+
एनपीएल २०२६ :

पोखराको लक्ष्य विजयी सुरुवात, सुदूरपश्चिम पुनरागमनको खोजीमा

२०८३ कात्तिक  ११ गते ८:११ २०८३ कात्तिक ११ गते ८:११

पोखरा यसपटक सुरुवातदेखि नै लय समात्ने लक्ष्यमा हुनेछ। अर्कोतर्फ, पहिलो खेलमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम हारबाट माथि उठ्दै प्रतियोगितामा फर्कन चाहन्छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भिड्दैछन्।
  • पोखराले यस सिजन पहिलो खेल खेल्दै प्लेअफ लक्ष्यसहित सुरु गर्न चाहन्छ भने सुदूरपश्चिम पहिलो खेलको हारपछि पुनरागमन खोज्दैछ।
  • सुदूरपश्चिमले उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले हार्दा ८७ रनमै समेटिएको थियो।
  • अघिल्ला दुई सिजनमा भएका दुवै भेटमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो।

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। पोखराले यस सिजन पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम उद्घाटन खेलमै लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

अघिल्ला दुई संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा यसपटक सुरुवातदेखि नै लय समात्ने लक्ष्यमा हुनेछ। अर्कोतर्फ, पहिलो खेलमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम हारबाट माथि उठ्दै प्रतियोगितामा फर्कन चाहन्छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजन विदेशी खेलाडीमा ठूलो भरोसा राखेको छ। बंगलादेशका शाकिब अल हसनसहित अनुभवी विदेशी खेलाडी टोलीमा छन्।

सुदूरपश्चिमसँग भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा अनुभवी नेपाली र विदेशी खेलाडीको संयोजन छ। दुवै टोलीका लागि यो खेल अंकतालिकामा अघि बढ्ने मात्र नभई आत्मविश्वास बढाउने अवसर पनि हुनेछ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले ब्याटिङ राम्रो हुन नसकेको र आगामी खेलमा उक्त कमजोरी सुधार्न जरुरी भएको बताएका थिए । सोही अनुरुप सुदूरपश्चिम आज पुनरागमनको खोजीमा हुनेछ ।

पछिल्लो लय र हेड टु हेड

सुदूरपश्चिमले सिजनको पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमै समेटिएको थियो। त्यसैले पोखराविरुद्ध ब्याटिङमा सुधार गर्नु टोलीको प्राथमिकता हुनेछ।

पोखराले भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्न लागेको हो। अघिल्ला दुई सिजनमा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन। पहिलो सिजन सातौँ र दोस्रो सिजन पाँचौँ स्थानमा रहेको पोखरा यसपटक सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै प्लेअफ पुग्ने लक्ष्यमा हुनेछ।

हेड टु हेडमा भने सुदूरपश्चिम अघि छ। एनपीएलका अघिल्ला दुई सिजनमा भएका दुवै भेटमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो। पहिलो सिजन सुदूरपश्चिम पाँच रनले विजयी भएको थियो भने दोस्रो सिजन १८ रनको जित निकालेको थियो।

यसपटक पोखरालाई पुरानो नतिजा बदल्ने अवसर हुनेछ।

टिम कम्बिनेसन र सम्भावित ११

पोखराले यस सिजन तीन बंगलादेशी र तीन श्रीलंकाली खेलाडी अनुबन्ध गरेको छ। तीमध्ये शाकिब अल हसन टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडीमध्ये एक हुन्। कप्तान कुशल भुर्तेल र दिनेश खरेलले शीर्षक्रम सम्हाल्ने सम्भावना छ। अर्जुन कुमाल पनि शीर्षक्रमका विकल्प हुन्।

मध्यक्रममा अर्जुन घर्ती, किरण ठगुन्ना, शाकिब, धनन्जय लक्षण र महेदी हसन विकल्पका रूपमा छन्। तल्लो क्रममा चमिका करुणारत्ने र मोहम्मद सैफुद्दिनले ब्याटिङमा योगदान दिन सक्छन्। बलिङमा आकाश चन्द, बिपिन खत्री र सागर ढकाललगायतका विकल्प छन्। विदेशी खेलाडीको छनोट र ब्याटिङ–बलिङ सन्तुलन पोखराका लागि महत्त्वपूर्ण हुनेछ।

