+
+
Shares

यी चार जनाले कांग्रेस केन्द्रीय सदस्यको सपथ लिन नपाउने

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चार जनाले पदीय जिम्मेवारीको सपथ लिन नपाउने भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनियमितता मुद्दा किनारा नलागेकाले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, उमेशचन्द्र यादव र विनिता खड्काले आज हुने सपथ लिन नपाउने भएका छन्।
  • कांग्रेस स्रोतका अनुसार कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले मुद्दा टुंगो नलागेसम्म चारै जनाको सपथ गर्न नमिल्ने जानकारी गराएका छन्।
  • सभापति गगन थापाले व्यक्तिले गरेको दोषको भारी पार्टीले नबोक्ने र त्यस्ता जिम्मेवारी व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताएका छन्।

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चार जनाले पदीय जिम्मेवारीको सपथ लिन नपाउने भएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, उमेशचन्द्र यादव र विनिता खड्काले पदको सपथ लिन नपाउने भएका हुन् । नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको लागि आज सपथको समय तोकिएको छ ।

अनियमितता प्रकरणमा मुछिएका र उनीहरुको मुद्धा किनारा नलागेको हुँदा सपथ रोकिएको जानकारी गराइएको छ । कांग्रेस स्रोतका अनुसार कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले मुद्धाको किनारा नलागेसम्म सपथ गर्न नमिल्ने जानकारी चारै जनालाई गराएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयरमा रहँदा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ । अख्तियारले उनीविरुद्ध करिब ३ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उक्त मुद्दामा चालिसेसँग ५ लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । २०७९ सालमा काठमाडौं–३ बाट प्रतिनिधि सभामा निर्वाचित हुने अर्थ समितिको सभापति बनेका थिए । चालिसे बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत माथि सम्पत्ति शुद्धीकरणको मुद्धा विशेष अदालतमा दायर भएसँगै मेयर पदबाट स्वतः निलम्बनमा परेका थिए । कांग्रेसबाट निर्वाचित मेयरमा निर्वाचित उनले मुद्दा आर्थिक अनियमिततामा मुद्धा परेको थियो । विशेष अदालतले उनीविरुद्धको आरोप प्रमाणित गर्दै दोषी ठहर गरेको थियो । काठमाडौ उपत्यका तर्फबाट चयन हुने केन्द्रीय सदस्यमा बस्नेत निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्यको सपथ लिनबाट वञ्चित भएका अर्का निर्वाचित केन्द्रीय सदस्य उमेशचन्द्र यादव पनि अनियमितता प्रकरणमा जोडिएका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव विरुद्ध सरकारी कागजात/लेटरप्याड दुरुपयोग तथा कीर्ते र सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी विवाद र मुद्दा परेको थियो ।

गाउँपालिकाको आधिकारिक लेटरप्याड, छाप र पदीय अधिकारको गैरकानूनी रूपमा प्रयोग/कीर्ते गरेको अभियोग लागेको छ । सार्वजनिक/सरकारी जग्गामा नियम विपरीत पोखरी निर्माण तथा अतिक्रमण गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो ।

कागजी कीर्ते तथा दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपरासीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । १५ औं महाधिवेशनमा उनी मधेसी क्लष्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्यको सपथ रोकिएकी विनिता खड्का महाधिवेशनकै अवधिमा पक्राउ परेकी थिइन् । खड्का वैदेशिक रोजगारीका नाममा ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको आरोपमा मुछिएकी छन् । इजरायलमा केयरगिभरको लागि परीक्षा दिएर ‘होल्ड’मा रहेका वा लक्की ड्रमा नपरेका युवाहरूलाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर इजरायल पठाइदिने झुटा आश्वासन दिएर करोडौँ रुपैयाँ असुली गरेको आरोप उनलाई लागेको छ । महाधिवेशनको क्रममा पक्राउ परेकी खड्कालाई जिल्ला अदालत काठमाडौँले उनीमाथि तत्कालै थुनामा राख्ने आधार पर्याप्त नदेखिएको भन्दै उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । महिला खुलातर्फबाट खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

सभापतिमा निर्वाचित भए लगत्तै सभापति गगन थापाले व्यक्तिले गर्ने दोषको भारी भारी पार्टीले बोक्न नसक्ने बताएका थिए । पार्टीमा आवद्ध कुनै व्यक्तिले अनियमितता गरे त्यसको जिम्मेवारी स्वयं व्यक्ति भागिदार हुने र उसको वचाउमा पार्टी नलाग्ने उनले बताएका थिए ।

बिहीबार दिउँसो २ बजे कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यको सपथ हुँदैछ । सभापति थापाले भने सपथ लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?