+
+
Shares

चाडपर्वमा सुरक्षाकर्मीको कर्तव्य र नागरिकको दायित्व

मुलुकमा देखा परेको एकपछि अर्को विपत्तिले समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कार्यमा सुरक्षा चुनौती थपिएको छ ।

दिनेशराज मैनाली दिनेशराज मैनाली
२०८३ असोज २७ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा र गोरखामा बाढीले जनधनको क्षति पुर्‍याएपछि समाजमा शान्तिसुरक्षा कायम गर्न सुरक्षा चुनौती बढेको छ ।
  • दशैँ नजिकिएसँगै वर्षाका कारण राजमार्ग हिलो र पहिरोले अवरुद्ध हुँदा मौसम विज्ञान विभागले हिले दशैँ हुन सक्ने चेतावनी दिएको छ ।
  • लेखले यात्रामा मापसे, मापसे, अनलाइन ठगी, सामाजिक सञ्जालमा सावधानी र घरको सुरक्षा उपाय अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले अकल्पनीय जनधनको क्षति पुर्‍यायो । त्यसको पीडा मत्थर हुन नपाउँदै गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा उस्तै प्रकारको बाढी आई केही जनसहित धनकोसमेत क्षति भयो ।

मुलुकमा देखा परेको एकपछि अर्को विपत्तिले समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कार्यमा सुरक्षा चुनौती थपिएको छ ।

गत वर्ष २३ र २४ मा भएको आन्दोलनमा सुरक्षाकर्मीहरूको हतियार लुटपाट, कारागारबाट भागेका आपराधिक व्यक्तिहरूबाट समाजलाई अशान्त राख्न र ठूलो क्षति पुर्‍याउन सक्नेतर्फ हरपल सचेत रहनु सभ्य नागरिकको कर्तव्य हो ।

आफू, आफन्त, समाज र मुलुकको दैनिक शान्तिसुरक्षामा नागरिकको तर्फबाट सम्पादन गरिनुपर्ने दायित्व समेतलाई मध्यनजर गर्दै यो आलेख तयार पारिएको छ ।

नेपालीको महान चाड बडादशैँ घरआँगनमा आइसकेको छ । हिजो नवरात्रिको पहिलो दिनलाई स्वागत गरी घरघर, कार्यालय तथा हनुमानढोकास्थित जमराघरमा घटस्थापना गरी जमरा राख्ने कार्य सम्पन्न भइसकेको छ ।

हालको विषम परिस्थितिमा पनि चाडपर्व मनाउन नागरिकहरू हतारमा रहेको देखिन्छ । विदेशमा रहेकाहरू नेपाल फर्कने, आवश्यकताअनुसार किनमेलमा सरिक हुने, घर जाने र खुसी साटासाट गर्ने लगायतका कार्य सुरु भइसकेको छ भने शुभ दीपावली, छठ पर्व र नयाँ नेपाल सम्वतसम्म निरन्तर रहिनै रहने छ ।

विभिन्न राजमार्गहरू वर्षाको कारण हिलो, ढुङ्गा सहितको लेदो वा सुख्खा पहिरो खस्न गई आंशिक तथा पूर्णतया अवरुद्ध रहेका छन् भने सरकारी संयन्त्रहरू आ-आफ्ना तर्फबाट सडक खुलाउन यथासम्भव प्रयास गरिरहेका छन् ।

मौसम विज्ञान विभागले यसपालिको दशैँ हिले दशैँ हुन सक्नेतर्फ सचेत गराएको छ । अत: आफूले यात्रा गर्नुपूर्व प्रहरी कन्ट्रोल कक्षको १००, ट्राफिक प्रहरी कन्ट्रोल कक्षको १०३ तथा नेपाल प्रहरीको फेसबुक पेज र वेबसाइट www.nepalpolice.gov.np का साथै स्थानीय प्रशासन कार्यालयहरूका वेबसाइटबाट समेत जानकारी लिएर मात्र यात्रा गर्न सचेत हुनुपर्ने देखिन्छ ।

मानिसहरूको आवागमन असाध्यै बढी हुने यस अवसरमा सरकारी निकायहरू जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, सडक विभाग, ट्राफिक प्रहरी र जनपथ प्रहरी तथा सवारी धनी, सवारी चालक, सहचालक लगायतबाट समूहगत सचेतनामूलक कार्यक्रम गरी सोहीबमोजिम कार्यान्वयन गरिनुपर्ने आवश्यकता टड्कारो रहेको छ ।

लामो यात्रामा सवारी चलाउनका लागि दुई जना सवारी चालक राख्नुपर्ने नियमलाई अति कडाइका साथ कार्यान्वयन गरी सवारी धनीहरूले आफूलाई प्राप्त जिम्मेवारी पूर्णतया पालन गरी समाजलाई गुन लगाउनुपर्ने त छँदैछ, दुर्घटना न्यूनीकरणमा समेत अहं भूमिका खेल्नु पर्नेछ ।

साथै, चालक (सवारी चालक वा पाइलट) नै बोल्ने भगवान हुन् भन्ने तथ्य भए तापनि केही दिनअघि फ्लाई दुबईको जहाजलाई क्र्यास ल्यान्ड गराउन खोज्ने को-पाइलट र जोगाउन खोज्ने पाइलटबीचको ककपिटमा भएको द्वन्द र यात्रुहरूसहित मिलेर जहाजलाई सुरक्षित अवतरण गराएको घटनाबाट पाठ सिक्नु जरुरी हुन आउँछ ।

सँगसँगै, सुरक्षाकर्मीहरूबाट बढीभन्दा बढी सुरक्षा चेक पोइन्टहरू खडा गरी मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाएको पाइएमा हदैसम्मको कारबाही गर्ने, समयमै यान्त्रिक चेकजाँचको व्यवस्था मिलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्न निषेध गर्ने, छतमा यात्रु राख्न नदिने, अनधिकृत पार्किङलाई नियन्त्रण गर्ने र ट्राफिक नियमको सधैं पालना गर्न/गराउन सके र सम्बन्धित सम्पूर्ण निकायले समेत यथासम्भव सहकार्य गरे मात्र सवारी साधनसहित यात्रुहरूलाई निर्धारित गन्तव्यमा सुरक्षित तथा सुविधापूर्वक पुर्‍याउन मद्दत गर्छ ।

यात्रुहरू सवारी साधनमा यात्रा गर्ने अवधिभर असाध्यै चनाखो रहनुपर्ने हुन्छ । नगद, बहुमूल्य गर-गहनाको प्रयोगले यात्रा अवधिभर सुरक्षा खतरा बढाउँछ ।

यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको सामान्य चकलेट, चिया, बिस्कुट खाएर लुटिएको घटना त वर्णन गरिसाध्य नै छैन । लुटिनुभन्दा अगावै चनाखो हुन सके राम्रो । पछि पछुताएर गर्न सकिने सम्भावना धेरै कम भइसकेको हुन्छ ।

साथै, दैनिक रूपमा काठमान्डौंका विभिन्न नाकाबाट बाहिरिने व्यक्तिहरूले आ-आफ्नो घर-डेरा छाड्ने क्रममा सुरक्षाका उपायहरूसमेत अवलम्बन गरी आफू, आफन्तजन, स्व:जन लगायतलाई सुरक्षित बनाउनु अपरिहार्य छ ।

अन्यथा, आपराधिक कार्यमा संलग्न पटके अपराधीहरू (नोटोरियस क्रिमिनल) बाट लुटिइसकेपछि लगनपछिको पोते जस्तो पछुताउनु बाहेक केही बाँकी रहँदैन ।

अत: सम्पूर्ण घरधनीहरूले घरमा राखेका कामदार, डेरामा बस्ने व्यक्तिहरूको नाम, थर, स्थायी ठेगाना, मोबाइल नम्बर र फोटोसहितको विवरण राखेको खण्डमा आवश्यक परेको अवस्थामा अनुसन्धान कार्यमा सहजता आउने छ ।

घरमा सीसीटीभी क्यामेरा जडान गर्ने, घरबाट बाहिर जाने क्रममा सके सुरक्षा गार्डको व्यवस्था गर्ने, नसके टोल-छिमेकका विश्‍वासिलो व्यक्तिलाई जानकारी गराउने र नजिकको प्रहरी इकाइलाई जानकारी गराई समय-समयमा गस्ती तथा निगरानी गर्नको लागि अनुरोध गर्ने कार्य गरेमा सम्भावित चोरीबाट बच्न सकिन्छ ।

सकेसम्म नगद र बहुमूल्य गर-गहना बैंकमा राख्न सके र नगद ट्रान्सफरका लागि अनलाइन कारोबार गर्ने गरेको खण्डमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।

