+
+
Shares

होल्डिङ सेन्टरका सुकुमवासीको निरस दसैं : फर्सी खाएर मनाउँदैछन्

‘शान्ति सेवा संस्थाले खुवाएको छ,’ उनले भनिन्, ‘दसैंमा दुई छाक कुखुराको मासु र एक छाक खसीको मासु खुवाएको थियो। आज फर्सी खायौँ ।’

दिनेश गौतम दिनेश गौतम
२०८३ कात्तिक ३ गते १९:५५

३ कात्तिक, काठमाडौं । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाको खोला किनारका सुकुमवासीलाई डोजर चलाएर हटाएपछि विस्थापित भएको मेनुका गुरुङ ६ महिनादेखि खरिपाटी होल्डिङ सेन्टरमा बसिरहेकी छन् ।

अघिल्ला दसैंमा नयाँ लुगा, मिठोमसिनो खानेकुरा र परिवारसँग रमाइलो गरेर मनाएको सम्झना उनलाई आउँछ । तर यसपटक उनको बास होल्डिङ सेन्टरमा छ ।

‘फर्सी खाएर दसैं मनाउँदै छौँ,’ खरिपाटी होल्डिङ सेन्टरमा बसिरहेकी सुकुमवासी बस्तीबाट विस्थापित भएकी मेनुका गुरुङले गुनासो गरिन् ।

उनका पाँच जनाका परिवार छन् । होल्डिङ सेन्टरमा रहेको क्यान्टिनले अहिले उनीहरूलाई खाना दिन छोड्यो ।

‘शान्ति सेवा संस्थाले खुवाएको छ,’ उनले भनिन्, ‘दसैंमा दुई छाक कुखुराको मासु र एक छाक खसीको मासु खुवाएको थियो। आज फर्सी खायौँ ।’

सरकारले दसैं मनाउन खर्च दिने आशा उनलाई रहेछ । ‘सरकारले खर्च देला कि भनेको, दिएन,’ उनले भनिन् ।

उनका अनुसार होल्डिङ सेन्टरमा कोहीले आफैं पकाएर पनि खान थालेका छन् । ‘बच्चाहरू छन् । दसैंमा रमाउने बच्चा होल्डिङ सेन्टरमा छन् । कुनै रमाइलो छैन,’ उनले भनिन्, ‘आफ्नो बस्ने बास भएको भए बनिबुतो गरेर वा उधारो लिएर भए पनि परिवारका लागि मिठोमसिनो जुटाउन सकिन्थ्यो। अहिले त्यो अवस्था पनि छैन ।’

अहिलेकोभन्दा पहिलेको दसैं उनको परिवारमा रमाइले हुने गरेको थियो । ‘पहिला धेरै रमाइलो थियो । अहिले भिख माग्नेले सुख पायो होला तर हामीले पाएनौँ,’ उनले भनिन् ।

उनको मात्र होइन खरिपाटी होल्डिङ सेन्टरमा रहेका सबैले उसैगरी दसैं मनाइरहेका छन् ।

सोही होल्डिङ सेन्टरमा रहेकी गीता लामाका अनुसार अहिले ३७ घरधुरी छन् । उनको मात्र ७ जनाको परिवार छ ।

‘दुःख छ । श्रीमान बिरामी हुनुहुन्छ । पकाएर खाने ठाउँ छैन । थापेर खानुपर्छ,’ उनले भनिन्, ‘गरिबको जिन्दगी लिएर जन्मनु नै पाप रहेछ ।’

यता बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीले पनि यसपटकको दसैंमा उत्साहन नरहेको दुःखेसो गरे । संस्थाले उपलब्ध गराएको खाना खाएर उनीहरू दसैं मनाइरहेका छन् । संस्थाले एक छाक मासु पनि खुवाएको छ।

‘दसैं यस्तै भयो । संस्थाले भात खुवाएको छ। एक छाक मासु छ। आफ्नो-आफ्नो परिवारले पकाएर पनि खान मिल्छ,’ बोडेको होल्डिङ सेन्टरमा बसिरहेका राजकुमार माझीले भने, ‘यहाँ करिब ७०–८० जना बसिरहेको छौँ ।’ उनका दुई जनाको परिवार होल्डिङ सेन्टरमा बसेका छन् ।

‘पहिलाको जस्तो दसैं भएन। आफ्नो बस्ने बासै छैन,’ उनले भने । घर नहुँदाको पीडाले उनीहरूको दसैंको खुसीलाई छोपेको गुनासो गरे ।

बोडेकै होल्डिङ सेन्टरमा रहेका निरज थापाको गुनासो सरकारसँग छ । सरकारले आफूहरूको समस्याप्रति चासो नसदिएकोमा महसुस उनीहरूले गरेका छन् ।

‘सरकारले वास्ता गरेको छैन। संस्थाले खान दिएको छ,’ उनले भने। उनको ७ जनाको परिवार छ । खानेपानी र दैनिक आवश्यकताका लागि पानीको अभाव हुँदा होल्डिङ सेन्टरको बसाइ थप कठिन बनेको उनीहरूले बताएका छन् ।

‘दसैंमा बच्चाले नयाँ लुगा खोजेको छ तर किन्न सकेको छैन । बच्चाको लुगा छैन,’ उनले भने ।

बोडेकै होल्डिङ सेन्टरमै बसिरहेकी ग्रिवाणिका थापा यसपालिको दसैं भन्दा पनि दशा बनेको बताउँछिन् ।

‘दसैं बिजोग छ। दसैं होइन, दशा हो । आफ्नो बस्ने बास भएको भए पो रमाइलो हुने थियो,’ उनले भनिन् ‘दसैं लागेको छ । तर पर्व मनाउने उत्साहभन्दा अभावको चिन्ता बढी छ ।’

पहिले आफ्नो बस्ने बास हुँदा अरूको घरमा काम गरेर भए पनि बच्चालाई नयाँ लुगा किनिदिने गरेको बताइन् ।

‘अरूको घरमा काम गरेर पनि बच्चालाई नयाँ लुगा किन्न हुन्थ्यो यहाँ काम पनि छैन,’ उनले भनिन् ।

दसैंमा नयाँ लुगा लगाउने, मीठो खाने र परिवारसँग रमाउने हो । तर खरिपाटी र बोडेका होल्डिङ सेन्टरमा बसिरहेका सुमुमवासी विस्थापितहरूले खुसीसाथ दसैं मनाउन पाएका छैनन् । उनीहरू सबैको एउटै माग छ, ‘आफ्नो बस्ने बास होस् ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?