News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलो एनपीएल २०२४ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो।
- दोस्रो एनपीएल २०२५ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो।
- पहिलो संस्करणमा जनकपुरका लाहिरु मिलान्था र दोस्रोमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन सर्वाधिक रन बनाउने खेलाडी बने।
२६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले उपाधि जितेका छन् ।
सन् २०२४ मा भएको पहिलो संस्करणको उपाधि जनकपुरले जितेको थियो भने सन् २०२५ को दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेको थियो ।
दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।
पहिलो संस्करणमा च्याम्पियन टोली जनकपुर बोल्ट्सका लाहिरु मिलान्था सर्वाधिक रन बनाउने खेलाडी थिए भने दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन सर्वाधिक रन बनाउने खेलाडी बने ।
बलिङतर्फ पहिलो र दोस्रो दुवै संस्करणमा खेलाडीहरू संयुक्त रूपमा शीर्षस्थानमा रहेका थिए ।
पहिलो संस्करणमा जनकपुर च्याम्पियन
सन् २०२४ नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन भएको पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो।
१८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । जनकपुरका लाहिरु मिलान्थाले ४९ बलमा ८७ रन बनाएका थिए। उनी फाइनलका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
पहिलो संस्करणमा जनकपुरका लाहिरु मिलान्था सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए । उनले १० खेलमा २९३ रन बनाएका थिए । चितवन राइनोजका रवि बोपारा २८६ रनसहित दोस्रो र लुम्बिनी लायन्सका रोहितकुमार पौडेल २७९ रनसहित तेस्रो स्थानमा थिए ।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र सुदूरपश्चिमका स्कट कुगेलेइनले समान १७ विकेट लिएका थिए । दुवै पहिलो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।
दोस्रो संस्करणमा लुम्बिनीको उपाधि
सन् २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म भएको दोस्रो संस्करणको एनपीएल फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा समेटिएको थियो । लुम्बिनीले ८६ रनको लक्ष्य ९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
फाइनलमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले तीन विकेट लिएका थिए । कप्तान रोहितकुमार पौडेलले पनि ह्याट्रिकसहित तीन विकेट लिएपछि सुदूरपश्चिम ठूलो स्कोर बनाउन असफल भएको थियो ।
ब्याटिङमा लुम्बिनीका दिनेश अधिकारीले १३ बलमा ४२ रन बनाएका थिए ।
दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए । उनले ३२३ रन बनाएका थिए । रोहितकुमार पौडेल २७६ रनसहित दोस्रो र सुदूरपश्चिमका विनोद भण्डारी २६४ रनसहित तेस्रो स्थानमा थिए ।
बलिङमा विराटनगर किङ्सका सन्दीप लामिछाने, लुम्बिनीका शेर मल्ल र सुदूरपश्चिमका अविनाश बोहराले समान १७ विकेट लिएका थिए । उनीहरू दोस्रो संस्करणमा संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।
प्रतिक्रिया 4