+
+
Shares

श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च

पत्रमा श्रम ऐन २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चबापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम तथा रोजगार कार्यालय बुटवलको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले २ सय ४० कर्मचारीलाई चाडपर्व खर्च भुक्तानी गरेको छ ।
  • अस्पतालले ९ कात्तिकमा २९ असोजदेखि एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम भुक्तानी गरिसकेको बताउँदै विवरण श्रम कार्यालयमा पेस गरेको छ ।
  • अस्पतालले २४० कर्मचारीको सेवा सुविधा सहित ४२ लाख ५४ हजार रुपैयाँ बराबर भुक्तानीको बैंकिङ प्रमाण पनि पेस गरेको छ ।

११ कात्तिक, काठमाडौं । श्रम तथा रोजगार कार्यालयको निर्देशनपछि रुपन्देही बुटवलस्थित गैरनाफामुखी संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कर्मचारीलाई चाडबाड खर्च उपलब्ध गराएको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको सचिवालयका अनुसार अस्पतालमा कार्यरत श्रमिकले चाडपर्व खर्च नपाएको भन्दै गुनासो गरेका थिए ।

त्यसैका आधारमा श्रम तथा रोजगार कार्यालय बुटवलले ३० असोज २०८३ मा अस्पताललाई पत्र पठाउँदै श्रमिकहरूको चाडपर्व खर्च भुक्तानी गर्न निर्देशन दिएको थियो । त्यसपछि २ सय ४०   कर्मचारीले चाडपर्व खर्च प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

पत्रमा श्रम ऐन २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चबापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो ।

साथै, एक वर्ष सेवा अवधि पूरा नभएका श्रमिकका हकमा निजले गरेको सेवा अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको पत्रमा उल्लेख थियो ।

अस्पतालले आफ्ना कर्मचारीलाई यस वर्षको चाडपर्व (दसैं) खर्च भुक्तानी गरेपछि त्यसको विवरण श्रम तथा रोजगार कार्यालय बुटवललाई  पेस गरेको छ ।

श्रम कार्यालयको पत्रको जवाफ दिँदै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ९ कात्तिकमा २ सय ४० कर्मचारीलाई २९ असोजदेखि नै एक महिनाको आधारभूत पारिश्रमिक बराबर चाडपर्व खर्चबापत रकम भुक्तानी गरिसकेको बताएको हो ।

२४० कर्मचारीको  सेवा सुविधा सहित ४२  लाख ५४ हजार रुपैयाँ बराबर भुक्तानी गरेको प्रमाण समेत अस्पतालले पेस गरेको छ ।

अस्पतालले भुक्तानीको पुष्टि स्वरूप बैंकिङ कारोबारका प्रमाणित सूचीसमेत श्रम कार्यालयमा पेस गरेको छ । अस्पताल प्रशासनका अनुसार गैरनाफामुखी रूपमा सञ्चालित यस स्वास्थ्य संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीका हक र सुविधाप्रति प्रतिबद्ध रहँदै समयमै भुक्तानी प्रक्रिया सम्पन्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?