News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा सांसद वर्षमान पुनले संसदीय सुनुवाइ समितिमा विदेशबाट मतदान अबको चुनावमा सम्भव छ कि छैन भनेर प्रश्न गरेका छन्।
- जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले विदेशमा मतदानका लागि समन्वय, योग्य मतदाताको दर्ता र प्रमाणीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएकी छन्।
- निर्वाचन आयोग र सरकारले स्थानीय तह र प्रदेशसभाको आगामी निर्वाचनमा विदेशबाट मतदान गराउने सम्भावनाबारे आन्तरिक अध्ययन गरिरहेका छन्।
२७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ कि छैन भन्ने प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् ।
सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको सुनुवाइ जारी छ । सुनुवाइका क्रममा जोशीले विदेशबाट मतदानका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।
‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरि योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणक लागि सहजीकरण गर्नेछु,’ उनले भनिन् ।
सम्बन्धित मुलुकको निर्वाचन कानुन तथा अभ्यास अध्ययन गरी पृष्ठपोषण दिनेछु । विदेशबाट मतदानका विधि र प्रविधिबारे सरोकारवालासँग परामर्श गर्ने पनि बताइन् ।
अबको निर्वाचनमा बाह्य मतदान हुने विश्वाससहित उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
विदेशबाट मतदानको पाइलट परीक्षण भएमा त्यस्को कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग र नेपाल सकर्सग समन्वय गर्ने बताइन् ।
प्रस्तावित राजदूतको यस्तो प्रतिबद्धतापछि नेकपाका सांसद पुनले विगतमा अभियन्ताको रूपमा विदेशबाट मतदान हुनुपर्छ भन्दै आएको व्यक्ति राजदूत भएर जाँदै गर्दा कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी प्राप्त हुने बताए ।
विदेशमा रहेका नेपालीले नोट चल्ने भोट किन नचल्ने भन्दै आइराखेको उल्लेख गर्दै सांसद पुनले सोधे, ‘यहाँलाई के लाग्छ, अबको चुनावमा यो (विदेशबाट मतदान) सम्भव छ ?’
आगामी ३० वैशाख २०८४ मा स्थानीय तह र ४ मंसिर २०८३ मा प्रदेशसभाको पदावधि समाप्त हुनेछ । यी दुवै तहको निर्वाचनमा बिदेशबाट मतदान गराउन के कति सम्भव छ भनेर निर्वाचन आयोगले आन्तरिक अध्ययन गरिरहेको छ । सरकारले पनि यसबारे अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया 4