+
+
Shares

को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफ्रोडाइटीको रूपबाट प्रेरित टिसियनको भेनस अफ अर्बिनो र भेलाज्केजको रोकबी भेनसले नग्न स्त्रीदेहलाई लिएर कलाकार र दर्शकबीच विवाद जन्माए।
  • १८८० तिर मार्क ट्वेनले भेनस अफ अर्बिनोलाई अश्लील भने, र १९१४ मा मेरी रिचार्डसनले नेसनल ग्यालरीमा रोकबी भेनसमा तीनपटक प्रहार गरिन्।
  • प्राचीन ग्रीसदेखि २१औँ शताब्दीसम्म अफ्रोडाइटी प्रेम, सौन्दर्य, उर्वरता, युद्ध र महिला सशक्तिकरणको प्रतीकका रूपमा बारम्बार पुनर्परिभाषित भइन्।

समुद्रको फिँजबाट उठी, छालहरूमा चिप्लिँदै साइप्रसको किनारमा जब एउटी सुन्दरी प्रकट भइन्, तब सायद प्रकृतिको पनि धड्कन रोकिएको थियो होला । मिथकका पाना पल्टाउँदा क्रोनोसले आफ्ना पिता उरानोसको जननेन्द्रीय काटेर समुद्रमा फ्याँकेको क्रूर दृश्यबाट जन्मिएकी ती देवी हुन् अफ्रोडाइटी ।

जो इतिहासको कालखण्डमा प्रेम, सौन्दर्य र यौनको प्रतीक त रहिन नै, सँगै मानव सभ्यताको सबैभन्दा ठूलो बौद्धिक तथा सांस्कृतिक विवादको केन्द्र पनि बनिन् ।

के एउटा कलाकृति, एउटा मूर्ति वा एउटा सौन्दर्यको बिम्ब यतिसम्म शक्तिशाली हुन सक्छ, जसले शताब्दीऔं पछिका मानिसहरूलाई पनि सडकमा ओसार्न सकोस् ? वा लेखकहरूलाई कलम भाँच्न बाध्य पार्न सकोस् ?

इतिहास साक्षी छ – उत्तर हो मा आउँछ ।

क्यानभास र आक्रोश

कुरा १८८० को आसपासको हो ।

विश्व साहित्यका महारथी, आफ्ना तीक्ष्ण व्यङ्ग्यले समाजको नक्कली नैतिकताको मुकुट उप्काइदिने मार्क ट्वेन टिसियनको प्रसिद्ध चित्रकला भेनस अफ अर्बिनो (१५३४) को अगाडि उभिएका थिए । चित्रमा स्त्रीको नग्नता र त्योभित्रको मोहक मुद्राले उनलाई भित्रैदेखि झट्का दियो । उनी यतिसम्म विचलित भए कि त्यो चित्रलाई संसारकै सबैभन्दा फोहोरी, नीच र अश्लील भनिदिए।

त्यसको केही दशक, ठ्याक्कै भन्नुपर्दा १९१४ को एउटा लन्डनको चिसो दिन नेसनल ग्यालरीभित्र महिला अधिकारका लागि लडिरहेकी एक जुझारु नारी सफ्राजेट मेरी रिचार्डसन छिर्छिन् । उनको हातमा मासु काट्ने धारिलो हतियार हुन्छ ।

डिएगो भेलाज्केजको मास्टरपिस मानिने रोकबी भेनस (१६४७–५१) तिर लक्षित गर्दै उनले त्यो हतियारले कम्तीमा तीनपटक प्रहार गरिन् । पुरुष भिजिटरहरूले त्यो चित्रलाई दिनभर टोलाएर हेरेको उसलाई मन नपर्ने भएकाले आफूले त्यस्तो गरेको उनले पछि बताएकी थिइन् ।

प्रश्न उठ्छ, आखिर यो ढुङ्गा र रङको संयोजनमा कोरिएको स्त्री देहमा त्यस्तो के छ, जसले मानिसको विवेकलाई उत्तेजित मात्र गर्दैन, युद्ध, घृणा र विद्रोहको आगो बालिदिन्छ ?

मिथक र इतिहास

यदि हामी मिथकको चस्मा खोलेर इतिहासको ऐनामा हेर्ने हो भने अफ्रोडाइटीको जन्म ईसापूर्व १२२० तिर साइप्रसमा भएको पाइन्छ । उनी त्यस्तो समयमा देवकुल मा भित्रिइन्, जतिबेला मध्यपूर्वका पुराना देवीहरू – इस्तर, एस्तार्ते र ह्याथोरहरूको बोलबाला थियो ।

ती प्राचीन देवीहरूका लागि प्रेम, यौनिकता र उर्वरता मुख्य विशेषता त थिए नै, सँगसँगै उनीहरूको बहुआयामिक शक्ति पनि समाजमा व्याप्त थियो ।

अफ्रोडाइटी पनि त्यसैको विस्तारित रूप थिइन् । उनी कुनै बन्द कोठाभित्रको रोमान्सकी देवी मात्रै थिइनन्; उनी प्रकृति, वनस्पति, जीवजन्तु र समग्र मानव जगतको प्राण थिइन् । अझ रोचक त के भने उनी ट्रोजन युद्धको मैदानमा तरबार बोकेर होमिएकी एक योद्धा देवी पनि थिइन् ।

ग्रीक नौसेनाले आफ्ना लडाकु जहाजहरू र युद्धको सफलताका लागि तिनै अफ्रोडाइटीको पूजा गर्थे । रोमन सभ्यताको जरो खोज्दै जाँदा पनि तिनै देवी र ट्रोजन राजकुमार एन्काइसिसको प्रेम कथासँग ठोक्किनपुग्छ । उनीहरूको वंशजहरूले पछि रोम सहरको साम्राज्य खडा गरेको पनि भनिने गर्छ ।

