१२ कात्तिक, सङ्खुवासभा । भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तीन दिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बुधबार जारी गरेको सूचनामार्फत कात्तिक १२ देखि १४ गतेसम्म सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेका हुन्।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान, रातिको समयमा लामो दूरीको यात्रा नगर्न र बाढीपहिरोको जोखिम देखिए सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। साथै, मौसमसम्बन्धी पूर्वसूचनाको पालना गरी सम्भावित विपद्बाट जोगिन सबैलाई आग्रह गरिएको छ।
विशेषगरी मकालु आधार शिविर, मकालु राष्ट्रिय निकुञ्ज तथा उच्च हिमाली र पहाडी क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। जोखिमयुक्त क्षेत्रमा नजान, पहिरोको सम्भावना भएका स्थानमा नबस्न र सुरक्षित स्थानमा रहन पनि आग्रह गरिएको छ।
प्रतिक्रिया 4