+
+
Shares

दसैंमा महँगीको ‘डबल डोज’

बजारमा बिस्तारै आपूर्ति बढ्दै गएको सरकारी दाबी विपरीत अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मनपरी भाउ असुल्दा उपभोक्ताको ढाड सेकिएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असोज २६ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपहिरो र सडक अवरुद्धतापछि काठमाडौं उपत्यकामा तरकारीको आपूर्ति अझै पूर्ववत् हुन नसक्दा खुद्रा बजारमा मूल्यवृद्धि कायम छ ।
  • कालीमाटीको तथ्यांकअनुसार हरियो प्याज २६६.६७ प्रतिशत, कुरिलो ६६.६७ प्रतिशत र डल्ले च्याउ ६१.०४ प्रतिशतसम्म महँगिएका छन् ।
  • नेपाल खुद्रा व्यापार संघका अनुसार खानेतेल, मसला, चामल, दाल र चिउरालगायत दैनिक उपभोग्य खाद्यान्नको मूल्य पनि एक वर्षमा उल्लेख्य रूपमा बढेको छ ।

२६ असोज, काठमाडौं । दैनिक उपभोग्य वस्तु, विशेषगरी हरियो तरकारी, फलफूल, माछामासु र किराना खाद्यान्न मूल्यले आकाश छुँदा सर्वसाधारणलाई महँगीले पिरोल्न छाडेको छैन ।

१० भदौमा रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसपछिको देशव्यापी अविरल वर्षाले अवरुद्ध आपूर्ति व्यवस्था अझै पूर्ववत् अवस्थामा फर्किन सकेको छैन ।

बजारमा बिस्तारै आपूर्ति बढ्दै गएको सरकारी दाबी भए पनि खुद्रा बजारमा तरकारी र खाद्यान्न खरिद गर्दा उपभोक्ताले कुनै राहत महसुस गर्न पाएका छैनन् ।

उल्टै, अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मनपरी भाउ असुल्दा उपभोक्ताको ढाड सेकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र नेपाल खुद्रा व्यापार संघको पछिल्लो तथ्यांक विश्लेषण गर्ने हो भने यो वर्षको दसैं आमनेपालीका लागि आर्थिक रूपमा कष्टकर बनेको छ ।

तरकारीको मूल्य २ सय ६६ प्रतिशतसम्म र खानेतेलदेखि मसलाजन्य वस्तुको मूल्यमा भएको भारी वृद्धिले निम्न तथा मध्यम वर्गीय परिवारको क्रयशक्ति पूर्णरूपमा कमजोर बनाएको छ ।

उत्पादन र वितरण प्रणालीमै गम्भीर धक्का

काठमाडौं उपत्यकालाई तरकारी खुवाउने मुख्य पकेट क्षेत्र मानिने धादिङ, नुवाकोट, काभ्रे, चितवन लगायत जिल्लामा लगातार वर्षाले खेतमै तरकारी कुहिएको किसानले गुनासो गरेका छन् । नदी र खोला किनारका खेतमा लगाइएका काँक्रो, सागपात, काउली, बन्दा, गोलभेँडा लगायत पनि क्षति पुगेको उनीहरूको भनाइ छ ।

यसका साथै सडक अवरुद्ध हुँदा किसानको बारीमा बचेको तरकारी पनि समयमै बजारसम्म आइपुग्न पाएन । जति तरकारी बजार आइपुगे त्यसको पनि उचित मूल्य नपाएको किसानको गुनासो यथावत नै छ ।

तरकारी भनेको चाँडै बिग्रिने वस्तु भएकाले बाटोमै रोकिँदा कुहिने डरले ढुवानीकर्ताले लामो समयसम्म जोखिम उठाउन चाहेनन् । जसले गर्दा बजारमा माग उच्च र आपूर्ति न्यून हुँदा बिचौलिया र व्यापारीलाई मूल्य बढाउने गतिलो बहाना मिल्यो ।

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा भारतबाट ल्याउनुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर सडकको दुरवस्थाले आयातित तरकारीको ढुवानी झनै सकसपूर्ण बनेको छ ।

अहिले बाढीपहिरोले बिग्रिएका सडक क्रमिक रूपमा सञ्चालनमा आइरहेका छन् । उपत्यकामा भित्रिने तरकारीको मात्रा पनि बिस्तारै बढ्दो क्रममा छ, तर खुद्रा बजारमा यसको कुनै सकारात्मक प्रभाव परेको छैन ।

अचाक्ली महँगियो तरकारी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकोे एक वर्षको तथ्यांक केलाउँदा दैनिक भान्सामा प्रयोग हुने अधिकांश वस्तुको मूल्य दोब्बरभन्दा बढीले आकासिएको छ । अझै पनि टोलटोलका खुद्रा पसलमा हरियो तरकारी प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी मूल्यमा किनबेच भइरहेको छ ।

