२४ असोज, काठमाडौं । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान संचालन गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने नगरपालिकाले जनाएको छ ।
चाडपर्वका समयमा बजार, सडक तथा सार्वजनिक स्थलमा मानिसको चहलपहल बढ्ने भएकाले सरसफाइको महत्त्व अझ बढ्ने गर्छ। यस्तो अवस्थामा नगरलाई सफा र व्यवस्थित राख्न सञ्चालन गरिएको अभियानले नागरिकमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।
अभियानमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै नगरप्रमुख साहले स्वच्छ, सभ्य र सुन्दर नगर निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको सन्देश दिएकी छन्।
यसैबीच, विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले असत्यमाथि सत्य र बुराइमाथि अच्छाइको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले सबैको मनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने कामना गरेकी छन्। समाजमा विद्यमान विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वच्छ, सभ्य र सुन्दर समाज निर्माण गर्न पर्वले प्रेरणा प्रदान गरोस् भन्ने उनको शुभेच्छा छ।
मौलापुरमा सुरु गरिएको सरसफाइ अभियानले चाडपर्वलाई सफा र व्यवस्थित वातावरणमा मनाउने सन्देश दिनुका साथै नगरको सौन्दर्य कायम राख्न सामूहिक जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4