+
एनपीएल :

‘आईसीसीको पूर्ण सदस्यता लिने हाम्रो अन्तिम लक्ष्य हो’

२०८३ कात्तिक  ८ गते १९:४८ २०८३ कात्तिक ८ गते १९:४८

नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको मलाई लाग्छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजन भोलिदेखि सुरू हुँदैछ, र पारस खड्काले अन्तिम तयारी फिनिसिङ स्टेजमा पुगेको बताए।
  • खड्काका अनुसार एनपीएलमा डीआरएस, पूर्वाधारमा केही परिवर्तन र विश्वका १२ मध्ये १० टेस्ट राष्ट्रका खेलाडीको सहभागिता हुनेछ।
  • उनले एनपीएललाई आर्थिक रूपमा दिगो बनाउँदै २५ हजार क्षमताको सुविधासम्पन्न क्रिकेट स्टेडियमको खाँचो टड्कारो भएको उल्लेख गरे।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको भोलिबाट सुरू हुँदैछ । तेस्रो सिजनको यो प्रतियोगता कस्तो हुनेछ ? यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कासँग अनलाइनखबरका गोविन्दराज नेपालले गरेको कुराकानी :

एनपीएलको तेस्रो सिजन सुरु हुन अब एक दिन मात्र बाँकी छ। आज अन्तिम तयारीबारे पत्रकार सम्मेलन पनि भयो। यतिबेला ठ्याक्कै तपाईंको मनमा एनपीएललाई लिएर के खेलिरहेको छ?

होइन, अन्तिम तयारी अझै बाँकी नै छ। अहिले फिनिसिङ स्टेज (अन्तिम रूप दिने काम) चलिरहेको छ। तर, सबैको साथ र सहयोग पाएका छौँ। चारैतिर क्रिकेटको माया र चर्चा छ। टिम ओनरहरूले ठूलो छाती बनाएर अन्तर्राष्ट्रिय स्तरका ठूला-ठूला खेलाडीहरू भित्र्याउनुभएको छ।

क्रिकेट संघले पनि यसलाई अझै व्यवस्थित गर्नुपर्छ भनेर निरन्तर प्रयास गर्दै अगाडि बढिरहेको छ।

नेपाल क्रिकेटले जुन माया पाएको छ, एनपीएल त्यसैको एउटा प्रतिफल हो। भोलिदेखि प्रतियोगिता सुरु हुँदैछ। आशा छ, जसरी अघिल्ला दुई संस्करण भव्य रूपमा सम्पन्न भए, तेस्रो संस्करणलाई पनि त्यसरी नै सफल बनाउन सकौँ।

तेस्रो सिजनसम्म आइपुग्दा आईसीसीको आधिकारिक मान्यता र डीआरएस प्रविधिसमेत भित्रिएको छ। यी त दर्शकहरूले प्रत्यक्ष देख्ने कुरा भइहाले। यी बाहेक तेस्रो सिजनको एनपीएलमा अरू के-कस्ता नयाँ र फरक कुराहरू छन्?

फरक त, अब इन्फ्रास्ट्रक्चर (पूर्वाधार) मा पनि केही न केही परिवर्तन ल्याएका छौँ। फरक भनेकै ठूला-ठूला खेलाडीहरूको सहभागिता हो।

अब डीआरएसपनि हुँदैछ, जसले बलरहरूको गति र खेललाई अझ रोमाञ्चक बनाउनेछ। डीआरएसलाई लिएर अहिले अलि चर्चा पनि छ, यसलाई हामीले राम्ररी इन्टिग्रेट गर्ने प्रयास गरेका छौँ।

तर, जुन हिसाबले खेलको ग्रोथ भएको छ र मानिसहरूको अपेक्षा छ, त्यसलाई व्यवस्थापन गर्न त्यति सहज छैन। क्रिकेट संघसँगै मिडिया, स्पोर्ट्स मिडिया, विभिन्न क्षेत्रका निकायहरू र देशका सबै सरोकारवालाहरू ग्राउन्डमा आएर म्याच हेर्नेदेखि लिएर विभिन्न प्रबन्ध मिलाउने प्रयास हामीले गरेका छौँ।

सबै कुरालाई जोडेर हेर्दा, अहिलेको लागि हाम्रो सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सबैको साथ हो। यद्यपि, सबैको अपेक्षाअनुसार कतिपय कुराहरू सोचेजस्तो सजिलो पनि नहोला।

तर अहिलेका लागि डीआरएस लगायत जे जति नयाँ प्रविधिहरू छन्, ती सबैबारे हामीले आधिकारिक रूपमा जानकारी गराइसकेका छौँ। मेरो विचारमा सबैभन्दा एक्साइटिङ पार्ट भनेको उत्कृष्ट खेलाडीहरू र राम्रो स्तरको क्रिकेट नै हो।

यहाँले ‘बेटर प्लेयर’ भन्नुभयो; जस्तै— आन्द्रे रसेल, डेभिड मिलर, डेभिड वार्नर, साकिब अल हसन, जिमी निसम जस्ता खेलाडीहरू, जिन्हें हामीले अहिलेसम्म टेलिभिजनमा मात्रै हेथ्र्यौं, अब तिनै खेलाडीलाई टियु ग्राउन्डमा प्रत्यक्ष हेर्दैछौँ। यहाँले पनि खेल्दा उहाँहरूमध्ये कतिसँग खेल्नुभयो, कितसँग खेल्न पाउनुभएन। धेरैको आइडल (आदर्श) खेलाडीहरू नै यही ग्राउन्डमा आउँदै छन्। यसरी हेर्दा नेपाली क्रिकेटका लागि यो एउटा ठूलै सफलता हो, हैन? यसलाई पूर्वकप्तान र अहिले क्यानको सचिवको भूमिकामा रहँदा कस्तो फिल हुन्छ

सबै जेनेरेसन (पुस्ता) को आ-आफ्नै समयको योगदानले गर्दा आज हामी यो स्टेजसम्म आइपुगेका हौं। त्यसैले, खेल्न पाउने वा नपाउने भन्दा पनि मुख्य कुरा अहिले नेपाल क्रिकेटले जितिरहेको छ भन्ने हो; जसरी भए पनि आखिर खेलको ग्रोथ भइरहेको छ नि!

त्यसैले, व्यक्तिगत रूपमा भन्दा, जबदेखि रिटायर्ड भएँ, मैले खेल जीवन छाडिसकेँ। तर अहिले क्रिकेट संघमा आएर सबैभन्दा खुसी लाग्ने कुरा के हो भने, पहिले क्रिकेटलाई सहयोग गर्ने मानिसहरूको संख्या जति थियो, अहिले त्यो संख्या ह्वात्तै बढेको छ। नेपाली क्रिकेटले साँच्चै कमाएको भनेको यही माया र जनसमर्थन नै हो।

जस्तै, टेस्ट राष्ट्रहरूसँग हामी अब बिस्तारै-बिस्तारै खेल्न थालेका छौँ, हैन ? यहाँ पनि टिमहरू आउँदै छन्, हामी बाहिर पनि खेलिरहेका छौँ। यद्यपि राष्ट्रिय टिमले टेस्ट राष्ट्रहरूसँग तुलनात्मक रूपमा कम खेलेको भए पनि एनपीएलमा चाहिँ विश्वका १२ मध्ये १० वटा टेस्ट राष्ट्रका खेलाडीहरू भोलिबाट यही मैदानमा जम्मा भएर खेल्दै छन् ।

नेपाली क्रिकेटका लागि यो कति ठूलो उपलब्धि हो र यसले नेपाली खेलाडी तथा दर्शकहरूका लागि के अर्थ राख्छ?

यसका लागि हामीले धेरै मेहनत गर्नुपर्यो। प्रतियोगिताको स्वीकृति (स्याङ्क्सन) लिनका लागि पहिलो दुई संस्करण सफलतापूर्वक सम्पन्न गर्नुपर्‍यो। ती सबै प्रक्रिया पूरा गरेपछि आईसीसीले हामीलाई अहिले ग्रिन सिग्नल पनि दिएको छ। त्यसैले, विश्वका उत्कृष्ट खेलाडीहरू आज यहाँ हुनुहुन्छ। नेपाल आफैँ पनि तीनवटा विश्वकप खेलिसकेको राष्ट्र हो, त्यसैले हामीले राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गरिसकेका छौँ। तर फ्रान्चाइज क्रिकेटमा, आफ्नै घरआँगनको लिगमा यस्ता ठूला खेलाडीहरू आउँदा यसले खेलको रौनक अझ बढाएको छ।

यसले टिमहरूप्रतिको ओनरसीप पनि बढाएको छ। मान्छेहरूले ‘म सुदूरपश्चिमको’, ‘म कर्णालीको’, ‘म विराटनगरको’, ‘म काठमाडौँको’ भनेर आफ्नो क्षेत्रको टिमलाई माया गर्न थालेका छन्। जब यस्ता कुराहरू सुन्छौँ, तब लाग्छ— यसले सांस्कृतिक रूपमा पनि देशका विभिन्न प्रदेश र क्षेत्रहरूलाई समेट्ने प्रयास गरेको छ।

नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको मलाई लाग्छ। यति ठूला खेलाडीहरू यहाँ आइसकेपछि, हामी अत्यन्तै कृतज्ञ छौँ कि हामीले उहाँहरूलाई यहाँ ल्याउन सक्यौँ। भनाइ नै छ नि—बिगर द प्लेयर्स, बिगर द लिग !

यो एनपीएलमा स्टार खेलाडीहरूसँगै पैसाको पनि ठूलै कारोबार भइरहेको छ, हैन? फ्रान्चाइजहरूले खेलाडी भित्र्याउन करोडौँ खर्च गरेका छन्। यता क्यानले पनि ब्रोडकास्टिङ राइट्स, टिकट र स्पोन्सरसिपबाट करोडौँ रकम आम्दानी गर्दैछ। अघि भरत कोइरालाज्यूले भन्नुभएजस्तै, करिब ७० देखि ७५ करोड आम्दानी हुने र फ्रान्चाइजहरूको खर्चसमेत जोड्दा डेढ अर्ब हाराहारीको कारोबार हुने कुरा छ। विगतका दुई सिजनमा पनि हामीले अर्ब बराबरको टर्नओभर (कारोबार) देखेकै हौँ।

एनपीएलमा यति ठूलो रकम लगानी तथा कारोबार हुनुले नेपाली खेलकुदलाई कस्तो टेवा पुर्‍याउँछ र यसको अर्थ के रहन्छ?

यो त सुरुआत मात्रै हो। अब यसलाई दिगो बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। धेरै नै उत्साहित नभई, यसलाई आर्थिक रूपमा अझ माथि पुर्‍याउनु अति आवश्यक छ। हामीले राम्रो स्पोन्सरसिप उठाउन सफल भएका छौँ र त्यस्तै मिडिया राइट्स पनि राम्रोसँग बिक्री गर्न सक्यौँ भने टिमहरूले गरेको खर्चको पनि उचित अर्थ लाग्छ।

मेरो विचारमा यो केवल क्रिकेटसँग मात्र सम्बन्धित छैन; यो खेललाई समर्थन गर्ने हरेक इकोसिस्टम, हरेक सरोकारवाला र यो खेलसँग जोडिनुभएको सबैको साथ र सहयोगले गर्दा नै हामी यो स्टेजसम्म आइपुगेका हौँ। आशा छ, हामी यसलाई अझै ग्रो (वृद्धि) गराउने प्रयास गर्नेछौँ।

