+
+
Shares
अनुसन्धान :

सुनसरीमा भेटियो करोडौँ वर्षको उद्विकासको कथा बोकेको ‘पानी बेसारे’

सुनसरीस्थित चारकोसे जङ्गलमा पाइने बेसारजस्तो देखिने वनस्पति ‘पानी बेसारे’ नेपालकै लागि नयाँ वंशको भएको पुष्टि भएको छ। करोडौँ वर्ष पुरानो महादेशीय विस्थापन र उद्विकासको कथा बोकेको यसको अनौठो विस्फोटक परागण प्रणाली र औषधीय गुणले नेपाली वनस्पति विज्ञानमा नयाँ बहस सिर्जना गरेको छ।

कमल मादेन कमल मादेन
२०८३ कात्तिक ११ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको चारकोसे जङ्गलमा फेला परेको ‘प्याकिङ लिफ’ वनस्पति नेपालका लागि फ्रिनियम वंशको नयाँ प्रजाति भएको पुष्टि भएको छ।
  • यस वनस्पतिको फ्रिनियम प्लासेन्टारियम नाम गलत ठहरिएपछि सन् २००३ मै यसलाई स्ट्याकिफ्रिनियम वंशमा सारिएको लेखमा उल्लेख छ।
  • लेखमा म्यारान्टेसी परिवारका वनस्पतिमा विस्फोटक परागण प्रणाली हुने र यसको पातमा सिरिन्जिक, पी–कौमारिक र रोजमारिनिक एसिड पाइने भनिएको छ।

सुनसरीस्थित चारकोसे जङ्गलको एकाध सिमसार क्षेत्रमा बेसारजस्तो वनस्पति सानो छँदादेखि देख्दै आएको हो। विश्वविद्यालय अध्ययन सकेपछि जैविक विविधताप्रति चासो बढ्यो। त्यो बेसारजस्तो देखिने वनस्पतिको वैज्ञानिक नाम के होला भनेर थाहा पाउन खोजेँ। निकै वर्षदेखि चासो राख्दा पनि पत्तो लगाउन सकेको थिइनँ। वास्तवमा, जब मैले वैज्ञानिक नाम थाहा पाउन त्यसको फूल अध्ययन गर्न चाहेँ, फूल फेला पार्न सकिनँ।

जब–जब खोज्थेँ, यसको पातको कडा डाँठको मध्यभागतिर भएको आँख्लामा फूलको सुरक्षामा पलाउने पात अर्थात् ‘ब्राक्ट’ वा सहपत्रको झुन्ड मात्र भेट्थेँ। ती सहपत्र गुजुल्टिएको देख्थेँ। यस्तो संरचनाका आधारमा विद्युतीय सञ्जालमा खोजतलास गर्दा त्यो वनस्पति ‘म्यारान्टेसी’ परिवारको होला भन्ने अनुमान लगाएको थिएँ।

गत वैशाख महिनामा त्यसको फूल पहिलोपटक देखेँ। यो म्यारान्टेसी वनस्पति परिवारकै रहेछ। संसारभर फूल फुल्ने वनस्पति जम्मा ४१६ परिवारमा विभक्त छन्। तीमध्ये नेपालमा २०० परिवारका वनस्पति पाइएको जानकारी सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल (जिम्नोस्पर्म्स एन्ड एन्जिओस्पर्म्स)’ मा छ।

ती २०० मध्ये म्यारान्टेसी परिवारको एक प्रजाति मात्र सूचीकृत छ। म्यारान्टेसी परिवारका वनस्पति मध्य तथा दक्षिण अमेरिका, अफ्रिका र एसियामा पाइन्छन्। म भने यो वनस्पति परिवारमा केकस्ता वनस्पति हुन्छन् भन्नेमा अनभिज्ञ थिएँ। सुनसरीमा रहेको वनस्पति अध्ययन गर्दा थाहा भयो, यो ‘फ्रिनियम’ वंशको रहेछ। त्यसपछि फ्रिनियम वंशको उद्विकाससम्बन्धी चासो लाग्यो।

फूल फुल्ने वनस्पति करिब १४ करोडदेखि १३ करोड वर्षअघि उद्विकास भएको मानिन्छ। त्यसबेला उद्विकास भएका वनस्पति सबै लोप भए। तिनैबाट स्वरूप परिवर्तन हुँदै अहिलेको वनस्पति उद्विकास भएका हुन्। प्रकृतिमा नयाँ वनस्पति वा जीवका प्रजाति मुख्य रूपमा पहिले भएकै वनस्पति वा जन्तुबाट जलवायु परिवर्तन, उत्परिवर्तन र अनुकूलन  कै कारण उद्विकास हुने गर्दछन्।