त्यस्तै, प्रकारान्तरले आधुनिक युगमा अपराधीहरूले विविध विधि र प्रविधिहरूको व्यापक दुरुपयोग गरी आपराधिक घटना घटाउने भएकाले आफू सजग रही अरूलाई सजग गराउन तथा सामाजिक सञ्‍जालको सदुपयोग मात्रै गर्न सके पनि अनलाइन ठगी, हनी ट्र्याप, आपराधिक विश्‍वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरबाट जोगिन सकिन्छ ।

जुवा, तास, मापसे, लापसे लगायतबाट जोगाएको रकममध्ये केही रकम समाजको हितमा लगाई आ-आफ्नो टोल छिमेकमा सीसीटीभी क्यामेरा र साइरन जडान गर्न सके आपत परेको समयमा आफू जोगिन र छरछिमेक, समुदायलाई जोगाउन सकिनेतर्फ पनि सबैको ध्यान पुग्नुपर्ने देखिन्छ ।

फेसबुकमा नचिनेको व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आएमा, तपाइँलाई चिठ्ठा पर्‍यो भन्ने जस्ता सूचना ह्वाट्स एप्समा आएमा नखोली डिलेट गर्ने गर्दा पीडित हुने सम्भावना कम हुन्छ ।

सामाजिक सञ्जालको पासवर्ड कसैसँग पनि सेयर गर्नु हुँदैन । कुनै मित्रसँग अनलाइन भिडियो कल गर्ने क्रममा वास्तविक जीवनमा आफूले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने तथ्यलाई हृदयंगम गर्न र पालना गर्न सके पनि आफू जोगिन सकिने हुन्छ ।

म्याजिक स्वाप पजल वा अन्य यस्तै एप्सहरूमा क्लिक गर्दा आफ्नो डाटा ह्याकरको हातमा पुग्न गई अकाउन्ट ह्याक भएपछि झल्यास्स हुने बाहेक केही गर्न सकिँदैन । भाइरल हुने लोभले कन्टेन्ट बनाउने क्रममा २०७८ सालमा एक जना महिला तनहुँस्थित सेती नदीको किनारमा अवस्थित ढुङ्गाबाट नदीमा खस्न गई दु:खद निधन भएको जस्ता घटना त कति छन् कति । तर जोगिनका लागि भने व्यक्ति स्वयं नै सचेत हुनुपर्छ ।

सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा लाइभ अपडेट गर्ने बानीले पनि कतै न कतै समस्यामा पार्न सक्छ । आज त दशैँमा सपरिवार गाउँ जान लागेको, अहिले नागढुङ्गामा पुगियो, केही समयपछि मुग्लिनमा खाना खाँदै र दिउँसोको समयमा चितवनमा जङ्गल सफारी छ जस्ता कुरा छिनछिनमा अपडेट गर्ने बानीले चोरले घरमा सफाचट पारिसकेको पत्तै हुँदैन ।

तसर्थ, यात्रा समाप्‍त गरी फर्केर लेट पोस्ट राख्दा पनि बिग्रने त केही होइन । यसमा सजगता अपनाउनु जरुरी छ ।

आफूले कहिल्यै पनि नकाटेको चिठ्ठा पर्‍यो भनी कोही कसैले सूचना पठाउँदैमा त्यसैलाई पत्याएर पछि लाग्नु किमार्थ बुद्दिमानी हुँदैन । त्यस्ता प्रकारका चिठ्ठाका पछि लाग्दा धेरै जनाले अनाहकमा धन गुमाएका, परिवारमा बिखण्डन आएका र अन्त्यमा ज्यानैसम्म गुमाएका घटनासमेत बढिरहेको पाइन्छ ।

जसरी पौडन नजानेको एउटा व्यक्तिले सिकेर मात्र गहिरो स्थानमा पौडनु उचित हुन्छ, त्यसरी नै अति उच्च सावधानी अपनाएर मात्र सामाजिक सञ्जालको प्रयोग गर्न सकेको खण्डमा धन, सामाजिक प्रतिष्ठा र जनको समेत क्षति हुनबाट जोगिन सकिन्छ ।

सित्तैमा पाइने वाइफाइमा लगइन गरी घण्टौंसम्म ह्याङआउट भइरहने बानीबाट पनि फिसिङमा पर्ने सम्भावना हुन्छ । जसरी मछुवारेले गड्यौलाको चारो हाली पानीमा बल्छी फाल्दा माछाले मुख खोलेन भने बल्छीमा पर्ने सम्भावना हुँदैन त्यसरी नै हामीले पनि सित्तैमा उपलब्ध हुने वाइफाइमा लगइन नगरेमा फिसिङमा पर्नबाट बच्न सकिन्छ ।