तथ्यांक अनुसार एक वर्ष अवधिमा सबैभन्दा धेरै हरियो प्याजको मूल्य बढेको छ । गत वर्ष २६ असोजमा प्रतिकिलो ७५ रुपैयाँमा पाइने हरियो प्याज यस वर्ष २६ असोजमै आइपुग्दा २६६.६७ प्रतिशत बढेर २ सय ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै हरियो डल्लो फर्सी गत वर्ष २७ रुपैयाँ प्रतिकिलो रहेकोमा अहिले १७७.७८ प्रतिशत बढेर ७५ रुपैयाँ पुगेको छ ।

भन्टाको मूल्य पनि उस्तै गरी आकासिएको छ । गत वर्ष किलोको ३६.२५ रुपैयाँ पर्ने लामो भन्टा १०६.९० प्रतिशत बढेर ७५ रुपैयाँ पुगेको छ भने ४५ पर्ने डल्लो भन्टा ८८.८९ प्रतिशतले बढेर ८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी भान्सामा पाक्ने सस्तो तरकारी मानिने स्कुस समेत यसपालि अछुतो छैन । १२.५० रुपैयाँ प्रतिकिलो पर्ने स्कुस शतप्रतिशत बढेर २५ रुपैयाँ पुगेको छ । भान्सामा नभई नहुने गोलभेँडा सानो (टनेल) ५६.४० बाट ३७ प्रतिशत बढेर ७७.२७ र स्थानीय काउली ८७ बाट बढेर १ सय रुपैयाँ कायम भएको छ ।

च्याउ र कुरिलो जस्ता केही महँगा तरकारीको भाउले त रेकर्ड नै तोडेको छ । डल्ले च्याउ ३ सय २६ रुपैयाँबाट ६१.०४ प्रतिशत बढेर ५ सय २५ पुगेको छ भने कुरिलो ४ सय ५० बाट ६६.६७ प्रतिशत महँगिएर ७ सय ५० रुपैयाँ पुगेको छ ।

टाटे सिमी र तितेकरेला दुवैको मूल्यमा करिब ६९ प्रतिशत वृद्धि भई क्रमश: १ यस १० र १ सय १३.३३ रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।

समग्रमा हेर्दा बजारमा कुनै पनि तरकारी यस्तो छैन जसले उपभोक्तालाई सस्तोमा भान्सा चलाउन मद्दत गरोस् ।

फलफूल, मसला र माछाको मूल्यले पनि ढाड सेक्दै

तरकारी मात्र होइन, फलफूल बजार पनि आम मानिसको पहुँचभन्दा टाढा हुँदै गएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अम्बाको मूल्य १०४.५५ प्रतिशत बढेको छ । गत वर्ष १ सय १० रुपैयाँ रहेको अम्बा अहिले २२५ पुगेको छ ।

कागती १ यस ३० बाट ९२.३१ प्रतिशत बढेर २ सय ५०, शरिफा (सीताफल) १ सयबाट १ सय ७५, नेपाली केरा प्रतिदर्जन १ सय २२ बाट १ सय ७५, किवी २७६.६७ बाट ३ सय ७५ र फुजी स्याउ २७२.५० बाट ३ सय २५ पुगेको छ ।

भान्सा स्वाद बढाउने मसलाजन्य वस्तु पनि अचाक्ली महँगिएको छ । भारतीय सुकेको प्याजको मूल्य ३६ बाट १२९.१७ प्रतिशतले बढेर ८२.५० रुपैयाँ पुगेको छ ।

हरियो खुर्सानी ४५ बाट १७७.७८ प्रतिशत बढेर १ सय २५, अदुवा १ सय १० बाट ९२.७३ प्रतिशत बढेर २ सय १२ पुगेको छ भने सुकेको खुर्सानी ३ सय ७५ बाट ५ सय २७ रुपैयाँ पुगेको छ ।

यस्तै दसैंका बेला मासुसँगै धेरै खपत हुने माछाको मूल्य पनि उकालो लागेको छ । छडी माछा २२४.३३ रुपैयाँबाट ४९.३३ प्रतिशत बढेर ३ सय ३५, बचुवा माछा २ सय ७० बाट ३ सय १५ र रहु माछा ३ सय ३० बाट ३ सय ५५ पुगेको छ ।

गोलभेँडाको मूल्यमा रेकर्ड ब्रेक, बाटोमै कुहिन्छन् तरकारी

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडा बाटोघाटोका कारण ढुवानीमा भएको समस्या नै मूल्यवृद्धिको मुख्य कारक मान्छन् ।

बाटो बन्द हुँदा आयातित विशेषगरी भारतीय गोलभेँडा रोकिएका कारण बजारमा गोलभेँडाको मूल्यले रेकर्ड तोडेको उनको भनाइ छ । जाममा फस्दा किसानले टिपेर पठाएको तरकारी बाटोमै कुहिने अवस्था रहेको उनले सुनाए ।

‘दुई–चार घण्टा घाममा होल्ड भयो भने पनि त्यो ल्याउँदा ल्याउँदै नबिक्ने अवस्थामा पुग्छ, अब बिस्तारै बाटो खुल्ला कि हेरौं,’ अध्यक्ष खतिवडाले भने, ‘अहिले बाटो बन्द भएका कारण हाम्रो सीमापारिबाट आउने गोलभेँडा नआउँदा मूल्य उच्च भएको छ, गएको हप्ता गोलभेँडा आएको थियो, तीन–चार ट्रक आउनासाथ यहाँ हजार–बाह्र सय रुपैयाँ क्रेटमा बिक्री भएको थियो ।’

उनका अनुसार स्वदेशमा उत्पादन कम भएको र भारतबाट ल्याउन नपाउँदा अहिले गोलभेँडा महँगिएको उनको भनाइ छ ।

खतिवडाले चाडबाडका बेला काँक्रो, मुला, गोलभेँडा, काउली, लप्सी, आलु, प्याजजस्ता वस्तु माग बढी हुने बताए । यद्यपि दसैंमा होटल, रेस्टुरेन्ट, स्कुल बन्द हुने भएकाले तरकारीको समग्र माग कम भई सामान्य अवस्थाकै मूल्य कायम रहने उनको दाबी छ ।

काउली र बरेलाबाहेक तरकारी घट्ने समितिको दाबी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विदुरप्रसाद आचार्यले बजारमा आपूर्ति अवस्था हिजोअस्तिको तुलनामा केही सुधारिएको बताएका छन् ।

उनका अनुसार पहिले ५ सय टनजति तरकारी आउने गरेकोमा अहिले ६ सय टन आउन थालेको छ । समग्रमा हेर्दा आपूर्ति अझै कम नै रहेको र व्यापारीले पनि कति बिक्छ भन्ने यकिन नभएका कारण धेरै तरकारी मगाउन डराइरहेको उनको भनाइ छ ।

बिहान एकछिन बेच्ने अनि हिँड्ने परिपाटीले गर्दा खुद्रा भाउ घट्न नसकेको उनको दाबी  छ ।

‘आज बिहान गाडीहरू एकै ठाउँमा जम्मा हुँदा केही डिस्टर्ब भयो, राति दुई–तीन बजे नै आइपुग्नुपर्ने गाडी बिहान ६ बजेसम्म आइपुगे,’ उनले बाटोको समस्या सुनाउँदै भने, ‘एक–दुई घण्टा ढिला भए पनि गाडी आइराखेकै छन् ।’

दसैं सुरु भइसकेकाले काठमाडौं छाड्ने मानिसको संख्या बढ्दै गएकाले समग्र तरकारीको भाउ बिस्तारै घट्ने दाबी उनले गरे । तर, विशेषगरी चाडबाडका बेला अलि रुचाइने काउली र बरेलाजस्ता तरकारीको भाउ चाहिँ अझै केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

किराना खाद्यान्नमा पनि उस्तै मार

तरकारीको कुरा एकातिर छ, भान्सामा नभई नहुने दैनिक उपभोग्य खाद्यान्न मूल्यमा पनि पछिल्लो एक वर्षमा भारी वृद्धि भएको छ ।

नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्ष अन्तरमा विशेषगरी खानेतेल, मसला र गेडागुडीको मूल्य अकासिएपछि आम उपभोक्ताको भान्सा निकै महँगिएको छ ।

संघको अघिल्लो वर्ष र यस वर्षको असोज महिनाको खुद्रा बजार बिक्री मूल्यसूची तुलना गर्दा अधिकांश अत्यावश्यक खाद्यान्नको मूल्य बढेको छ ।

तथ्यांक अनुसार खानेतेलमा प्रतिलिटर ६० रुपैयाँसम्मको वृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिलिटर २ सय ४५ रहेको सनफ्लावर तेलको मूल्य ६० रुपैयाँ बढेर अहिले ३ सय ५ रुपैयाँ पुगेको छ ।

भटमासको तेल प्रतिलिटर २ सय ४५ बाट बढेर २ सय ९५ पुगेको छ । तोरीतेलमा पनि भारी मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष ४ सय १० रुपैयाँ प्रतिलिटर पर्ने भुटेको तोरीतेल अहिले ४ सय ६० पुगेको छ भने काँचो तोरीको तेल ३ सय ६० बाट बढेर ४ सय रुपैयाँ पुगेको छ । डाल्डा घिउको मूल्यसमेत प्रतिलिटर २ सय ५० बाट बढेर २ सय ९० रुपैयाँ कायम भएको छ ।

मसलाजन्य वस्तुमा धनियाँ र बेसारले उपभोक्तालाई सबैभन्दा बढी पीर पारेको छ । अघिल्लो वर्ष प्रतिकिलो ३ सय रुपैयाँमा पाइने धनियाँ पाउडरको मूल्य १ सय ७५ बढेर अहिले ४ सय ७५ पुगेको छ । धनियाँ गेडा पनि २ सय ४० बाट बढेर ३ सय ९० पुगेको छ ।

त्यस्तै बेसार पाउडर प्रतिकिलो ४ सय ५० बाट ५ सय २५ रुपैयाँ पुगेको छ । यद्यपि, जिरा पाउडरको मूल्यमा भने सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष ८ सय रुपैयाँ प्रतिकिलो रहेको जिरा पाउडर अहिले ७ सय ७५ मा झरेको छ ।

दैनिक उपभोग्य चामल, चिउरा र दालमा पनि उस्तै महँगी छ । लङग्रेन बासमती चामल प्रतिकिलो १ सय ७० बाट १ सय ९० पुगेको छ भने स्टिम जिरा मसिनो चामल ९५ बाट १ सय ५ रुपैयाँ पुगेको छ ।

दसैंमा ताइचिन चिउरा खान रुचाउने उपभोक्ताले पनि अब प्रतिकिलो थप ३० रुपैयाँ तिर्नुपर्ने भएको छ । अघिल्लो वर्ष १ सय ७० परेको ताइचिन चिउरा अहिले २ सय पुगेको छ ।

दाल तथा गेडागुडीतर्फ मुंग खोस्टा र मुंग गेडा दुवैको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेर क्रमश: २ सय २० र २ सय १० पुगेको छ । चना दाल १ सय ७० बाट १ सय ८० र रहर दाल २ सय २५ बाट २ यस ३० पुगेको छ ।

काँचो बदामको मूल्यमा पनि प्रतिकिलो ७० वृद्धि भई २ सय २० बाट २ सय ९० पुगेको छ । मैदा र आटाको मूल्यमा प्रतिकिलो ५ रुपैयाँ वृद्धि भई ७५ बाट ८० पुगेको छ ।

खुद्रा व्यापारीको गुनासो : माथिबाटै भाउ बढेर आउँछ

बजारमा अचाक्ली मूल्यवृद्धि हुँदा आम उपभोक्ताको पहिलो आक्रोश टोलका खुद्रा पसलेमाथि पोखिन्छ । तर, खुद्रा व्यापारीहरू भने विगतका वर्षमा जस्तै यस पटक पनि थोक विक्रेता (होलसेलर) र उत्पादकबाटै मूल्य बढेर आएकाले आफूहरू मूल्य बढाउन बाध्य भएको बताउँछन् ।

नेपाल खुद्रा व्यापार संघ महासचिव अमुलकाजी तुलाधर बजारमा देखिएको महँगीको सम्पूर्ण दोष खुद्रा व्यापारीलाई मात्र थोपर्नु न्यायसंगत नहुने जिकिर गर्छन् ।

‘हामी खुद्रा व्यापारीहरू उपभोक्ताको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले महँगीको पहिलो मार र आक्रोश हामीले नै खेप्नुपर्छ,’ उनी भन्छन्, ‘तर, वास्तविकता के हो भने अहिले उत्पादक र थोक विक्रेता दुवै तहबाटै अधिकांश सामानको भाउ बढेर आएको छ, उताबाटै महँगो मूल्यमा खरिद गरेर ल्याएपछि हामीले त्यही अनुसार मूल्य समायोजन गरेर बेच्नुपर्ने हाम्रो बाध्यता हो ।’

सरकारी अनुगमन संयन्त्रमाथि प्रश्न

सरकारी निकायका अधिकारी र व्यवसायीका आ–आफ्नै तर्क र बाध्यता भए पनि मारमा भने प्रत्यक्ष रूपमा आम उपभोक्ता नै परेका छन् । प्राकृतिक प्रकोपले पुर्‍याएको क्षति र ढुवानीको सकस केही मौकापरस्त व्यापारीले नाफा कमाउने हतियार बनाएका छन् ।

राज्यको अनुगमन संयन्त्र फितलो हुँदा टोलटोलका खुद्रा पसलेदेखि ठूला थोक विक्रेतासम्मले मनपरी भाउ असुलिरहेका छन् ।

नागरिकको आम्दानी स्थिर रहनु, किसानले उचित मूल्य नपाउनु तर खाद्यान्न र तरकारीको मूल्यमा यस प्रकारको अचाक्ली वृद्धि हुनाले निम्न तथा मध्यम वर्गीय परिवारको दैनिकी निकै कष्टकर बन्दै गएको स्पष्ट छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?