+

विराटनगर किङ्सको मोबाइल एप सार्वजनिक

२०८३ कात्तिक  ८ गते १२:१३ २०८३ कात्तिक ८ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किङ्सले समर्थकलाई टोलीसँग डिजिटल रूपमा जोड्न आधिकारिक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको छ।
  • एपमा प्रत्यक्ष अपडेट, नतिजा अनुमान, प्रतियोगिता, रिवार्ड प्वाइन्ट र आधिकारिक जर्सी तथा सामग्री खरिद सुविधा राखिएको छ।
  • टोलीले ‘भेरिफाइड फ्यान’ कार्यक्रममार्फत सयौँ प्रयोगकर्तालाई जर्सी र खानाका भौचर दिने योजना सार्वजनिक गरेको छ।

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले समर्थकलाई डिजिटल माध्यमबाट टोलीसँग जोड्ने उद्देश्यले आधिकारिक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको छ।

एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने एपमा खेलको प्रत्यक्ष अपडेट, नतिजाको अनुमान, विभिन्न प्रतियोगिता, रिवार्ड प्वाइन्ट तथा टोलीका आधिकारिक जर्सी र अन्य सामग्री खरिद गर्न सकिने सुविधा राखिएको छ। आईओएस प्रयोगकर्ताका लागि पनि एप चाँडै उपलब्ध गराउने टोलीले जनाएको छ।

एपमा समावेश ‘म्याचडे सेन्टर’मार्फत समर्थकले खेल तालिका, नतिजा र खेलका प्रमुख गतिविधिबारे जानकारी पाउन सक्नेछन्। यसमा खेलका तस्बिर हेर्नुका साथै खेल, प्रतियोगिता र आफूले गरेका अर्डरसम्बन्धी सूचना प्राप्त गर्न सकिनेछ।

त्यस्तै, ‘फ्यान जोन’मा समर्थकले टोलीलाई समर्थन गर्दै सन्देश पठाउन, खेल हेर्दाका तस्बिर साझा गर्न र अन्य समर्थकका प्रतिक्रिया हेर्न सक्नेछन्। यस सुविधाले देशभरका समर्थकलाई एउटै डिजिटल समुदायमा जोड्ने टोलीको अपेक्षा छ।

एपको ‘प्रेडिक्ट एन्ड विन’ सुविधामार्फत समर्थकले खेलको नतिजा तथा महत्त्वपूर्ण घटनाबारे अनुमान गरेर पुरस्कार जित्ने अवसर पाउनेछन्। यसबाहेक टोलीले विभिन्न फ्यान प्रतियोगितासमेत सञ्चालन गर्ने जनाएको छ।

एपमा क्रिकेटसम्बन्धी मिनी गेम र दैनिक हिँडाइका आधारमा प्वाइन्ट कमाउन सकिने सुविधा पनि छ। ‘डेली स्टेप च्यालेन्ज’ अन्तर्गत प्रयोगकर्ताले दैनिक १० हजार पाइला हिँड्ने लक्ष्य पूरा गरेर अतिरिक्त प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।

खेल, नतिजाको अनुमान र अन्य गतिविधिमा सहभागी भएर जम्मा हुने प्वाइन्टका आधारमा समर्थकले ब्रन्ज, सिल्भर, गोल्ड र प्लाटिनम गरी चार तहमा आफ्नो स्तर बढाउन सक्नेछन्। प्रत्येक तहअनुसार पुरस्कार तथा अन्य सुविधा उपलब्ध गराइने टोलीले जनाएको छ।

एपमा रहेको अनलाइन पसलबाट विराटनगर किङ्सका आधिकारिक जर्सी तथा अन्य सामग्री खरिद गर्न सकिन्छ। समर्थकले आफ्नो नाम र रोजेको नम्बर राखेर जर्सीलाई व्यक्तिगत स्वरूप दिन सक्नेछन्। जर्सी खरिद गर्दा नगद भुक्तानी (क्यास अन डेलिभरी) वा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ। अर्डरको अवस्था पनि एपबाटै हेर्न मिल्ने सुविधा छ।

एपमा टोलीका समाचार, खेलाडीका कथा तथा अन्य गतिविधिसम्बन्धी जानकारीसमेत उपलब्ध हुनेछ। प्रयोगकर्ताले गुगल, एप्पल वा इमेलमार्फत लगइन गरी आफ्नो प्रोफाइल र सूचना व्यवस्थापन गर्न सक्नेछन्।

एप सार्वजनिक गरेको अवसरमा विराटनगर किङ्सले ‘भेरिफाइड फ्यान’ कार्यक्रममार्फत सयौँ प्रयोगकर्तालाई जर्सी र खानाका भौचर उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेको छ। यसका लागि समर्थकले एपको आधिकारिक समुदायमा आबद्ध भएर आफ्नो खाता प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि उनीहरूले विभिन्न प्रचारात्मक गतिविधिमा सहभागी भई पुरस्कार जित्ने अवसर पाउनेछन्।

बेटा संस्करण सार्वजनिक गरेको विराटनगर किङ्सले समर्थकको सहभागिता बढाउने, उनीहरूबाट सुझाव लिने र प्राप्त प्रतिक्रियाका आधारमा एपमा थप सुविधा समावेश गर्दै जाने लक्ष्य राखेको छ।

विराटनगर किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय