+
+
Shares
ब्लग :

एनपीएल : हिमालयको काखबाट नेपालको गौरव

विश्वका नामी खेलाडीहरूको जमघट र डीआरएस प्रविधिको प्रयोगले एनपीएललाई विश्वस्तरीय बनाएको छ। एनपीएल खेलको उत्सव मात्र होइन, यो नेपालको पर्यटन, संस्कृति र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त आधार पनि हो।

मिङमा डण्डु शेर्पा मिङमा डण्डु शेर्पा
२०८३ कात्तिक ९ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले नेपाल प्रिमियर लिगलाई आधिकारिक ‘लिस्ट ए’ टी–२० मान्यता दिएको छ, जसले खेल अभिलेखलाई विश्वस्तरमै आधिकारिकता दिएको छ।
  • एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग भएको छ, जसलाई नेपाली क्रिकेटको ऐतिहासिक फड्को भनिएको छ।
  • डेभिड मिलर, आन्द्रे रसेल, शाकिब अल हसन, डेभिड वार्नरलगायत चर्चित खेलाडी एनपीएलमा सहभागी भएका छन्।

हिमालका शिरमणि सगरमाथाजस्तै उत्तुङ्ग हाम्रो स्वाभिमान, अविचल हाम्रो गौरव र नेपाली माटोजस्तै प्राणवान् हाम्रो अस्मिता। यिनै अमूल्य भावनालाई विश्व क्रिकेटको भव्य रङ्गमञ्चमा गुञ्जायमान बनाउने सशक्त माध्यम बन्दै छ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एनपीएललाई आधिकारिक ‘लिस्ट ए’ टी–२० को मान्यता प्रदान गरेको छ। यो उपलब्धि नेपाली क्रिकेटको इतिहासमा स्वर्णाक्षरले लेखिने क्षण हो। यस मान्यताले एनपीएलमा खेलिएका खेलहरूको अभिलेखलाई विश्वस्तरमै आधिकारिकता दिएको छ।

साथै, लिगको गुणस्तर, पारदर्शिता र व्यावसायिक व्यवस्थापनमाथि विश्वव्यापी विश्वास स्थापित गर्दै यसलाई विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूको पङ्क्तिमा उभ्याएको छ। खेलाडीका लागि यो मान्यता आफ्नो प्रदर्शनलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त अभिलेखमा सुरक्षित गर्ने सुनौलो अवसर पनि हो।

नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक एनपीएलको तेस्रो संस्करणमा ‘डीआरएस’ प्रविधिको प्रवेश भएको छ। यो नेपाली क्रिकेटलाई विश्वस्तरीय बनाउने दिशामा चालिएको ऐतिहासिक फड्को हो। यो केवल प्रविधिको प्रयोग होइन, निष्पक्षता र आधुनिकताको नयाँ अध्याय हो।

डेभिड मिलर, आन्द्रे रसेल, शाकिब अल हसन, डेभिड वार्नर, जिमी निसम, सिकन्दर राजा, रवि बोपारा, इफ्तिखार अहमद, सेरफेन रदरफोर्ड, साहिबजादा फरहान, चरिथ असलांका, मेहदी हसनलगायत विश्व क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय सम्भावनालाई गौरवका साथ उजागर गरेको छ।

फेस्टिभल अफ हिमालयाज

एनपीएल एउटा क्रिकेट प्रतियोगिता मात्र होइन। यो नेपालको प्राकृतिक वैभव, सांस्कृतिक गरिमा, पर्यटकीय सम्भावना र राष्ट्रिय अस्मितालाई विश्वसामु प्रतिष्ठित गर्ने महत्त्वपूर्ण मञ्च हो। विश्वस्तरीय खेलाडीहरू नेपाली मैदानमा ओर्लनु, नेपाली प्रतिभासँग प्रतिस्पर्धा गर्नु र अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा नेपालको नाम गुञ्जायमान हुनु आफैँमा गौरवको विषय हो।

एनपीएल केवल खेलको उत्सव मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त आधार पनि हो। विश्वका नामी खेलाडी, प्रशिक्षक, प्रसारणकर्मी र हजारौँ दर्शकको आगमनले होटेल, यातायात, रेस्टुरेन्ट, पर्यटन र स्थानीय व्यवसायमा नयाँ जीवन्तता भरिदिएको छ। प्रसारण, विज्ञापन, प्रायोजन र सहायक सेवाले रोजगारीका नयाँ अवसर सिर्जना गर्दै युवाको आयआर्जन र उद्यमशीलतालाई प्रोत्साहन दिएको छ।

आईसीसीको मान्यताले अब लगानीकर्ता, प्रायोजक र प्रसारण साझेदारको भरोसा झन् बलियो बनाउनेछ। ‘फेस्टिभल अफ हिमालयाज’ को छवि विश्वभर प्रसारित हुँदा नेपाल पर्यटकीय गन्तव्यका रूपमा थप आकर्षक बन्दै छ। खेल, पर्यटन र अर्थतन्त्रबीचको यो सुमधुर सम्बन्धले समृद्ध नेपालको परिकल्पनालाई सुदृढ आधार प्रदान गरेको छ।

एनपीएलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सशक्त पहिचान स्थापित गरेको छ। छोटो समयमै यस उचाइसम्म पुग्नुमा व्यवस्थापकीय नेतृत्वले देखाएको दूरदृष्टि र चालेका कदमको ठूलो भूमिका रहेको छ, जुन अत्यन्तै प्रशंसनीय छ।

कुनै पनि राष्ट्रको खेलकुद विकास प्रतिभाले मात्र सम्भव हुँदैन। त्यसका लागि दूरदृष्टि, संस्थागत प्रतिबद्धता, व्यावसायिक व्यवस्थापन र निरन्तर साधना अनिवार्य हुन्छ। एनपीएलको विकासले नेपाली क्रिकेटलाई अझ सुव्यवस्थित, प्रतिस्पर्धी र विश्व क्रिकेटसँग आबद्ध बनाउने ढोका खोलेको छ।

यही सफलतालाई आधार बनाई अब घरेलु क्रिकेटको दिगो विकासतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। त्यसका लागि ग्रासरुट क्रिकेटको सुदृढीकरण, प्राविधिक जनशक्तिको उत्पादन, प्रदेश तथा जिल्लाहरूमा क्रिकेट गतिविधिको व्यापक विस्तार र पूर्वाधार विकासमा जोड दिनुपर्छ।

राष्ट्रको गौरव केवल अतीतको गाथामा सीमित हुँदैन, वर्तमानका उपलब्धि र भविष्यका सम्भावनाबाट पनि निर्माण हुन्छ। एनपीएल त्यही सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण अवसर हो।

हाम्रो अपेक्षा छ- एनपीएलले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गरोस्, युवाका सपनालाई उडानका पखेटा प्रदान गरोस्, पर्यटन र अर्थतन्त्रलाई टेवा पुर्‍याओस् र विश्व क्रिकेटको मानचित्रमा नेपालको उपस्थितिलाई अझ सशक्त बनाओस्।

नेपाली क्रिकेटको उन्नति नै राष्ट्रको प्रतिष्ठा हो। हिमालयको काखबाट नेपालको गौरव विश्वभर गुञ्जिरहोस् !

(लेखक मिङमा डण्डु शेर्पा प्रादेशिक क्रिकेट सङ्घ, कोशी प्रदेशका पूर्वअध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?