News Summary
Generated by OK AI. Editorially reviewed.- चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६ गते बिहान ९:१५ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुने भएको छ।
- चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा नेपाल–चीन मामिला विज्ञ, सिनोलोजीका अध्येता र अर्थशास्त्री हुन्।
- अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञ हुन् भने बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा पूर्वप्रधानसेनापति हुन्।
२४ असोज, काठमाडौं । यही असोज २६ गते चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुने भएको छ ।
उनीहरूको संसदीय सुनुवाइ गर्ने गरी समय तय भएको हो । गणतन्त्र चीनका लागि राजदूत पदमा कल्याणराज शर्मा प्रस्तावित छन् । संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा चिरन जंग थापा र संयुक्त अधिराज्यका लागि राजदूत पदमा गौरव शमशेर जबरा प्रस्तावित छन् ।
२६ गते सुनुवाइ समितिको बैठक बिहान सवा ९ बजे राखिएको छ । बैठक सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ । चीनका लागि प्रस्तावित राजदूत शर्मा नेपाल–चीन मामिला विज्ञ, चिनियाँ विद्या (सिनोलोजी) का अध्येता र अर्थशास्त्री हुन् ।
उनीसँग प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले चीनको फुदान विश्वविद्यालयबाट ‘प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषण’ मा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनी फुदान विश्वविद्यालय पूर्वविद्यार्थी संघ नेपाल, नेपाल–चीन मैत्री मञ्च (सन् २०१३ देखि) र चिनियाँ विद्या अध्येता परिषद्–नेपालका अध्यक्ष हुन् ।
काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ म्यानेजमेन्ट’ मा आगन्तुक विद्वानका रूपमा कार्यरत शर्माले ‘चीनमा व्यापार’ पाठ्यक्रम तयार गरी अध्यापन गराएका छन् ।
एड्भेन्चर आउटडोर एक्सकर्सन प्रालिका प्रबन्ध निर्देशक भई हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा क्रियाशील उनी एपेक्स फन्ड्स लिमिटेड र विभिन्न जलविद्युत् तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा छन् ।
अमेरिकाका लागि प्रस्तावित राजदूत थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञ हुन् । उनीसँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ ।
थापाले कोलम्बिया विश्वविद्यालयको ‘अन्तर्राष्ट्रिय तथा सार्वजनिक मामिला स्कुल’ बाट पूर्ण प्राज्ञिक छात्रवृत्तिसहित अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर र अमेरिकाको जेनेसियो विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् । सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशमा जोखिम र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् ।
उनी हाभर्ड केनेडी स्कुलको ‘आन्तरिक सुरक्षा नेतृत्व’ कार्यक्रम पूरा गर्ने पहिलो गैरसैनिक नेपाली र दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गर्ने पहिलो व्यक्ति हुन् ।
संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत जबरा पूर्वप्रधानसेनापति हुन् । उनी एक विशिष्ट सैन्य नेता र रणनीतिकार मानिन्छन् ।
जबराले नेपाली सेनामा तीन वर्ष प्रधानसेनापतिका रूपमा नेतृत्व गरे । उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका उनले सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त–२०१३’ लागु गरेका थिए । प्रधानसेनापतिका रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेसन संकट मोचन’ को नेतृत्व गर्दै राहत कार्यमा १८ विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए ।
जबराले पाकिस्तानको कायदे–आजम विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका छन् । उनी बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट, अमेरिकाको आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज (फोर्ट लिभनवर्थ) र पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन् ।
प्रतिक्रिया 4