+
+
Shares

सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?

बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै उच्च हो ।

कमल नेपाल कमल नेपाल
२०८३ असोज २६ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ समूह ६ महिनाकै उच्च १५३२ अंकमा पुगेको छ, जबकि नेप्से चैत १२ यता १२ प्रतिशत घटेर २५९५ अंकमा छ।
  • सूचीकृत ९ वाणिज्य बैंकले यस वर्ष लाभांश घोषणा गरेका छन्, तर ४ बैंक लाभांश दिन सक्ने अवस्थामा छैनन्।
  • निष्क्रिय कर्जा नबढ्ने अपेक्षा, लाभांशको संकेत र लचिलो लगानी नीतिले बैंकिङ सेयरप्रति आकर्षण बढेको लगानीकर्ताले बताएका छन्।

२६ असोज, काठमाडौं । सेयर बजारमा सबैभन्दा शक्तिशाली समूह हो– बैंकिङ । कुल बजार पूँजीकरणमा बैंकिङको हिस्सा २५.४४ प्रतिशत रहेको छ । तसर्थ अरुभन्दा यो समूहको सूचकले बजारलाई ठूलो प्रभाव पार्दछ । सामान्यतः बैंकिङको गति जस्तो रहन्छ, नेप्सेको गति त्यस्तै रहने मान्यता छ ।

तर यतिबेला नेप्से र बैंकिङको गति भने एकअर्कासँग ध्रुवीकरण भएका छन् । बजारमा बैंकिङ समूहले राम्रो प्रदर्शन गरिरहेको छ, तर नेप्सेको प्रदर्शन कमजोर देखिएको छ।

शुक्रबार बैंकिङ समूह सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्दा समग्र बजारको परिसूचक नेप्से ०.६६ प्रतिशत मात्रै बढ्यो । सोमबार बैंकिङ १.०१ प्रतिशत बढ्दा नेप्से ०.१५ प्रतिशत मात्रै बढ्यो ।

बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै उच्च हो । अर्कोतर्फ समग्र बजारको परिसूचक नेप्से भने चैत १२ यता १२ प्रतिशतले घटेको छ । चैत १२ गते २९५० अंकमा रहेको नेप्से हाल २५९५ अंकमा छ ।

नेप्से ओरालो झरिरहँदा पनि बैंकिङ समूह उकालो लागिरहेको छ । बैंकिङ समूहको उत्कृष्ट प्रदर्शनकै कारण नेप्सेको ओरालो गति सम्हालिएको लगानीकर्ता बताउँछन् ।

बजारमा बैंकिङको प्रदर्शन कसरी सुधारियो ?

बैंकहरूको वित्तीय विवरणमा त्यति धेरै प्रगति देखिएको छैन । खासगरी नउठेको साँवा, ब्याज उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढेको छ। जसले वितरणयोग्य नाफामा केही वर्षदेखि नै असर देखिँदै आएको छ । कतिपय बैंकले केही वर्षदेखि नै लाभांश दिन सकिरहेका छैनन् ।

तर विगतमा नउठेको साँवा, ब्याज अशुली बढ्ने अनुमान बैंकहरूको छ । यसरी अशुली हुने रकम सिधै नाफामा देखिने मात्रै होइन, लगानीकर्तालाई लाभांश वितरण योग्य हुन्छ ।

‘अहिलेको निष्क्रिय कर्जा अब योभन्दा धेरै बढ्दैन भन्ने अनुमान धेरैको छ, अब बरु साँवा, ब्याज अशुल हुँदै जाला र त्यसको सिधा लाभ सेयरधनीलाई हुन्छ भन्ने आश लगानीकर्तामा बढेको छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

यो पटककै लाभांशमा पनि केही नयाँ संकेत देखिएको छ । विगतमा लाभांश कत्ति पनि नदिएका बैंकले यस पटक लाभांश घोषणा गरिसकेका छन्, अर्को वर्ष धेरैको लाभांश दर बढ्न सक्ने लगानीकर्ताको अनुमान छ ।

यो वर्ष दशैंअघि नै सेयरधनीलाई केही बैंकले लाभांश प्रदान गरिसकेका छन् । हालसम्म सूचीकृत ९ वाणिज्य बैंकले सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।

तीमध्ये केहीले साधारणसभा सम्पन्न गरी नगद लाभांश सेयरधनीको बैंक खातामा प्रदान गरिसकेका छन् । ६ बैंक (प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल, लक्ष्मी सनराइज, नेपाल एसबीआई)ले लाभांश घोषणा गर्न बाँकी छ ।

यो वर्ष ४ बैंक (एनआईसी एसिया, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु) लाभांश दिन सक्ने अवस्थामा छैनन् । पोहोर ६ बैंक (एनआईसी एसिया, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, कुमारी, नेपाल)ले लाभांश दिएका थिएनन् ।

कुन बैंकले कति दिए लाभांश ?

बैंक नगद बोनस सेयर कुल लाभांश
सिद्धार्थ १० १० २०
नबिल १०.८ ५ १५.८०
एभरेस्ट १० ५ १५
ग्लोबल आईएमई ६ ४ १०
सानिमा १० १०
एनएमबी ७ ७.०
माछापुच्छ्रे ३ ३ ६.०
सिटिजन्स ०.२ ३.८ ४.०
कुमारी २.१० २.१०

त्यस्तै बैंकहरूका लागि लगानीका अन्य माध्यममा लचिलो नीति अपनाइनुले पनि यो क्षेत्रका लागि अनुकूल बनेको ढुंगानाले बताए । हालै वाणिज्य बैंकहरुले सेयर तथा डिबेन्चरमा गरेको लगानी ४५ दिनको होल्डिङ अवधिपछि नै बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि ६ महिनाको व्यवस्था तोकिएको थियो ।

अर्कोतर्फ बजारमा बैंकिङ र हाइड्रोपावर समूहलाई तुलना गर्ने गरिन्छ । ‘जलविद्युत् समूह सुस्ताउँदा बैंकिङ अगाडि बढ्ने र बैंकिङ सुस्ताउँदा जलविद्युत् अघि बढ्ने गरेको पाइन्छ,’ ढुंगानाले भने ‘यो पटक बैंकिङले राम्रो प्रदर्शन गरेको छ ।’

रसुवा बाढीपछि केही जलविद्युत् आयोजनामा ठूलो नोक्सानी पुग्यो, त्यसपछि अन्य जलविद्युत् कम्पनीका लगानीकर्ता समेत यो क्षेत्रको लगानीप्रति उत्साहित हुन सकेनन् । ‘जलविद्युत् क्षेत्रतिर जाने लगानी पनि बैंकिङतिरै मोडियो, जसले गर्दा अरु समूहभन्दा बैंकिङले राम्रो प्रदर्शन गरेको देखिन्छ’ ढुंगानाले भने ।

बैंकको सेयर तुलनात्मक रुपमा सस्तो रहेकाले पनि यसप्रति आकर्षण बढेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘लगानीका लागि हेरिने एउटा प्रमुख सूचक मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो, जुन वाणिज्य बैंकहरूको सबैभन्दा कम छ, यसले गर्दा बैंकको सेयर लगानीका लागि अझै उपयुक्त देखिएको छ’ उनले भने ।

एक कित्ता सेयरले गर्ने आम्दानी र त्यसको बजार मूल्यलाई पीई रेसियोले जनाउँछ । सामान्य भाषामा कुनै कम्पनीको पीई रेसियो १० हुनु भनेको वार्षिक १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १० रुपैयाँ तिर्नु जनाउँछ । पीई रेसियो जति न्यून, लगानीका लागि त्यति उपयुक्त मानिन्छ ।

यतिबेला ब्याजदर अति न्यून बिन्दुमा झरेकाले पनि ब्याजदरभन्दा केही बैंकको लाभांश राम्रो रहेको उनले बताए । अझै पनि ३ बैंक (प्रभु, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा)को सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । बर्सेनि लाभांश दिइरहेका बैंकको सेयर मूल्य साढे २ सय हाराहारीमा पाइन्छ ।

‘साढे २ सयदेखि ३ सय रुपैयाँसम्म राम्रा बैंक, जसले बर्सेनि लाभांश दिइरहेका छन्, तिनको सेयर पाइन्छ, तसर्थ यस्तो बेला मूल्य नबढे पनि लाभांशबाट लाभ मिल्ने भएकाले बैंकहरु रोजाइमा परेका छन्’ उनले भने । त्यस्तै संस्थागत लगानीकर्ता पनि वाणिज्य बैंकका सेयरमै आकर्षित हुने गरेको उनले बताए । ‘लाभांश दिने, स्थिर कम्पनी संस्थाका रोजाइमा पर्छन्, त्यसका लागि वाणिज्य बैंक उपयुक्त छन्’ उनले भने ।

बैंकहरूले बचतमा दिने ब्याजदर हाल साढे २ देखि ३ प्रतिशतको बीचमा छ, तसर्थ साढे २ सय रुपैयाँको सेयर मूल्य भएको बैंकले १० प्रतिशत लाभांश दिएका छन् ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?