उनी पान्डेमोस थिइन् । अर्थात् सबै मानिसकी देवी । न योद्धा विशेष, न महिला विशेष; प्रेमले जसरी हर जीवलाई छुन्छ, अफ्रोडाइटीको प्रभाव पनि त्यस्तै सर्वव्यापी थियो ।

भेनस पुडिका : जसले कलाको व्याकरण नै बदलदियो

तर, कहानीमा ट्विस्ट तब आयो जब ईसापूर्व ३५० मा कलाकार प्राक्सिटेलिसले एउटा क्रान्तिकारी काम गरे । उनले बनाए – अफ्रोडाइटी अफ क्निडोस

त्यसअघि ग्रीक कलामा नग्नताको विशेषाधिकार पुरुषहरूको थियो । छैटौं वा सातौं शताब्दीदेखि नै पुरुषको शारीरिक सौन्दर्यलाई नग्न रूपमा उतार्नु, त्यसको उत्सव मनाउनु पूर्णतया सामान्य र प्रतिष्ठित मानिन्थ्यो । तर, महिलाको शरीरलाई त्यसरी सार्वजनिक रूपमा नाङ्गो देखाइएको थिएन । प्राक्सिटेलिसले पहिलो पटक त्यो लक्ष्मण रेखा भत्काइदिए ।

तर, पुरुष र महिलाको नग्नताको प्रस्तुतिमा भिन्नता थियो ।

पुरुष मूर्तिहरू सधैं छाती फुलाएर, निर्धक्क, आत्मविश्वासी र हिरोइक मुद्रामा उभिएका हुन्थे । तर प्राक्सिटेलिसकी अफ्रोडाइटी नुहाउँदै गर्दा अचानक कसैले देखेझैं लजालु र संकोची मुद्रामा देखाइइन् ।

अलिकति पछाडि हटाइएका हातहरू, लाजले खुम्चिएको शरीरको भाषा – जसलाई पछि कलाको भाषामा भेनस पुडिका (लजालु भेनस) भनियो ।

यही मुद्राले कलाको इतिहासमा एउटा भूकम्प नै ल्यायो । यो यस्तो कलाकृति थियो, जसले दर्शकलाई टाढैबाट हेर्न मात्र होइन, विभिन्न कोणबाट चियाउन र आफ्नो कामुक उत्सुकता तृप्त गर्न आमन्त्रित गर्थ्यो ।

यहींबाट सुरु भयो – स्त्री शरीरलाई वासनाको वस्तु बनाउने लामो र जटिल सिलसिला ।

पुनर्जागरणदेखि आजसम्म : बदलिँदो अर्थ र रूपहरू

समय आफ्नै गतिमा बग्दै गयो ।

प्राचीन ग्रीस र रोम हुँदै रिनेसान्सको काल आयो । त्यो बीचमा मासचियो, बोटिचेली, राफेल र टिसियनजस्ता हस्तीहरूले त्यही भेनस पुडिकाको मोडललाई नयाँ जीवन दिए । बारोक कालमा रुबेन्स र भेलाज्केजले यसलाई पुनः सृजना गरे ।

१८औं र १९औं शताब्दीमा काबानेल र मानेट हुँदै यो २० औं शताब्दीका मोडिग्लियानी र यभ्स क्लेनसम्म आइपुग्यो । मार्क ट्वेन र मेरी रिचार्डसनहरूको आक्रोश मूलतः यही शताब्दीयौंदेखि जरा गाडेर बसेको स्त्री देहीकरणको साङ्केतिक विरोध थियो ।

तर, समय सधैं एकैनास कहाँ बस्छ र ?

आजको २१औं शताब्दीमा आइपुग्दा अफ्रोडाइटीको यो परिभाषा फेरि फेरिएको छ । अब उनी पुरुषवादी दृष्टिको वासनाको वस्तु मात्रै रहेकी छैनन्, उनी महिला सशक्तिकरण र आत्मदाबीको शक्तिशाली विम्ब बनेकी छिन् ।

सन् २०२३ को त्यो सुप्रसिद्ध दृश्य कसले बिर्सेको होला र? जतिबेला पप सुपरस्टार बियोन्से एउटा विशाल सिप्पी (क्ल्याम शेल) भित्र उभिएर मञ्चमा उत्रिइन् र उनको पोसाकमा तिनै भेनस पुडिकाका हातहरू कुँदिएका थिए । बजोर्क, लेडी गागादेखि काइली मिनोगसम्मले यी देवीलाई आफ्ना संगीतका धुनहरूमा उतारिसकेका छन् ।

तीन हजार वर्ष लामो यो यात्रामा अफ्रोडाइटी हजारौं पटक रूपान्तरित भइन् । मानिसहरूले आफ्नो युगको आवश्यकता र चाहनाअनुसार उनलाई कहिले प्रेमकी देवी बनाए, कहिले विवादको काँडा त कहिले शक्तिको प्रतीक ।

भूमध्यसागरको तातो हावाबाट नर्थम्बरल्यान्डको कठ्याङ्ग्रिने जाडोमा कतै मूर्तिमा कुँदिँदा रिसाएकी जस्ती देखिने यी देवी सौन्दर्य र मानिसको नजरबीचको यो अनन्त लुकामारी चलिरहनेछ । किनकि, जबसम्म संसारमा सुन्दरताको परिभाषा खोज्ने मानिसहरू रहन्छन्, तबसम्म अफ्रोडाइटी कुनै न कुनै रूपमा जीवित रहिरहनेछिन् – बहसको केन्द्रमा, विवादको घेरामा र कलाको क्यानभासमा!

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?