अर्को कुरा, पृथ्वीको स्वरूप अहिले जे–जस्तो देखिन्छ, करोडौँ वर्ष पहिले यस्तो थिएन। महादेश, महासागरहरू अहिले रहेको अवस्थामा थिएनन्। यसैले, अहिले अस्तित्वमा रहेका जीव वा तिनका पूर्वजका उद्विकास र विस्तारको सन्दर्भ अहिलेको महादेश, देश तथा द्वीपहरू जहाँ–जहाँ छन्, त्यहीँ नै भएका होइनन्। यसका निम्ति कम्तीमा पनि ८–१० करोड वर्षअघि महादेशहरू, द्वीपहरू कहाँ–कहाँ थिए र कालान्तरमा बहँदै वा सर्दै जाँदा तिनीहरू कहाँ पुगे र अहिले कुन अवस्थामा छन् भन्ने ज्ञात हुनुपर्छ।

अझ दक्षिण एसियाको सन्दर्भमा हिमाल, उच्च पर्वत, चुरे (शिवालिक) शृङ्खला कहिले कसरी बने र त्यहाँ कुन–कुन दिशाबाट जन्तु तथा वनस्पति विस्तार हुँदै आइपुगे भन्ने रोचक सन्दर्भहरू छन्। नेपालमा वनस्पतिहरू उत्तरबाट हिमालय नबन्दै आएका थिए; हिमाल–पहाड बनिसकेपछि पूर्वबाट, दक्षिण र दक्षिणपूर्वबाट फैलिएर आइपुगेका छन्। फूल फुल्ने वनस्पति करिब ३ सय प्रजाति भने नेपालमै बाहिर अझै फेला परेका छैनन्। तिनीहरूमध्ये धेरैचाहिँ अहिलेको नेपालकै भूभागमा उद्विकास भएको हुनुपर्छ।

गोन्डवाना सम्बद्ध वनस्पति

पृथ्वी उत्पत्ति भएपछि यसको स्वरूप परिवर्तन हुँदै गयो। करिब २० करोड वर्षअघि उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, अन्टार्कटिका, दक्षिण एसिया (भारत) र अस्ट्रेलिया एकापसमा जोडिएका थिए। करिब १६ करोड वर्षअघि उत्तर र दक्षिण अमेरिका अलग हुँदै गए। उतिबेला उत्तरतिरका भौगोलिक स्वरूपलाई वैज्ञानिकहरूले ‘लौरेसिया’ र दक्षिणतर्फकोलाई ‘गोन्डवाना’ नाम दिएका छन्।

गोन्डवानाअन्तर्गत करिब १५ करोड वर्षअघि दक्षिण अमेरिका र अफ्रिकासँग अन्टार्कटिका, अस्ट्रेलिया अलग हुन थालेका थिए। यसै क्रममा, करिब ११ करोड वर्षअघि दक्षिण अमेरिका र अफ्रिका अलग भए। करिब ९ करोड वर्षअघि दक्षिण एसिया मदागास्करसँग अलग भएर उत्तरतर्फ बहन सुरु भएको थियो।

करिब १० करोड वर्ष पहिले, फूल फुल्ने वनस्पतिहरूले संसारभर तीव्र गतिमा आफैँलाई फैलाए र पृथ्वीको मुख्य वनस्पति बन्न सफल भए। यसो हुनुको कारण महाद्वीपहरू एकापसमा अलग हुँदै गए। जमिनका भूभागहरू साना–साना टापु र तटवर्ती क्षेत्रहरूमा विभाजित भए। वनस्पतिहरू पहिलेको अवस्थाबाट अलग भएपछि नयाँ वातावरणमा अनुकूलन हुनका लागि तीव्र गतिमा आफ्ना फरक–फरक अनगिन्ती प्रजातिहरू विकसित भए।

म्यारान्टेसी परिवार

म्यारान्टेसी परिवारका वनस्पति दक्षिण अमेरिका र अफ्रिका अलग भइरहँदा अर्थात् करिब ११ करोड वर्षअघि नै उद्विकास भइसकेका थिए। करिब १० करोड वर्षपछि अफ्रिकासँग मदागास्कर, दक्षिण एसिया, अन्टार्कटिका र अस्ट्रेलिया अलग हुने क्रममा थिए। यो परिवारका वनस्पति अस्ट्रेलियामा प्राकृतिक रूपमा फैलिएको देखिन्न।

अफ्रिका र दक्षिण एसियाली भूभागमा यो फैलिसकेको थियो। करिब ९ करोड वर्षअघि दक्षिण एसियाली भूभाग समुद्रबाट बहँदै उत्तरतिर आउँदा म्यारान्टेसी परिवारका पूर्वज बहँदै, रूपान्तरित हुँदै आए। करिब ७ करोडदेखि ५ करोड ६० लाख वर्षअघि दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियाली भूभागमा म्यारान्टेसी परिवार उद्विकास भएको आनुवंशिक अध्ययनले देखाउँछ।

त्यसभन्दा अघि यस परिवारका वनस्पति एउटा ठूलो समूह ‘जिन्जिबेरल्स अर्डर’ अन्तर्गत थिए। यसमा बेसार, अदुवा, केरा र पानी बेसारे अर्थात् ‘प्याकिङ लिफ’ जस्ता वनस्पति समूहहरू समाहित थिए। यसको अर्थ, बेसार, अदुवा, केरा र पानी बेसारेसम्बद्ध परिवारका वनस्पतिका स्वरूपमा उद्विकास भइसकेको थिएन। अर्को कुरा, त्यसबेला अहिलेको दक्षिण एसियाली भूभाग अहिलेको स्थानमा आइपुगेको थिएन।

म्यारान्टेसी परिवारमा जम्मा २७ वंशमा ५५० जति प्रजाति पहिचान भएका छन्। तीमध्ये सबैभन्दा बढी मध्य तथा दक्षिण अमेरिकामा ११ वंश, अफ्रिका र एसियामा ९–९ वंशहरू छन्। केही वंश अमेरिका र अफ्रिका, कुनै अफ्रिका र एसिया र एकाध अमेरिका, अफ्रिका र एसियामा पाइन्छन्।

दक्षिण एसियाको विगत

दक्षिण एसियाली खण्ड अहिलेको साविक ठाउँमा ५ करोड वर्षअघि मात्र आइपुगेको हो। अनि तिब्बत र युरोप जोडिएको भूभाग जसलाई ‘युरेसिया प्लेट’ भन्छौँ, त्यससँग जुधाजुध गर्न थाल्दा सबैभन्दा पहिले उच्च हिमाल र त्यसपछि करिब २ करोड वर्षअघिसम्म महाभारत पर्वतशृङ्खला बिस्तारै माथि उठ्न थाल्यो। तर, २ करोड वर्षअघिसम्म हिमाल र महाभारत पर्वतशृङ्खला आजको जस्तो अग्लो थिएनन्।

करिब १ करोड ५० लाखदेखि ५० लाख वर्ष पहिले हिमाल र महाभारत पर्वतशृङ्खलाबाट बगेर आएका नदीहरूले थुपारेका गेग्रान, ढुङ्गा, बालुवा थुप्रिँदै गएर चुरे शृङ्खला बन्न थाल्यो। चुरेलाई शिवालिक पनि भनिन्छ।

यसै क्रममा भित्री मधेस (दुन उपत्यकाहरू) बने। यसका प्रमाण यो क्षेत्रमा पाइने जीवाश्मका आयुबाट थाहा पाइन्छ। चुरे क्षेत्र बन्नुअघि त्यहाँ पानी थियो भन्ने कुरा त्यहाँ पाइने गोही, जलगैँडा (हिप्पो) आदिका जीवाश्मबाट पुष्टि हुन्छ।

यस्तै, पानी पुरिएपछि सुरुमा घाँसेमैदान बनेका थिए। त्यहाँ जेब्रा, गैँडा, हात्ती आदि विचरण गर्थे। चुरे क्षेत्रबाट लोप भएका जेब्रा, गैँडा, हात्तीका जीवाश्म फेला परेका छन्।

खुर्सानी, आलु, मकै, फर्सी, टमाटरलगायत धेरैजसो वनस्पति दक्षिण अमेरिकामा उद्विकास भएका हुन्। धान चीनको याङ्जे नदी उपत्यकामा खेती सुरु गरिएको थियो। गहुँ दक्षिणपश्चिम एसियामा खेती सुरु भएको हो। हातको औँलाजस्तो बाला हुने कोदो अफ्रिकामा उद्विकास भएको हो। फ्याउरोको पुच्छरजस्तो हुने कोदो वा कागुनो चीनको येल्लो रिभर भ्यालीतिर उद्विकास भएको हो।

दक्षिणपूर्व एसियामा प्रवेश

भारतीय प्लेट अर्थात् दक्षिण एसियाली भूभाग एसियाभित्र अझ बढी धकेलिँदै जाँदा, यसले दक्षिण–पूर्वी एसियाका महाद्वीपीय खण्डहरूलाई घुम्न र खुम्चिन बाध्य बनायो भन्ने भूगर्भविद्हरूको ठहर छ। करिब २ करोडदेखि डेढ करोड वर्ष पहिल्येसम्म आइपुग्दा, दक्षिण एसियाको मुख्य भूमि दक्षिण–पूर्वी एसिया (इन्डोचाइना) लाई उत्तर–पूर्वी भारतसँग सिधा जोड्ने एउटा निरन्तर स्थलमार्ग (ल्यान्ड ब्रिज) र साझा उष्णकटिबन्धीय जलवायु क्षेत्र निर्माण हुन पुगेछ।

यसरी, दक्षिण एसियामा हिमालय पर्वतको उत्थान भयो, जसले एसियाली मनसुन प्रणालीको सुरुवात गर्‍यो। मनसुन पहिलो चरणमा करिब २ करोड ४० लाख वर्ष पहिले सुरु भएको अनुमान छ। शक्तिशाली अर्थात् पूर्ण मनसुनचाहिँ ७०–८० लाख वर्षअघि भयो भन्ने सङ्केत पाइएको केही अध्ययनहरूले देखाउँछन्।

सामान्यतया हरेक वर्ष जुन १ को आसपास भारतको दक्षिणी तट (केरला) बाट मनसुन भित्रिन्छ। त्यसपछि भारत हुँदै मनसुन नेपालको पूर्वी भाग (झापा) मा जुन १३ को आसपास आइपुग्छ र बिस्तारै देशभरि मनसुन फैलिन्छ। यो सेप्टेम्बर वा अक्टोबरसम्म रहन्छ।

करिब ५० लाख वर्षअघि चुरे क्षेत्र बन्ने क्रम चलिरहेको थियो। त्यसबेलासम्म महाभारत शृङ्खला अलि अग्लो भइसकेको थियो। मनसुनले भर्खरै बन्दै गरेको पहाडका फेदीहरूमा न्यानो, ओसिलो र अत्यधिक वर्षा हुने अविरल जङ्गलको वातावरण तयार गरिदियो। त्यहीँबाट म्यारान्टेसी परिवारका वनस्पति दक्षिणपूर्व एसियामा प्रवेश पाए।

म्यारान्टेसी परिवारको फ्रिनियम वंश कहाँ र कहिले उद्विकास भएको हो भन्नेबारे वैज्ञानिकहरूले अध्ययन गरेका छन्। आनुवंशिक घडीले यो १ देखि २ करोड वर्षअघि विकसित भएको बताउँछ। म्यारान्टेसी परिवारमा २७ वंश पहिचान भएका छन्। तीमध्ये फ्रिनियम वंशसँग आनुवंशिक रूपमा सामीप्य हुने ‘सुमानियान्थस’, ‘डोनाक्स’ र ‘म्यानमारानथस’ हुन्। यी तीनवटै वंश दक्षिणपूर्व एसियाका हुन्। यस आधारमा फ्रिनियम वंश पनि दक्षिणपूर्व एसियामै उद्विकास भएको थियो होला।

फ्रिनियम वंशमा ३८ प्रजाति सूचीकृत छन्। तीमध्ये मलेसिया, इन्डोनेसिया, चीन, फिलिपिन्स, थाइल्यान्ड, म्यान्मार, भारत, बङ्गलादेश, भुटानमा क्रमशः १८, १२, ५, ४, ४, ३, ४ र १ प्रजाति पाइएका छन्। सुनसरीमा फेला परेको चाहिँ ‘फ्रिनियम पुबिनर्भ’ हो।

फ्रिनियम पुबिनर्भ सबैभन्दा व्यापक फैलिएको प्रजाति रहेछ। यो प्रजाति पपुवा न्युगिनीदेखि नेपालसम्म दुई दर्जन बढी देशहरूमा पाइने जानकारी छ। पानी बेसारेलाई अङ्ग्रेजीमा ‘प्याकिङ लिफ’ भनिन्छ। यो भनेको खानेकुरा पोको पार्ने पात भनेर चिनिन्छ।

‘प्याकिङ लिफ’ को गानो घस्रिने वा फैलने खालको हुन्छ। यसको फेदबाट पलाएका पातहरू १ वा सोभन्दा बढी हुन्छन्। यसको पातको डाँठ बेसारको जस्तो नरम नभई कडा र लामो सुलुत्त परेको हुने रहेछ। यसको फूल झुप्पामा पातको डाँठको आँख्लामा मध्यभागमा पलाउँछ।

फूलको मुनि फूललाई सुरक्षा दिने साना पातचाहिँ फूल, फल लागेर झरेपछि पनि डाँठमा झुरुप्प अर्को साल पनि रहिरहेको हुन्छ। पहिले पलाएकै भागमाथि अर्को संरचना पलाएर फूल निस्कन्छ।

यसका फूल १.५–२.० सेन्टिमिटरसम्म लामो हुन्छ। यसकारण यसका पुष्पदल र पुष्पपत्रहरू नियालेर नहेरी नदेखिन सक्छन्। यसको पुङ्केसर केही मिलिमिटर मात्र लामो हुन्छ। यसको पातको डाँठ गुन्द्री बुन्नसमेत प्रयोग हुने रहेछ।

नेपालको निम्ति नयाँ वंश

‘प्याकिङ लिफ’ सुनसरीमा फेला पर्‍यो। यो प्रजाति नेपालको निम्ति नयाँ हो। किनभने सन् १९७८ मा प्रकाशित ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोलम वन’ मा ‘फ्रिनियम प्लासेन्टारियम’ नेपालमा पाइन्छ भन्ने जानकारी छ (पृ. ६२)। यस्तै, ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स–१’ मा पनि फ्रिनियम प्लासेन्टारियम नेपालमा पाइने जानकारी छ (पृ. १६)।