मापसेका कारण लगभग ७७ प्रतिशत अपराध भएको पाइन्छ । तसर्थ, सके त मापसे गर्दै नगरौं । गर्नै परे पनि एउटा हदसम्म मात्रै गरौं । तर मादक पदार्थले आफूलाई कहिल्यै पनि सेवन नगरोस् भन्नेतर्फ सचेत रहन सके जीवन, धन र अपराधकर्मबाट जोगिन, जोगाउन सकिन्छ ।

मापसे गरी बाबुको हत्या गरेको एउटा सन्दर्भ यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । यो पङ्तिकार २०७६ सालमा जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहेको समयमा बिहान एक जना जेष्ठ नागरिकको हत्या भएको भनी मातहत कार्यालयबाट प्रतिवेदन भयो । इलाका नाकाबन्दी गरी अनुसन्धान गर्ने क्रममा अघिल्लो दिन बाबुले वृद्ध भत्ता बुझेका रहेछन् ।

साँझ बाबुछोरा सँगै बसेर मापसे गरेछन् । बाबुले छोरालाई अब पिउने कार्य बन्द गरौं भन्दा छोराले मानेन छन् । छोराले अझै पिउन कर गरेछन् । तर बाबुले नमानेपछि त छोराले छेउमै रहेको दाउराको चिर्पटले हिर्काउँदा बाबुको तत्कालै ज्यान गएको रहेछ । बाबुको दु:खद निधन र छोराको कारागारको बास मापसेले नै गराएकोले यसलाई आफूले प्रयोग गर्ने बानीमा पनि आमूल सुधार गरिनु जरुरी देखिन्छ ।

नेपाल प्रहरी ऐन, २०१२ ले प्रहरीको गठन गरी जन र धनको सुरक्षा गर्ने जिम्मेवारी प्रदान गरेको परिप्रेक्षमा उक्त कार्यका लागि २४सै घण्टा प्रहरी परिचालित रहेको छ ।

तर, के अहिलेको अवस्थामा प्रहरीको मनोबल उच्च रहेको छ त ? भन्नेतर्फ हामी नागरिकले मनन गरी तोडफोड तथा आगजनी गरिएका प्रहरी कार्यालयहरू स्वत:स्फुर्त तवरले पुन:निर्माण गरिनु र प्रहरीलाई समाजमा पुनर्स्थापित गराएको कार्यले नै प्रमाणित गरिसकेको छ । अत: प्रहरीको भर नागरिकलाई र नागरिकको भर प्रहरीलाई भन्ने उक्तिलाई सार्थक बनाउन समाजबाट गरिएको हर प्रयास स्तुत्य रहेको छ ।

सभ्य नागरिकबाट अपराध नियन्त्रण र अनुसन्धानमा हरसम्भव सहयोग गरिने भएकाले सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी मानेर बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको पाइन्छ ।

हालैको विषम अवस्थामा प्रहरीका लुटिएका हतियारहरू फिर्ता ल्याउन, कारागारबाट भागेका पटके अपराधिहरूलाई कानुनको दायरामा ल्याउन, क्षति भएका कार्यालयहरू पुन:निर्माण गर्न र समाजमा शान्ति, सुरक्षा कायम गरिराख्न पनि नागरिकको अहं भूमिका रहन्छ ।

त्यसैले, ‘सेवा हि परमो धर्म’ को मूलमन्त्रलाई आत्मसात गरी सुरक्षाकर्मी र नागरिक (अपराधी बाहेक) एकाकार हुन सकेको खण्डमा सुरक्षा र प्रशासन सुदृढ हुन गई सुरक्षित तवरले चाडपर्व मनाउनका साथै विपदको त्रासदी (ट्रमा) बाट जनतालाई बाहिर निस्कन र क्षतिग्रस्त संरचनाहरू पुन:निर्माण गर्ने पुनित कार्य सफल हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।

(अपराधशास्त्रमा स्नातकोत्तर मैनाली पूर्वप्रहरी वरिष्ठ उपरीक्षक हुन् ।)

लेखक
दिनेशराज मैनाली

(अपराधशास्त्रमा स्नातकोत्तर गरेका मैनाली पूर्वप्रहरी वरिष्ठ उपरीक्षक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?