+
+
Shares

नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्‍यो ७ सदस्यीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई विविधीकरण गर्न कार्यवाहक कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।
  • समितिलाई कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, ईटीएफ, आरईआईटी, इनभिट र डेरिभेटिभजस्ता उपकरणको विकास तथा कारोबारका लागि कानुनी र प्राविधिक पूर्वाधार अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
  • बोर्डका अनुसार समितिको पहिलो बैठक शुक्रबार बसेको छ र नयाँ वित्तीय उपकरणको अवधारणा तथा बजार संरचनाबारे काम अघि बढेको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ।

नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले विविध उपकरणको विकास गर्न समिति गठन गरिएको बोर्डले जनाएको छ ।

कार्यवाहक कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो। समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिलगायत सदस्य रहेका छन्।

समितिलाई नेपालको धितोपत्र बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी विभिन्न वित्तीय उपकरणको कारोबार गर्न सक्ने बहुआयामिक बजारका रूपमा विकास गर्ने जिम्मेवारी दिइएको छ। त्यसका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकास गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बोर्डले जनाएको छ।

बोर्डका अनुसार बजारमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (इनभिट) तथा चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणको कारोबार सुरु गर्ने विषय समितिको कार्यक्षेत्रमा समेटिएको छ।

बोर्डले सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ मा पनि बजारको गहिराइ तथा विविधीकरणका लागि कर्पोरेट ऋणपत्र बजार, हरित ऋणपत्र, नगर ऋणपत्र, ईटीएफ, आरईआईटी, इनभिट तथा डेरिभेटिभ बजारको चरणबद्ध विकास गर्ने लक्ष्य राखिएको छ।

सोही लक्ष्यअनुरूप समितिले एक्स्चेन्ज ट्रेडेड फन्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट, इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट, हरित तथा नगर ऋणपत्र, वस्तु कारोबारमा आधारित वायदा सम्झौता र विदेशी मुद्रा कारोबारमा आधारित डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि आवश्यक कानुनी र बजार संरचनाको अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउनेछ।

समितिको पहिलो बैठक शुक्रबार बसेको छ। बैठकले नयाँ वित्तीय उपकरणको अवधारणा, कानुनी तथा बजार संरचना र आवश्यक प्राविधिक तयारीसम्बन्धी काम अघि बढाएको बोर्डले जनाएको छ।

नयाँ वित्तीय उपकरणको विकास र कारोबार सुरु भएपछि नेपालको धितोपत्र बजारमा लगानीका थप विकल्प सिर्जना हुनुका साथै बजारको विस्तार, विविधीकरण र बहुआयामिक विकासमा सहयोग पुग्ने बोर्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?