News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका गर्दै मतगणना र समयसीमा विस्तार असामान्य भएको बताए ।
- ट्रम्पले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै पनि निर्वाचन प्रक्रिया खराब देखिएको टिप्पणी गरे ।
- ब्राजिलको राष्ट्रपति निर्वाचनमा ८० वर्षीय वामपन्थी नेता लुला दा सिल्भा चौथोपटक झिनो मतान्तरले निर्वाचित भएका छन् ।
१० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका गरेका छन् । उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाप्रति आफ्नो राम्रो सम्बन्ध रहेको बताए पनि निर्वाचन प्रक्रिया भने खराब देखिएको टिप्पणी गरेका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कुनै उम्मेदवारको पक्ष नलिएको दाबी गरे । तर, निर्वाचनको प्रक्रिया हेर्दा धाँधली भएको जस्तो देखिएको उनको भनाइ थियो । ‘मलाई यो सबै निकै खराब लाग्यो । मैले कसैको पक्ष लिएको थिइनँ । तर, यो अर्को धाँधली भएको निर्वाचनजस्तो देखियो,’ ट्रम्पले भने ।
उनले मतगणना गर्ने तरिका र निर्वाचनको समयसीमा थपिएको विषयमा पनि प्रश्न उठाए । मतगणना र समयसीमा विस्तारको घटनाक्रम असामान्य देखिएको भन्दै उनले निर्वाचनमा अनियमितता भएको आरोप लगाए ।
‘मलाई लुला मन पर्छ । उनीसँग मेरो सम्बन्ध निकै राम्रो छ । तर, निर्वाचनको सम्पूर्ण घटनाक्रम निकै खराब देखियो,’ ट्रम्पले भने ।
उनले ब्राजिल आफ्नो जिम्मेवारीको देश नभएको उल्लेख गर्दै आफू अमेरिकाको शासन सञ्चालनमा केन्द्रित रहेको पनि बताए ।
ब्राजिलको राष्ट्रपति निर्वाचनमा ८० वर्षीय वामपन्थी नेता लुला दा सिल्भा चौथोपटक निर्वाचित भएका छन् । उनले लिबरल पार्टीका नेता तथा कट्टर दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेको विवरणमा उल्लेख छ ।
निर्वाचनमा धाँधली भएको आशंकालाई बल पुग्ने खालका प्रमाण भने सार्वजनिक भएका छैनन् ।
प्रतिक्रिया 4