अहिले पूर्वाधार (इन्फ्रास्ट्रक्चर) एउटा अति महत्त्वपूर्ण पक्ष बनेको छ। कम्तीमा २५ हजार दर्शक क्षमता भएको एउटा सुविधासम्पन्न क्रिकेट स्टेडियम हुनुपर्ने खाँचो टड्कारो भइसकेको छ, किनकि अहिलेको क्षमताले विशेष गरी एनपीएलको माग धान्न पुगिरहेको छैन। सम्भवतः यसलाई बहुउद्देश्यीय रूपमा अन्य विभिन्न ठाउँमा पनि लैजान हामीले प्रयास गर्नुपर्ने हुन्छ। अहिलेलाई इकोनोमिक सस्टेनेबिलिटी राम्रो छ, तर यसलाई निरन्तरता दिनुपर्छ।

खेलकुद क्षेत्रको मात्रै कुरा गर्ने हो भने, यसको आर्थिक प्रभाव भनेको नेपाली खेलकुदका लागि ठूलै रकम हो। तर मलाई लाग्छ, यो भनेको त यहाँबाट अझै माथि उठ्दै जाने कुरा हो। अहिले नै धेरै उत्साहित भइहाल्नुपर्ने स्थिति छैन, किनकि जति रेभिन्यू छ, खर्च पनि त्यत्तिकै छ। त्यसैले, त्यो खर्चलाई पनि व्यवस्थित गर्दै, हामीले जति पैसा जम्मा गर्छौं— त्यो संकलित रकम पुनः जिल्ला र प्रदेशको विकासतर्फ तथा राष्ट्रिय टिमको तयारीका लागि खर्च गरिरहेका छौँ। संक्षेपमा भन्दा, क्रिकेटबाट कमाएको पैसा हामी क्रिकेटकै विकासमा खर्च गरिरहेका छौँ।

तपाईंकै जेनेरेसनका विदेशी खेलाडीहरू आएर खेल्दै छन्, यता नेपालका पनि नयाँ-पुराना खेलाडीहरू छन्। यतिनै बेला तपाईंलाई एउटा ‘सुपरपावर’ दिएर कुनै चमत्कार गर्न दिइयो भने, तपाईं यहाँ के चाहिँ चमत्कार गर्न चाहनुहुन्छ? के फेरि मैदानमा गएर खेल्न चाहनुहुन्छ, वा अरू केही?

होइन, मलाई लाग्छ यो (अहिलेको अवस्था) नै पर्याप्त भन्दा बढी हो! त्यही हो नि, म यसका लागि अति नै कृतज्ञ छु। यो ठाउँमा बसेर नेपाल क्रिकेटलाई साथ दिन, सहयोग गर्न र यसलाई अगाडि बढाउने मौका पाएको छु। फेरि खेल्ने इच्छा त, जुन दिन रिटायर्ड भएँ, त्यो दिन नै सकिसकेको थियो।

तर, अब खेल्ने भन्दा पनि ‘खेलाउने’ र यो देशका साना-साना भाइबहिनीहरूले ब्याट र बल बोकेर हिँड्दै क्रिकेट क्षेत्रमा लागेर आफ्नो भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने दरिलो आधार बनाउने कुरा मुख्य हो। त्यसैका लागि हामी क्रिकेट संघका सबैजना ज्यान दिएर लागिपरेका छौँ।

भविष्यमा हामी सबैको सपना भनेको आईसीसीको ‘फुल मेम्बर्सिप’ (पूर्ण सदस्यता) प्राप्त गर्नु हो। टेस्ट क्रिकेटको आफ्नै परिभाषा होला, तर नेपाललाई ‘फुल मेम्बर’ बनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। र, यही नै आगामी दिनमा हाम्रो लागि अन्तिम लक्ष्य हुनेछ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय