूहरूको समस्यालाई सम्बोधन नगरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?