News Summary
Generated by OK AI. Editorially reviewed.- फेटा गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन्।
- गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरको शिलालेख तोडफोड गरेपछि अध्यक्ष पक्षधर र विपक्षीबीच झडप भएको थियो।
- इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए।
१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।
संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।
गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन । प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि भने गरेको छैन ।
इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए ।
बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा विवाद सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।
तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य संस्था उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो ।
गाउँपालिका अध्यक्ष अन्सारीले एमाले कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको बताएका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ ।
प्रतिक्रिया 4