News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र दक्षिण अफ्रिकाबीच व्यापार तथा लगानी प्रवर्द्धनका लागि संयुक्त व्यावसायिक मञ्च गठनबारे छलफल भएको छ ।
- उद्योगमन्त्री दीपककुमार साह र उच्चायुक्त अनिल सुकलालबीचको भेटमा बिजनेस टु बिजनेस सम्बन्ध, नेपाली उत्पादन, जलविद्युत्, पर्यटन र पूर्वाधार लगानीका सम्भावना उठाइएका छन् ।
- दुवै पक्षले जलवायु परिवर्तन, बहुपक्षीय सहकार्य र लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
२७ असोज, काठमाडौं । नेपाल र दक्षिण अफ्रिकाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न ‘संयुक्त व्यावसायिक मञ्च’ (ज्वाइन्ट बिजनेस फोरम) गठन गर्ने विषयमा छलफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त अनिल सुकलालबीच भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो ।
भेटमा दुवै देशका व्यवसायीबीच व्यावसायिक सम्बन्ध (बिजनेस टु बिजनेस) स्थापित गर्दै आर्थिक साझेदारी बलियो बनाउन मञ्च गठन सम्भावनाबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
यस क्रममा दक्षिण अफ्रिकी बजारमा नेपाली उत्पादन प्रवर्द्धन गर्ने तथा नेपालको जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावना खोज्ने विषयलाई विशेष महत्त्व दिइएको छ ।
छलफलमा व्यापार तथा लगानी विस्तारका साथै जलवायु परिवर्तनका चुनौती सामना र बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउने विषयमा पनि विचार आदानप्रदान भयो ।
दक्षिण अफ्रिकाको स्वतन्त्रता संग्राममा नेपालले पुर्याएको सहयोगको स्मरण गर्दै दुवै पक्षले लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
उच्चायुक्त सुकलालले नेपालमा हालै आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे ।
यो भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन र पारस्परिक हितका सहकार्य अघि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4