२७ असोज, काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशअन्तर्गत धादिङ, म्याग्दी, नवलपरासी पूर्व, मनाङ र गोरखाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको छ।
धादिङको धुनिबेसी नगरपालिका–९ खत्रीपौवास्थित त्रिभुवन राजपथमा पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ।
नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा कालिगण्डकी करिडोर पनि प्रभावित भएको छ। उक्त सडकखण्डमा ठूला गाडी सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।
मनाङमा बाढीका कारण बेसीशहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको छ। उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
यसैगरी, बूढीगण्डकीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल र गोरखा–आरुघाटबाट धादिङ जोड्ने नयाँपुल पूर्ण रूपमा क्षति पुर्याएका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्न तथा सम्बन्धित निकायबाट सडक खुल्ने अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रतिक्रिया 4