सुदूरपश्चिमको टोलीमा शीर्षक्रममा विनोद भण्डारी, सेफ जैब र आरिफ शेख रहने सम्भावना छ। मध्यक्रममा कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन, इशान पान्डे र शेरफन रदरफोर्डले जिम्मेवारी सम्हाल्न सक्छन्। तल्लोक्रममा स्कट कुगेलेइन, हेमन्त धामी, अनिल खरेल र अविनाश बोहराको विकल्प छ।

सुदूरपश्चिमसँग बलिङका पर्याप्त विकल्प भएकाले अतिरिक्त ब्याटरका रूपमा दीपक बोहरालाई खेलाउने सम्भावना पनि रहन्छ। तर, फेबियन एलेन टोलीमा आइपुगेका छन् वा छैनन् भन्ने अवस्थाले विदेशी खेलाडीको संयोजनमा प्रभाव पार्न सक्छ। उनी उपलब्ध नभए सुदूरपश्चिमले पहिलो खेलकै विदेशी खेलाडीलाई निरन्तरता दिन सक्नेछ।

पोखराको सम्भावित ११: कुशल भुर्तेल, दिनेश खरेल, अर्जुन कुमाल, अर्जुन घर्ती, किरण ठगुन्ना, शाकिब अल हसन, महेदी हसन/मोहम्मद सैफुद्दिन, धनन्जय लक्षण, चमिका करुणारत्ने, आकाश चन्द र बिपिन खत्री

सुदूरपश्चिमको सम्भावित ११: विनोद भण्डारी, सेफ जैब, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन, इशान पान्डे, शेरफन रदरफोर्ड, स्कट कुगेलेइन, हेमन्त धामी, अनिल खरेल र अविनाश बोहरा

प्लेयर्स टु वाच

पोखराका कप्तान कुशल भुर्तेल टोलीका प्रमुख ब्याटर हुन्। शीर्षक्रममा आक्रामक सुरुवात दिलाउन सक्ने उनको प्रदर्शनले पोखराको इनिङको दिशा तय गर्न सक्छ। पहिलो खेलमै राम्रो सुरुवात गर्ने लक्ष्यमा रहेको पोखराले कुशलबाट जिम्मेवार र प्रभावकारी ब्याटिङको अपेक्षा गर्नेछ।

यस्तै बंगलादेशका अनुभवी अलराउन्डर शाकिब पोखराका प्रमुख आकर्षण हुन्। ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने उनको अनुभव टोलीका लागि महत्त्वपूर्ण हुनेछ। मध्यक्रममा रन बनाउने र आवश्यक समयमा विकेट निकाल्ने जिम्मेवारीले शाकिबको भूमिका अझ महत्त्वपूर्ण बनाउन सक्छ।

यता नेपाली टी-२०आई राष्ट्रिय टोली तथा सुदूरपश्चिमका कप्तान दीपेन्द्र टोलीका मुख्य आधार हुन्। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिन सक्ने उनी पहिलो खेलको हारपछि टोलीलाई सम्हाल्ने जिम्मेवारीमा हुनेछन्। पोखराविरुद्ध उनको प्रदर्शन सुदूरपश्चिमका लागि निर्णायक हुन सक्छ।

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्ड मध्यक्रममा तीव्र गतिमा रन बनाउन सक्ने खेलाडी हुन्। सुदूरपश्चिमले पहिलो खेलमा अपेक्षित रन बनाउन नसकेपछि रदरफोर्डको ब्याटिङ महत्त्वपूर्ण हुनेछ। उनले लामो इनिङ खेल्न सके टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन वा लक्ष्य पछ्याउन सहजता पाउन सक्छ।

***

खेल : पोखरा एभेन्जर्स भर्सेस् सुदूरपश्चिम रोयल्स, म्याच ४
मिति र समय : कात्तिक ११, साँझ ५ बजेदेखि
स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
मौसम : बादलले ढाकिएको आकाश

एनपीएल २०२६ पोखरा एभेन्जर्स सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय