+

फिक्कलका दुवै टोली यू–१७ राष्ट्रिय रग्बीको सेमिफाइनलमा

२०८३ असोज  २५ गते २१:५७ २०८३ असोज २५ गते २१:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान रग्बीमा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।
  • पुरुषतर्फ गोलबजार नगरपालिका र बूढानीलकण्ठ नगरपालिका समूह विजेता बनेर सेमिफाइनल पुगेका छन् भने फिक्कल र कटारी खेल्नेछन् ।
  • महिलातर्फ बूढानीलकण्ठ नगरपालिका र कटारी नगरपालिका समूह विजेता बनेका छन् भने फिक्कल र टोखा उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।

२५ असोज, काठमाडौं । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आइतबार लिग चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

पुरुषतर्फ समूह ‘ए’ मा गोलबजार नगरपालिका समूह विजेता र फिक्कल गाउँपालिका उपविजेता बने । गोलबजारले टोखालाई १–० ले हराउँदा फिक्कलसँग १–१ को बराबरी खेलेको थियो। फिक्कलले टोखालाई २–१ ले पराजित गरेको थियो ।

पुरुषतर्फ पहिलो सेमिफाइनलमा गोलबजारले कटारी नगरपालिकासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बूढानीलकण्ठ नगरपालिका र फिक्कल गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा बूढानीलकण्ठले कटारीलाई ३–१ ले हराउँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

महिलातर्फ समूह ‘ए’ बाट बूढानीलकण्ठ नगरपालिका विजेता र टोखा नगरपालिका उपविजेता बने । बूढानीलकण्ठले एक जित र एक बराबरीको नतिजा निकाल्दा टोखाले दुवै खेल बराबरी खेलेको थियो ।

समूह ‘बी’ मा कटारी नगरपालिका विजेता र फिक्कल गाउँपालिका उपविजेता बने । दुवै टोलीले एक जित र एक बराबरी खेलेका थिए । कटारीले लुम्बिनी नगरपालिकालाई ६–० ले हराएको थियो भने फिक्कलसँग बराबरी खेलेको थियो। फिक्कलले लुम्बिनीलाई २–० ले पराजित गरेको थियो ।

महिलातर्फ पहिलो सेमिफाइनलमा बूढानीलकण्ठ र फिक्कल तथा दोस्रो सेमिफाइनलमा कटारी र टोखाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल, तेस्रो स्थानका लागि हुने खेल र फाइनल सोमबार सञ्चालन हुनेछन् ।

फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । प्रतियोगिता महिला र पुरुष दुवैतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुवै विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा र फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले रेफ्रीलाई बल हस्तान्तरण गरेर संयुक्त रूपमा गरेका थिए ।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष राजु बरालले स्थानीय तहमा रग्बीलगायत खेलकुद गतिविधिको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भौगोलिक तथा विकासका दृष्टिले गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’का रूपमा हेरिए पनि खेलकुद विकासमा सहयोग जारी रहने बताए ।

नेपाल रग्बी संघका अध्यक्ष देवकोटाले प्रतियोगिता आयोजना गरेकोमा फिक्कल गाउँपालिकालाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ छ टोली सहभागी छन् ।

यू–१७ राष्ट्रिय रग्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय