२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए।
सभापतिमा तीनजनाको उम्मेदवारी परेपनि अन्तिम समयमा थापाको आग्रहमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए। १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो।
थापाले खड्गीलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर, उनले लोकतान्त्रिक प्रक्रियाबाट आफूलाई अलग राखेनन् ।
थापाको विजयसँगै कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको बहसले नयाँ दिशा लिएको टिप्पणी हुन थालेको छ। नेतृत्वमा नयाँ अनुहार आएका छन्, पदाधिकारीमा समावेशी प्रतिनिधित्व विस्तार भएको छ र केन्द्रीय कार्यसमितिको आकार पनि बढाइएको छ।
तर, नयाँ अनुहारको प्रवेशले मात्रै पार्टीको कार्यशैली बदलिन्छ भन्ने छैन। नेतृत्वले आन्तरिक शक्ति सन्तुलन मिलाउँदै सङ्गठनलाई प्रभावकारी बनाउने, नीतिगत स्पष्टता कायम गर्ने र जनताको विश्वास फर्काउने काम गर्नुपर्ने विश्लेषकहरू बताउँछन् ।
गगन–विश्वप्रकाशको सहकार्य
१५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित हुँदा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन्। पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसका बीच दुवै नेता शीर्ष पदमा पुग्नुलाई उनीहरूबीचको राजनीतिक सहकार्यको निरन्तरताका रूपमा हेरिएको छ।
वरिष्ठ उपसभापति शर्मासँगै पुष्पा भुसाल उपसभापति (महिला)मा निर्विरोध चयन भएकी छन्। खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य उपसभापतिमा निर्वाचित भएका छन्। भण्डारीले ३ हजार ७३५ र आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। उनले १ हजार ७४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे।
नयाँ नेतृत्वको संरचनामा अनुभव र नयाँ पुस्ताका नेताहरूलाई समेट्ने प्रयास देखिन्छ। तर, उनीहरूबीचको सहकार्य प्रभावकारी पार्टी सञ्चालनमा देखिन्छ कि पदाधिकारीको सूचीमा मात्र सीमित हुन्छ, त्यसले नेतृत्वको कार्यक्षमता निर्धारण गर्नेछ।
गगनका सङ्गठनात्मक सारथि
कांग्रेसको सङ्गठन सञ्चालन, नीति कार्यान्वयन र नेतृत्वबीच समन्वयमा महामन्त्रीको भूमिका महत्त्वपूर्ण हुन्छ। सभापति थापाले प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौलालाई महामन्त्रीका रूपमा पाएका छन्।
खुलातर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३१० मत प्राप्त गर्दै महामन्त्रीमा विजय हासिल गरेका छन्। महिलातर्फ डा. डिला सङ्ग्रौला पन्त ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डीना)लाई २५४ मतले पराजित गरिन्। उपाध्यायले २ हजार ८६४ मत प्राप्त गरेकी छन्।
सङ्ग्रौला विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् भने नेतृ उपाध्याय १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। उनी २ असोजमा पूर्वसभापति शेरबहादुर देउवा समूह परित्याग गरेर मूलधारमा फर्किएकी थिइन्।

योसँगै सङ्ग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बनेकी छन्। यसलाई पार्टीको नेतृत्व संरचनामा महिलाको प्रतिनिधित्वका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।
महामन्त्रीहरूका लागि अब चुनौती सभापतिसँग समन्वय गरेर पार्टीका निर्णय कार्यान्वयन गर्नु र सङ्गठनलाई सक्रिय बनाउनु हुनेछ। नयाँ नेतृत्वको प्रभावकारिता उनीहरूले सम्हाल्ने जिम्मेवारी र देखाउने कार्यसम्पादनबाट मापन हुनेछ।
सहमहामन्त्रीः समावेशी प्रतिनिधित्वको परीक्षा
कांग्रेसमा सहमहामन्त्रीका विभिन्न पदमार्फत समुदाय र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ। पार्टी संरचनामा समावेशी सहभागिता सुनिश्चित गर्न र सम्बन्धित समुदायका मुद्दालाई सङ्गठन तथा नीतिमा समेट्न सहमहामन्त्रीको भूमिका महत्त्वपूर्ण मानिन्छ।
१५औँ महाधिवेशनबाट खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। खतिवडाले २ हजार ९१० र शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरेका छन्।
पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनले ३ हजार ९०६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाए।

महिलातर्फ प्रतिमा गौतम ५ हजार ११६ मतसहित निर्वाचित भएकी छन्। आदिवासी जनजातितर्फ बहादुरसिंह लामा ३ हजार २४५ मतसहित विजयी भएका छन्।
यस्तै दलिततर्फ प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । मुस्लिमतर्फ ३ हजार ३४७ मत प्राप्त गरेर डा. मोहम्मद फिरदोस आलम निर्वाचित भएका छन् ।
यो समाचार तयार पर्दासम्म कांग्रेसले खुल्ला, पिछडिएको क्षेत्र, महिला, आदिवासी जनजाति, दलित र मुस्लिम क्लस्टरतर्फ गरी छ जना सहमहामन्त्रीहरू पाइसकेको छ । अन्य क्लस्टरका सहमहामन्त्रीका लागि मतगणना जारी छ । यस्तै केन्द्रीय सदस्यहरूको पनि मतगणना भइरहेको छ ।
अन्य समावेशी समूहका पदाधिकारीको निर्वाचन परिणाम पनि पार्टीको नयाँ नेतृत्व संरचना निर्माणमा महत्त्वपूर्ण हुनेछ।
विधानअनुसार कांग्रेसमा विभिन्न समुदाय र क्षेत्रका लागि सहमहामन्त्रीका पद छुट्याइएको छ। सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यबाट एक महिलासहित चार जना सहमहामन्त्री मनोनीत गर्न पाउने व्यवस्था पनि छ।
समावेशी प्रतिनिधित्व विस्तार गर्नु आफैँमा पर्याप्त हुँदैन। सम्बन्धित समुदायका मुद्दा पार्टीको नीति, निर्णय र सङ्गठन सञ्चालनमा कति समेटिन्छन् भन्ने कुराले त्यसको वास्तविक अर्थ तय गर्नेछ।
सँगसँगै, समावेशीताको मर्म र भावनाअनुसार त्यही वर्ग र समुदायबाट प्रतिनिधित्व हुन सक्यो कि सकेन भन्ने प्रश्नको जवाफ पनि नेतृत्वले यसबीचमा दिनुपर्नेछ ।
जम्बो केन्द्रीय कार्यसमिति
कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिको आकार १६४ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। प्रतिनिधित्व विस्तार गर्ने उद्देश्यले गरिएको यो परिवर्तनले पार्टीभित्र नयाँ बहस पनि जन्माएको छ।
१४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकार बढाउँदा प्रश्न गर्ने थापा स्वयंले आफ्नो नेतृत्वमा अझ जम्बो समिति बनाएको भन्दै आलोचना पनि भइरहेको छ ।
महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको आधारमा केन्द्रीय कार्यसमिति ठूलो बनाइएको तर्क गरिए पनि यति ठूलो संरचना आवश्यक थियो कि थिएन भन्ने प्रश्न पनि उठेको छ।
प्रतिनिधि बढेका आधारमै केन्द्रीय कार्यसमितिको आकार ठूलो बनाइएको विषयलाई लिएर महाधिवेशनस्थलमा प्रतिनिधिहरू पक्ष–विपक्षमा तर्क गरिरहेको सुनिन्थ्यो।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई सक्रिय राख्नु, निर्णय प्रक्रियालाई चुस्त बनाउनु र जिम्मेवारीको स्पष्ट बाँडफाँट गर्नु नयाँ नेतृत्वका लागि चुनौती हुनेछ। ठूलो संरचनाले पार्टीभित्र धेरैलाई समेट्न सक्छ, तर त्यसले निर्णय प्रक्रियालाई ढिलो बनाउने जोखिम पनि रहन्छ।

राजनीतिक विश्लेषक सौगात गौतम ठूलो संरचना बनाउँदैमा प्रतिनिधित्व र समावेशिता स्वतः बलियो नहुने बताउँछन्।
‘प्रतिनिधिको सङ्ख्या बढेकाले केन्द्रीय कार्यसमिति ठूलो बनाउनुपरेको भन्ने तर्क गरिए पनि यति ठूलो संरचना किन आवश्यक थियो भन्ने प्रश्न उठ्छ,’ उनी भन्छन्।
गौतमका अनुसार ठूलो संरचनाको औचित्य त्यसले गर्ने कामबाट प्रमाणित हुनुपर्छ। ‘ठूलो समिति बनाउँदैमा प्रतिनिधित्व र समावेशिता स्वतः बलियो हुन्छ भन्ने होइन,’ उनी भन्छन्।
शुरु भयो त रूपान्तरण प्रक्रिया ?
कांग्रेसको राजनीतिलाई नजिकबाट नियाल्ने विश्लेषकहरू १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरणको प्रक्रियाका रूपमा व्याख्या गर्छन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएपछि सुरु भएको नेतृत्व परिवर्तनको प्रक्रियाले १५औँ महाधिवेशनबाट थप संस्थागत रूप लिएको उनीहरूको बुझाइ छ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले नयाँ नेतृत्वको अगुवाइमा कांग्रेसले पुनर्जीवन पाउने सम्भावना देख्छन्।
‘विगतको नेतृत्वको असफलता, सरकारमा रहँदा डेलिभरी गर्न नसकेको तथा कतिपय भ्रष्टाचार र कुशासनका मामिलामा नेता–कार्यकर्ताको नाम जोडिएका कारणले कांग्रेसले जनताको विश्वास गुमाएको थियो,’ वाग्ले भन्छन्, ‘त्यसैले कांग्रेस अलोकप्रिय र कमजोर भएको थियो। तर, अब कांग्रेसले पुनर्जीवन पाउने सम्भावना देखिएको छ।’
अर्का विश्लेषक गौतम पार्टी सङ्गठनलाई चलायमान बनाउने, युवापङ्क्ति र भूगोललाई पार्टीसँग जोड्ने प्रयासलाई सकारात्मक मान्छन्।
‘समग्रमा हेर्दा यसले पार्टी सङ्गठनलाई चलायमान बनाएको छ। युवापङ्क्ति र हरेक भूगोललाई पार्टीसँग जोड्ने कांग्रेसको प्रयास सकारात्मक नै छ,’ उनी भन्छन्।
गौतमका अनुसार महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउनु आन्तरिक लोकतन्त्रका दृष्टिले सकारात्मक हुन सक्छ। तर, प्रतिनिधित्वको विस्तारले पार्टीको निर्णय प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।
आशालाई विश्वासमा बदल्न गगनको अग्निपरीक्षा
थापा लोकप्रिय मतसहित सभापतिमा निर्वाचित भएपछि कांग्रेसभित्र र बाहिर नयाँ आशा जागेको छ। तर, त्यो आशालाई विश्वासमा बदल्दै नेतृत्व, संगठन र कार्यशैलीमा ठोस परिवर्तन ल्याउनु थापाका लागि मुख्य चुनौती देखिन्छ ।
विश्लेषकहरूका अनुसार अब थापाले प्रश्न उठाउने र प्रतिबद्धता जनाउने चरणबाट अघि बढेर पार्टीको नीति, सङ्गठन र कार्यशैलीमा ठोस परिवर्तन ल्याउनुपर्नेछ। नयाँ प्रतिनिधिको सहभागिता र नयाँ अनुहारको प्रवेशले मात्रै रूपान्तरण सुनिश्चित गर्दैन।
‘नयाँ प्रतिनिधिहरूको उल्लेख्य सहभागिता भएको छ, त्यसले पार्टीको शक्ति संरचनामा परिवर्तन ल्याउन सक्छ,’ गौतम भन्छन्। तर, उनीहरूको सहभागिता पार्टीको निर्णय प्रक्रियामा कति प्रभावकारी हुन्छ र पुरानो कार्यशैली बदल्न उनीहरूले कस्तो भूमिका खेल्छन् भन्ने कुराले वास्तविक परिवर्तनको मापन गर्ने उनको भनाइ छ।
वाग्ले पनि थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेसप्रति जनताको आशा बढेको बताउँछन्। तर, जनताको अपेक्षालाई विश्वासमा रूपान्तरण गर्नु नै उनको मुख्य चुनौती रहेको उनको निष्कर्ष छ ।

‘नवनिर्वाचित सभापति गगनजीप्रति जनता र कार्यकर्ताको आशा उच्च छ। अब उक्त आशालाई विश्वासमा रूपान्तरण गर्नुपर्छ,’ वाग्ले भन्छन्, ‘उहाँले विशेष महाधिवेशनसम्म प्रश्न गर्दै आउनुभएको थियो, अब परिणाममुखी काम गर्नुपर्नेछ।’
वाग्लेका अनुसार थापाले पार्टीको नेतृत्व सम्हाल्नु मात्रै पर्याप्त हुनेछैन। कांग्रेसको पुरानो छवि बदल्न सिद्धान्त, विचार, नीति, एजेन्डा, सङ्गठन, पुस्तागत संरचना र पार्टी सञ्चालनको कार्यशैलीमा समेत परिवर्तन ल्याउनुपर्नेछ।
‘उहाँले हालसम्म बेनिफिट अफ डाउट पाउनुभएको थियो, अब डेलिभरी गर्नुपर्नेछ,’ वाग्ले भन्छन्, ‘त्यसैले अब पुरानो कांग्रेसको छविलाई मौलिक रूपमा रूपान्तरण गरी नयाँ कांग्रेस बनाउने चुनौती छ।’
जनताको अपेक्षाअनुसार परिणाम दिन नसके नयाँ नेतृत्वप्रतिको आशा कमजोर हुन सक्ने वाग्ले बताउँछन्। ‘गगनजीलाई न विलम्ब गर्ने छुट छ, न असफल हुने,’ उनी भन्छन्, ‘त्यसैले गगनजीका लागि यो अग्निपरीक्षा हो।’
गौतम पनि नयाँ अनुहारको प्रवेशलाई मात्रै रूपान्तरणको प्रमाण मान्न नसकिने बताउँछन्। नयाँ केन्द्रीय कार्यसमितिले प्रभावकारी काम गर्न सक्यो भने मात्र ठूलो संरचना र विस्तारित प्रतिनिधित्वको औचित्य पुष्टि हुने उनको भनाइ छ।
कांग्रेसले नेतृत्व परिवर्तनको अवसर पाएको छ। अब त्यो अवसरलाई सङ्गठनात्मक सुधार, स्पष्ट राजनीतिक दिशा र परिणाममुखी काममा बदल्नु थापा नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ। नयाँ अनुहारले भरिएको केन्द्रीय समिति कांग्रेसको रूपान्तरणको आधार बन्न सक्छ, तर त्यसको सफलता नेतृत्वले कस्तो काम गर्छ भन्नेमा निर्भर रहनेछ।
प्रतिक्रिया 4