+
+
Shares
अन्तर्वार्ता :

‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’

पार्टीको केन्द्रीय अनुशासन आयोगले सम्बन्धित विषयमा प्रारम्भिक कार्य सुरु गरिसकेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री तथा विषयवस्तुको सत्यतथ्य बुझ्ने काम भइरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा केन्द्रीय अनुशासन आयोगले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीका आधारमा प्रारम्भिक छानबिन सुरु गरेको छ।
  • उपप्रमुख हरिचन्द्र भट्टराईले दुवै पक्षसँग कुरा नगरी र प्रमाण नजाँचीकन निष्कर्ष निकाल्न नमिल्ने भन्दै औपचारिक उजुरी नआएको बताए।
  • भट्टराईले पीडित भनिएकी महिला र सुनार दुवै आयोगको सम्पर्कमा आए छानबिन सहज हुने, नआए एकपक्षीय हुन सक्ने उल्लेख गरे।

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा प्रारम्भिक छानबिन सुरु गरिएको बताएका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका सामग्रीका आधारमा आयोगले प्रक्रिया अघि बढाएको, तर निष्कर्षमा पुग्न दुवै पक्षका कुरा सुन्न र प्रमाणको सत्यापन गर्न आवश्यक रहेको उनले बताए।

अनलाइनखबरका लिलु डुम्रेसँगको कुराकानीमा भट्टराईले सुनार र आरोप लगाउने महिलासँग कुरा गर्ने प्रयास भइरहेको, औपचारिक उजुरी नआएको र विषय गम्भीर भएकाले हतारमा निष्कर्ष सुनाउन नमिल्ने बताए।

खगेन्द्र सुनारको विषयमा पार्टीको वक्तव्य आइसकेको छ। अनुशासन आयोगले छानबिन सुरु गरिसकेको हो?

हो, पार्टीको केन्द्रीय अनुशासन आयोगले उहाँसँग सम्बन्धित विषयमा प्रारम्भिक कार्य सुरु गरिसकेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री तथा विषयवस्तुको सत्यतथ्य बुझ्ने काम भइरहेको छ।

हामीले मिडियाले जस्तो तत्काल प्रतिक्रिया दिएर निष्कर्ष सुनाउन मिल्दैन। सार्वजनिक भएका सामग्रीको सत्यापन गर्नुपर्छ। कतिपयले एआईबाट बनाइएको सामग्री हो भन्ने कुरा पनि उठाएका छन्। त्यसैले के वास्तविक हो, के होइन भन्ने कुरा प्रमाणका आधारमा छुट्याउनुपर्छ। उहाँलाई पनि सोध्नुपर्‍यो । प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि जसलाई आरोप लागेको छ, उसलाई नसोधी अगाडि बढ्न सकिँदैन ।

उहाँसँग सम्पर्क भएको छ तपाईंहरूको ?

‘हामी आउँदैछौं’ भन्ने कार्यक्रममा बाहिर हुनुहुन्छ भन्ने खबर आएको छ । फेरि चाडपर्व पनि लागेको छ । दशैंको तेस्रो दिन भयो, घर जाँदै हुनुहुन्छ कि ? संसद चलिरहेको भए त अफिसियल्ली उहाँलाई भेटिन्थ्यो । त्यो स्थिति पनि छैन । हामीले सकेसम्म उहाँलाई भेट्ने, खोज्ने र उहाँका कुरा सोध्ने प्रयत्नमा हामी प्रारम्भिक रूपमा छौं ।

प्रारम्भिक अनुसन्धानको आधारमा कस्तो बुझाइ बनाउनुभएको छ ?

आरोप गम्भीर छन्। त्यसैले त हामीले गम्भीरतापूर्वक छानबिन गर्न लागेका हौँ। अहिलेसम्म मलाई जानकारी भएअनुसार औपचारिक उजुरी परेको छैन। तर उजुरी नपरे पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयले हाम्रो ध्यानाकर्षण गराएको छ।

उजुरी आएको भए उजुरकर्तालाई पनि सोध्नुहुन्थ्यो । उजुरकर्ता नदेखिएको हुनाले उहाँलाई नसोधीकन, उहाँले भनेका कुरा सत्यतथ्य नभइकन, जो महिला भनिएको छ उहाँले पनि औपचारिक रूपमा कि त राज्यको निकायमा उजुरी गर्नुपर्‍यो, कि पार्टीका निकायमा उहाँको उजुरी आउनुपर्‍यो । हामीले गहन रूपमै जानुपर्छ ।

होइन रहेछ भने माननीय इज्जतमाथि धावा बोलेको छ । अर्कोतिर, हो रहेछ भने महिलाको चरित्रहत्या भएको छ । जिउज्यानका कुरा पनि छन् । यो त शोभनीय कुरा पनि होइन ।

छानबिनको निष्कर्षमा पुग्न कति समय लाग्ला?

