१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमाथि हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकारहरूमाथि धमाधम धरपकड भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो’, पौडेलले फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य हो ।’
कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटाहरू खुला रहेको उनले बताएका छन् । ‘पक्राउ गरिएका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गरियोस् । सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तुरुन्त बन्द गरियोस् र कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन होस्,’ उनले लेखेका छन् ।
प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने उल्लेख गर्दै उनले आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सरकारलाई सचेत गराउन आग्रह गरेका छन् ।
उनका अनुसार यस्ता संवैधानिक र कानुनी प्रक्रियालाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत छ ।
‘हिजोका दिनमा पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको थियो र सोही अराजक प्रवृत्ति आज राज्यसंयन्त्रबाटै दोहोरिनु झनै लज्जास्पद र अस्वीकार्य छ’, उनले अगाडि लेखेका छन्, ‘आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोकियोस् ।’
प्रतिक्रिया 4