तर, सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल (जिम्नोस्पर्म्स एन्ड एन्जिओस्पर्म्स)’ शीर्षक पुस्तकमा फ्रिनियम प्लासेन्टारियम समावेश छैन। संसारभरका वनस्पति कुन–कुन देशमा पाइन्छन् भन्ने विद्युतीय सञ्जाल ‘प्लान्ट्स अफ द वर्ल्ड’ हेरेँ। त्यसमा पनि फ्रिनियम प्लासेन्टारियम समावेश छैन।

यसले नेपालसम्बन्धी माथि चर्चा गरिएका सन् १९७८ र २०११ मा प्रकाशित तथ्याङ्क के हो भनेर थाहा पाउन खोजेँ। कुरा के रहेछ भने, फ्रिनियम प्लासेन्टारियम भनिएको वनस्पति वास्तवमा फ्रिनियम वंशकै होइन रहेछ। यो त ‘स्ट्याकिफ्रिनियम’ वंशअन्तर्गतको वनस्पति रहेछ। भूलवश यसलाई सन् १९१९ मा फ्रिनियम वंशको ठानिएर यसको नामकरण ‘फ्रिनियम प्लासेन्टारियम’ गरिएको रहेछ।

यो नामकरण गलत भएको पत्तो लगाई सन् २००३ मा फ्रिनियम प्लासेन्टारियमलाई स्ट्याकिफ्रिनियम वंशमा स्थानान्तरण गरी यसको नाम ‘स्ट्याकिफ्रिनियम प्लासेन्टारियम’ गरिएको रहेछ। सन् २०११ मा यो कुरा थाहा नपाएर नेपालका वनस्पतिविद्हरूले यसको नाम फ्रिनियम प्लासेन्टारियम नै सारेका रहेछन्, जब कि यसको नाम सच्याउने काम सन् २००३ मै भइसकेको थियो।

यसले के बतायो भने सुनसरीमा फेला परेको ‘प्याकिङ लिफ’ प्रजाति मात्र नेपालको निम्ति नयाँ नभई फ्रिनियम वंश नै नेपालको निम्ति नयाँ हो। नेपालको निम्ति यो गौरवको सन्दर्भ हो कि अब नेपालमा म्यारान्टेसी परिवारअन्तर्गत २ वंशका २ प्रजाति फेला परेका छन्। म्यारान्टेसी परिवारका धेरै प्रजातिलाई ‘प्याकिङ लिफ’ भनेर चिनिँदो रहेछ।

विस्फोटक परागण प्रणाली

‘प्याकिङ लिफ’ बारे अध्ययन गर्दा म्यारान्टेसी परिवारमा परागसेचन अनौठो प्रकारको हुन्छ भन्ने थाहा पाएँ। यो परिवारको वनस्पतिमा ‘विस्फोटक परागण प्रणाली’ हुँदो रहेछ। फूलमा कुनै जीव बस्दा यसमा रहेको परागकणको थैलो विस्फोट भएर त्यसको शरीरमा टाँसिन पुग्दो रहेछ। यो परिवारका वनस्पतिमा अचम्मको परागसेचन प्रक्रिया हुँदो रहेछ। परागसेचन भनेको फूलको भाले प्रजनन अङ्गबाट परागकण फूलको पोथी प्रजनन अङ्गको ‘स्टिग्मा’ अर्थात् योनीसम्म पुग्ने प्रक्रिया हो।

फूलको भाले प्रजनन अङ्गलाई पुङ्केसर भनिन्छ। यसमा परागकणका थैलाहरू हुन्छन्। यस्तै, पोथी प्रजनन अङ्गलाई स्त्रीकेसर भनिन्छ। स्त्रीकेसरको टुप्पोमा स्टिग्मा हुन्छ। भाले प्रजनन अङ्गबाट पोथी प्रजनन अङ्ग अर्थात् योनीसम्म हावा, किरा, पानी वा अन्य कुनै माध्यमबाट परागकण पुग्दछ।

हामीलाई थाहा छ, मौरीलगायत किराहरूले फूल आहारका निम्ति चाहार्छन्। यस क्रममा ती जन्तुका खुट्टा, सुँड, पखेटा आदिमा फूलको भाले प्रजनन अङ्गमा रहेको परागकण टाँसिन्छ। ती जन्तु जब फूलको पोथी प्रजनन अङ्गको टुप्पो अर्थात् योनीमा पुग्छन्, ती परागकणहरू जन्तुबाट फूलको योनीमा अवतरण हुन्छन्। हो, यो हामीले पढ्दै आएको, बुझ्दै आएको परागसेचनको एक सामान्य प्रक्रिया हो।

तर, यहाँ परागकण यसरी जन्तुको अङ्गमा टाँसिने अनि योनीमा पुगेपछि झर्ने कस्तो चेतना होला ? यसमा पनि त आकर्षण र विकर्षणका निम्ति केही रसायनहरूका खेल होलान्। किनभने परागकण बोकेको जन्तु योनीमा पुग्छ, या त योनीले ती परागकण आफूतिर आकर्षित गर्छ वा त परागकण आफैँले थाहा पाएर ‘लौ पुग्नुपर्ने ठाउँ त्यही हो’ भनेर योनीमा पुगेर झरिदिन्छ। यसमा धेरै वनस्पतिका निम्ति मौरी वा किरा साधन बनिन्छन्। यो बाटाका धुला खुट्टामा टाँसिएर घर वा कोठासम्म पुग्ने प्रक्रिया सामान्यभन्दा फरक हो।

संसारभर, फूल फुल्ने वनस्पतिका लगभग १३,००० वंश र ३,५२,००० देखि ४,००,००० सम्म प्रजाति छन्। जब मौरी वा अन्य किरा यो म्यारान्टेसी परिवारअन्तर्गतको वनस्पतिको फूलमा पुग्छ, त्यसबखत फूलमा परागकण परिपक्व भएको छ भने परागकण थैली आफैँ एक झट्कामा जन्तुको खुट्टा, सुँड, पखेटासहित अन्य भागमा टाँसिन पुग्दो रहेछ।

यसमा के हुँदो रहेछ भने जब फूल परिपक्व हुन्छ, त्यसभित्रका केही अङ्गहरू जस्तै पुङ्केसर धनुषको ताँदो वा कसिलो स्प्रिङ जसरी अत्यधिक तनावमा बाँधिएर रहँदो रहेछ। यस्तो हुनुमा फूलको सानो भागले त्यसलाई ‘लक’ गरेर राखेको हुन्छ भन्ने लेखिएको पढ्न पाइन्छ। त्यसलाई प्रत्यक्ष देखेको भने छैन।

जब कुनै किरा फूलमा बस्छ र त्यसरी ‘लक’ भएको पुङ्केसरको नजिक पुगेर त्यसलाई छुन्छ वा दबाउँछ, त्यो त बन्दुकको ट्रिगर दबाएजस्तो हुन्छ र ‘लक’ खुल्छ अनि त्यसभित्र प्रेसरमा रहेका परागकणका थैलीहरू मिलिसेकेन्डमै एक झट्काका साथ बाहिर निस्कन्छन्।

यसबाट परागकणका थैली किरा वा परागणकर्ताका शरीरमा टाँसिन पुग्छन्। ती टाँसिएका परागकण त्यसपछि ती जीव फूलको पोथी प्रजनन अङ्गको योनीमा पुग्दा ती परागकण योनीमा रहेको चिपचिपे पदार्थमा टाँसिन्छन् र गर्भाधान प्रक्रियाको निम्ति अन्य प्रक्रिया अघि बढ्छ।

सुनाखरीमा झन् अनौठो

सुनाखरीको परिवारलाई ‘अर्किडेसी’ भनिन्छ। यो परिवारमा ६९१ वंश पहिचान भएका छन्। ती ६९१ वंशहरूमा २८,००० जति प्रजाति छन्। त्यसमध्ये कैयौँ वंशमा अनौठो प्रकृतिको परागसेचन प्रक्रिया हुन्छ।

सुनाखरीको फूलको संरचना अन्य सामान्य फूलहरूभन्दा निकै फरक हुन्छ। यसको आधारभूत बनावट मुख्य ६ वटा भागहरू (३ वटा बाह्य दल अर्थात् सेपल र ३ वटा भित्री दल अर्थात् पेटल) हुन्छन्। यी ६ वटा संरचना अन्य वनस्पतिका निम्ति पुष्पदल र पुष्पपत्र हुन्।

अन्य फूलमा पुष्पदल हरियो हुन्छ र पुष्पपत्र सेतो, रातो, पहेँलो, नीलो आदि रङका हुन्छन्। तर, सुनाखरीमा यी २ घेरामा पलाएका ५ वटा संरचना उस्तै रङ र लगभग उस्तै आकारका हुन्छन्। अगाडितिरको पुष्पपत्र भने विचित्रको हुन्छ। यो आकर्षक आकृतिमा बदलिएको हुन्छ। यसलाई ‘ल्याबेलम’ भनिन्छ। धेरै सुनाखरीमा यसको आकृति जिब्रो जस्तो हुने भएकाले यसलाई ‘लिप’ पनि भनिन्छ।

ल्याबेलम अर्किडको मुख्य आकर्षण हो। मौरी, पुतलीलगायत किराहरू यसैमा आकर्षित भएर सर्वप्रथम बस्न पुग्छन्, जसले ‘ल्यान्डिङ प्याड’ को काम गर्छ। ल्यान्डिङ प्याडको ठीक पछाडि एक स्तम्भ पलाएको हुन्छ, यसलाई ‘कोलम’ भनिन्छ। यसको टुप्पोमा पोलेन ग्रेन रहने थैला रहेको केही फुलिएको भाग हुन्छ, जसलाई पोलेन स्याक अर्थात् पोलेन ग्रेनको थैलो भनिन्छ। यसको मुनि स्त्री प्रजनन अङ्गको टुप्पो, स्टिग्मा अर्थात् योनी रहेको हुन्छ।