हामी चाँडै निष्कर्षमा पुग्ने प्रयास गर्छौँ। तर प्रमाण नबुझी बोल्न मिल्दैन। उहाँ कति छिटो सम्पर्कमा आउनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ। चाडपर्व र बिदाका कारण केही व्यावहारिक कठिनाइ हुन सक्छन्।

तर यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। आरोप सत्य हो भने अत्यन्त आपत्तिजनक विषय हो। सत्य होइन भने पनि कसैको प्रतिष्ठामा गम्भीर असर पर्न सक्छ।

पीडित महिलासँग पनि कुरा गर्नुहुन्छ ?

भेटियो भने किन कुरा नगर्नु ? हाम्रो काम नै अनुसन्धान गर्ने हो। आन्तरिक अनुसन्धान पनि गर्छौं । पार्टीले दुइटा कुरा बोलेको छ- कोही कसैलाई यस्तो खालको पीडा भएको छ भने पीडित पक्ष राज्यको निकायमा तत्काल जानुहोस् । हामी सहयोग गर्छौं ।

कि हाम्रो आन्तरिक पार्टी च्यानलमा आइदिनुपर्‍यो । या राज्यको निकायमा जानुपर्‍यो । राज्य मन्त्री भन्ने पनि आएको छ पीडित मान्छे । राज्यको निकायमा बसेको मान्छे, उहाँलाई सबै थाहा हुन्छ नि ! उहाँ साधारण मान्छे होइन ।

पीडित भनिएकी महिला वा आरोपित व्यक्ति आयोगको सम्पर्कमा नआए के हुन्छ?

उहाँ आइदिनुभयो भने सजिलो हुन्छ भनेको हुँ । दुवै पक्षको कुरा सुन्न पाउँदा अनुसन्धानमा धेरै सहज हुन्छ। अदालतमा वादी र प्रतिवादी दुवै पक्षको कुरा सुनेर विषय बुझ्ने प्रक्रिया हुन्छ। त्यसरी नै यहाँ पनि दुवै पक्षको कुरा सुन्न पाउँदा निर्णय गर्न सजिलो हुन्छ ।

आइदिनुभएन भने एकपक्षीय हुन सक्छ र विषयको वास्तविकता बुझ्न कठिन हुन्छ।

सकेसम्म पीडित महिलासँग पनि कुरा गर्ने प्रयास गर्नुहुन्छ ?

आउनुभयो र उहाँ पीडित हुनुहुँदोरहेछ भने उजुरी नै माग्छौं हामी । डकुमेन्ट भयो भने हामीलाई पनि तथ्य हुन्छ । तपाईंहरू सञ्चार माध्यमले पनि लेखिदिनुभयो भने हामीलाई सजिलो हुन्छ । हामी सबै लागेर यस्ता प्रवृत्तिलाई समाजमा आउन दिनुहुँदैन । हामी नयाँ नेपालको कल्पना गर्छौं अनि यस्ता कुरालाई छोड्दै गयौं भने राम्रो हुँदैन ।

त्यसैले राज्यको निकाय आफ्नो ठाउँमा छ, आन्तरिक छानबिन र अनुसन्धान गर्ने कुरा पनि छ । कतिपय कसुरजन्य कार्य पनि देखिन्छ । प्रहरी प्रशासनले झन् छिट्टै भेट्ला । हामी सबै लागौं तर यथार्थपरक तरिकाले जानुपर्छ । उहाँका पनि मिडियाबाट कुरा आइरहेका छन्, यसो गर्‍यो, उसो गर्‍यो भनेर । ती सबै कुरा हामीले अनुसन्धान गर्छौं । यो र त्यो भन्न सकिने अवस्था अहिले छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?