+
+
Shares

नेपाली वैज्ञानिकको ज्ञान नेपालको अनुसन्धानसँग जोड्न जर्मनीमा सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीमा सम्पन्न नेपाल-युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ मा पाँच देशका करिब ६० वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी भए।
  • सम्मेलनमा नेपाल र युरोपबीच विज्ञान, प्रविधि, स्वास्थ्य, जीवविज्ञान र इन्जिनियरिङमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भयो।
  • सम्मेलनका क्रममा नेपालस्थित जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था र जर्मनीस्थित नेपाली रुट्स संस्था बीच समझदारीपत्रमा हस्ताक्षर भयो।

२७ असोज, बार्सिलोना । विदेशमा रहेका नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, सीप र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनसँग जोड्ने उद्देश्यले आयोजित नेपाल-युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीमा सम्पन्न भएको छ।

शुक्रबार (९ अक्टोबर) ट्युबिङ्गेन विश्वविद्यालयमा सम्पन्न सम्मेलनमा पाँच देशका करिब ६० जना सहभागी भएका थिए। ‘नेपालका लागि, नेपालीबाट’ भन्ने मूल भावसहित आयोजित सम्मेलनमा नेपाल,जर्मनी, फिनल्यान्ड, डेनमार्क र स्विट्जरल्यान्डका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, इन्जिनियर तथा विद्यार्थी सहभागी थिए ।

सम्मेलनमा विज्ञान, प्रविधि, स्वास्थ्य, जीवविज्ञान, जैविक प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा भइरहेका अनुसन्धानबारे छलफल भएको थियो नेपालका अनुसन्धान संस्थासँग विदेशमा रहेका नेपाली विज्ञले सहकार्य गर्न सक्ने सम्भावनाबारे पनि चर्चा गरिएको थियो।

सम्मेलनको आयोजना जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था, ट्युबिङ्गेन विश्वविद्यालय, नेपाली रुट्स संस्था र काठमाडौं विश्वविद्यालय जैविक प्रविधि पूर्वविद्यार्थी सञ्जालको सहकार्यमा गरिएको हो। कार्यक्रमको संयोजन अनुसन्धान संस्थाका सहसंस्थापक तथा अध्यक्ष प्रज्वल राजभण्डारीले गरेका थिए।

सम्मेलनका क्रममा नेपालस्थित जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था र जर्मनीस्थित नेपाली रुट्स संस्था बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीले नेपाल र युरोपका वैज्ञानिक तथा अनुसन्धानकर्ताबीच सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत संयुक्त अनुसन्धान, ज्ञान आदानप्रदान र साझा परियोजना सञ्चालनका सम्भावना खोजिनेछ।

विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिले नेपालको शिक्षा, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पुर्‍याउन सक्ने योगदानबारे सम्मेलनमा छुट्टै सत्र आयोजना गरिएको थियो। नेपाली रुट्सका अध्यक्ष डा. कृतन गौतमले उक्त सत्रको संयोजन गरेका थिए।

छलफलमा नेपालका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग संयुक्त अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण गर्ने र विद्यार्थीको क्षमता विकास गर्ने विषय उठाइएको थियो। विदेशमा आर्जन गरेको विशेषज्ञतालाई नेपालको आवश्यकतासँग जोड्न सके अनुसन्धानका नयाँ अवसर सिर्जना गर्न सकिने धारणा सहभागीहरूले राखेका थिए।

सम्मेलनमा काठमाडौं विश्वविद्यालयका पूर्वविद्यार्थीहरूले पनि आफ्नो अनुसन्धान तथा व्यावसायिक अनुभव प्रस्तुत गरेका थिए। जर्मनी, फिनल्यान्ड र स्विट्जरल्यान्डमा कार्यरत पूर्वविद्यार्थीले स्वास्थ्य, सूक्ष्मजीव, जैविक प्रविधि र इन्जिनियरिङका क्षेत्रमा भइरहेका कामबारे जानकारी गराएका थिए।

ट्युबिङ्गेन विश्वविद्यालयका प्राध्यापक ह्याराल्ड ग्रोस र टुर्कु विश्वविद्यालयकी डा. एभेलिना मुनुक्काले पनि अनुसन्धानसम्बन्धी प्रस्तुति दिएका थिए।

आयोजकहरूले सम्मेलनबाट स्थापित सम्पर्कलाई निरन्तरता दिँदै नेपाल र युरोपबीच विज्ञान, प्रविधि तथा अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन्। विदेशमा रहेका नेपाली विज्ञको ज्ञान र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनमा उपयोग गर्नु सम्मेलनको प्रमुख लक्ष्य रहेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?