News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा सशस्त्र प्रहरी बल नेपाल र भारतको एसएसबीबीच १० औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ, जुन शुक्रबारसम्म चल्नेछ।
- बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, मानव तस्करी, लागूऔषध र अवैध हातहतियार तस्करी नियन्त्रणका विषयमा छलफल हुने डीआईजी नेत्रबहादुर कार्कीले बताए।
- दुवै देशका प्रतिनिधिले दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भ संरक्षण, नियमित सूचना आदानप्रदान, विपद् सहकार्य र सहायता कक्ष स्थापना गर्ने विषयमा पनि छलफल गर्नेछन्।
११ कात्तिक, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। काठमाडौँमा बुधबारदेखि सुरु भएको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले बताए।
शुक्रबारसम्म चल्ने बैठकमा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि छलफल हुने कार्कीले बताए।
द्विपक्षीय १० औँ समन्वय बैठकमा दुवै देशका सीमा सुरक्षा निकायसहितका प्रतिनिधिहरू सहभागी छन्।
नेपालको तर्फबाट बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान बिभाग तथा नापी बिभागका प्रतिनिधिहरु सहभागी छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बल (एसएसबी) भारतका महानिर्देशक संजय सिंघलले गरेका छन्।
भारतीय पक्षबाट पनि गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरु सहभागी छन्।
बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामाग्रीहरुको तस्करी नियन्त्रण लगायत विषयमा हालसम्म भइरहेको समन्वयात्मक प्रयासहरुको समिक्षा हुनेछ।
द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रको सुझावका आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भहरुको संरक्षण, मर्मत तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमापार प्रभाव पार्न सक्ने महामारी र विपदको जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुद लगायतका आपसी समन्वय अभिवृद्धी केन्द्रित गतिबिधिहरु संचालन गर्ने पनि छलफलको विषय छ।
नेपाल–भारत खुला सीमानाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकहरूको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउनका लागि उपयुक्त प्रविधिको प्रयोग गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने तथा सीमा नाकाहरूमा यात्रुहरूको सहजताका लागि थप सहायता कक्षहरू स्थापना गर्ने विषयमा पनि दुईदेशका सुरक्षा अधिकारीहरुबिच छलफल हुनेछ।
प्रतिक्रिया 4