सुनाखरीमा पोलेन स्याक र स्टिग्मा आमने–सामने हुन्छन्। तर, केही सुनाखरीको फूलमा पोलेन स्याक र स्टिग्माको बीचमा पर्खालजस्तो आकृति पलाएको हुन्छ, जसले पोलेन स्याकबाट पोलेन झरेर योनीसम्म पुग्न पाउँदैन। यसरी एउटा साझा आकृतिमा भाले, पोथी प्रजनन अङ्ग रहे पनि परागसेचन हुन पाउँदैन।

यस्तो सुनाखरीमध्ये एक सुनाखरी वंश ‘ड्राकिया’ हो। यो वंशलाई अस्ट्रेलियाको ‘ह्यामर अर्किड’ भनिन्छ। यो वंश पश्चिम अस्ट्रेलियामा मात्र पाइन्छ। यो वंशमा १० प्रजाति पहिचान भएका छन्। तीमध्ये एक प्रजाति ‘ड्राकिया ग्लिप्टोडन’ हो।

यसबारे एक अनुसन्धानात्मक लेख सन् २००७ मा प्रकाशित ‘अस्ट्रेलियन सिस्टेमेटिक बोटनी’ को भोलम २० पृष्ठ २५२–२८५ मा तस्बिरसहित विवरण समावेश छ। यो लेख पढ्दा अचम्म लाग्छ, प्रकृतिको लीला नै भन्नुपर्ने हुन्छ।

ड्राकिया वंशका फूलमा भाले र पोथी प्रजनन अङ्गको बीचमा ‘रोस्टेलम’ भनिने एक विशेष तन्तुको तह हुन्छ। यो पराग थैली आफैँ फुट्न सक्दैन। यस्तै, यसको ठीक मुनि एउटा सुरक्षात्मक छाना वा तख्ताजस्तो आकृति हुन्छ। जसका कारण कथं पराग थैला आफैँ फुटे पनि परागकण सिधै तल रहेको च्यापच्यापे स्टिग्माको खाल्डोमा खस्न पाउँदैन।

अब ड्राकिया वंशको ल्याबेलमको चर्चा गरौँ। यसको ल्याबेलम त्यहाँ पाइने एक वंशको बारुलाको पोथी जस्तो आकृति हुने रहेछ। ‘थिनिड वास्प’ भनिने पोथी बारुलाको पखेटा नहुने रहेछ। पोथी बारुलाले यौनसम्पर्क गर्न भालेलाई आकर्षित गर्न एक किसिमको बास्ना उत्सर्जन गर्दो रहेछ।

कस्तो अचम्म, त्यो सुनाखरीको ल्याबेलमले पनि ठीक त्यस्तै अर्थात् पोथी ‘थिनिड वास्प’ ले यौनकार्य अगाडि उत्सर्जन गर्ने बास्ना जस्तै बास्ना उत्सर्जन गर्दो रहेछ। भाले ‘थिनिड वास्प’ झुक्किँदो रहेछ। अनि भाले बारुलाले त्यसलाई पोथी बारुला यौनकार्यका लागि तयार भएर रहेको जस्तो ठान्दो रहेछ। अतः भाले बारुला त्यसमा गएर बस्दो रहेछ।

भालेले त्यसलाई पोथी ठानेर यौनकार्य गर्न तम्सिन्छ। कतिले चाहिँ त्यसलाई पोथी ठानेर उठाएर लैजान खोज्छन्। त्यो ल्याबेलम एउटा लचिलो र घुम्ने कडीमा जोडिएको हुन्छ। जसका कारण त्यो ल्याबेलम बारुलासहित एक झट्काका साथ पछाडितिर घुमेर पुग्छ।

यस क्रममा अर्कोतिर रहेको स्तम्भमा भाले बारुलाको ढाड ठोक्किन पुग्छ। त्यसबेला, स्तम्भको पोलेन ग्रेनको थैलो भालेको ढाडमा टाँसिन पुग्छ। त्यो भाले बारुला यसैगरी अर्को फूलमा पनि पुग्छ र त्यही प्रक्रिया दोहोर्‍याउँछ। यस क्रममा ढाडमा रहेको पोलेन ग्रेनको थैला पहिलेको तुलनामा केही सुक्दछ र अर्को ल्याबेलममा भालेले यौनकार्य गर्न खोज्दा त्यो ल्याबेलम पनि त्यसरी नै घुम्छ, त्यसबेला त्यो पोलेन थैलो फुटेर त्यो सुनाखरीको योनीमा पोलेन ग्रेन पुग्छ। यसरी, बडो सकसका साथ ड्राकिया वंशमा परागसेचन सम्पन्न हुन्छ।

यो प्रक्रियाको भिजुअल ‘द ग्रिन प्लानेट डकुमेन्ट्री’ मा हेर्न सकिन्छ। यो डकुमेन्ट्री प्रसिद्ध बेलायती प्राकृतिक इतिहासकार तथा ब्रोडकास्टर सर डेभिड एटनबरोले गरेका हुन्।

उपयोगिता

अब, पानी बेसारेको उपयोगिताबारे चर्चा गरौँ। सानो छँदा प्याकिङ लिफको पात हिउँदमा थारु (चौधरी) ले टिपेको देख्थेँ। उनीहरूले विशेषतः विवाहमा भात खान यसको पात टिपेर लैजान्थे। यसको २–३ वटा पात ओछ्याएर खाना खान दिने गरेको देखेको हो।

हिजोआज यसको पातमा भात खाने प्रचलन हराएर गयो। उसबेला, पहाडिया मूलका बासिन्दाले विवाह तथा भोजभतेरमा सालको पातको टपरा बनाउँथे। चौधरीहरूले टपरा प्रयोग गर्दैन्थे। सायद उनीहरू जान्दैन्थे, सालको पातको टपरा बनाउन। पहाडे समुदायले पानी बेसारेको पात प्रयोग गरेको अहिलेसम्म देखेको छैन।

पूर्वी नेपालका चौधरीहरूको बसाइँसराइ दक्षिणपूर्व एसियाबाट हो। उनीहरूले उतैबाट यता बसाइँ सर्दा यसको पात प्रयोग गर्ने ज्ञान लिएर आएका होलान्। किनभने अझै पनि उत्तरपूर्वी भारतलगायत दक्षिणपूर्व एसियामा यसको पात भातलगायत अन्य तयारी खाना पोको पार्न प्रयोग गरिने लेखिएको पढ्न पाइन्छ।

यो वनस्पतिमा रहेका उपयोगी रसायनहरूबारे एक लेख सन् २०२२ मा ‘हेलियोन जर्नल’ भोलम ९ अङ्क २ मा प्रकाशित छ। उक्त लेखअनुसार यसको पातमा ‘सिरिन्जिक एसिड’ निकै बढी मात्रामा पाइन्छ। यो एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले शरीरमा हुने एलर्जिक र सुजन (सुन्निने समस्या) लाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

यसको पातमा पाइने अर्को ‘पी–कौमारिक एसिड’ अर्को महत्त्वपूर्ण एन्टिअक्सिडेन्ट यौगिक हो, जसले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ। यसमा ‘ट्रान्स–फेरुलिक एसिड’ पनि पाइन्छ, जसले छालाको सुरक्षा र कोषहरूलाई क्षति हुनबाट बचाउन मद्दत गर्छ।

यस्तै, यसमा ‘रोजमारिनिक एसिड’ पनि पाइन्छ, जसमा एलर्जी र भाइरसविरुद्ध लड्ने गुणहरू हुन्छन्। बङ्गलादेशका वैज्ञानिकहरूले गरेको एक अध्ययनअनुसार, प्याकिङ लिफका पातमा स्वास्थ्यका लागि निकै उपयोगी रसायनहरू छन्।

अन्तमा, सुनसरीको चारकोसे झाडीमा फेला परेको ‘प्याकिङ लिफ’ नेपालका लागि एउटा नयाँ वंशको वनस्पति हो। यसको प्रागैतिहासिक सम्बन्ध पृथ्वीको करोडौँ वर्ष पुरानो भौगर्भिक अवयव र महादेशीय विस्थापनासँग जोडिएको छ। यो दक्षिण अमेरिकाबाट दक्षिण एसिया आइपुगी दक्षिणपूर्व एसियामा उद्विकास भई पुनः दक्षिण एसियातर्फ फैलिएर आइपुगेको एउटा जीवन्त प्रमाण हो।

पूर्वी नेपालका चौधरी समुदाय सांस्कृतिक रूपमा जोडिएको यो वंशको वनस्पति आधुनिक चिकित्सा विज्ञानका लागि समेत उपयोगी हुने देखिन्छ। यसको पातमा प्रचुर मात्रामा पाइने सिरिन्जिक एसिड, पी–कौमारिक एसिड र रोजमारिनिक एसिडजस्ता शक्तिशाली एवं उपयोगी रासायनिक यौगिकहरूको व्यावसायिक तथा वैज्ञानिक उपयोग गरी एन्टिअक्सिडेन्ट, एन्टि–एलर्जिक र एन्टि–भाइरल औषधि निर्माणमा ठूलो लाभ लिन सकिने प्रस्ट सम्भावना देखिन्छ।

तसर्थ, नेपालको जैविक विविधतामा थपिएको यो नयाँ प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र यसमा निहित बहुमूल्य रसायनहरूको थप गहन अनुसन्धानका लागि सरोकारवाला निकाय, वैज्ञानिक समुदाय र राज्यले अविलम्ब विशेष ध्यान दिनु अपरिहार्य देखिन्छ।

लेखक
कमल मादेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?