+
+
Shares

सुख्खा पहिरोको त्रासमा डोटीको भारिकोटबासी

‘पहिरो जाँदा पूरा घर हल्लिन्छन्, घरभित्र वृद्धवृद्धाहरू छन्, बालबालिका छन् । बिरामी मान्छे छन् । दिनदिनै पहिरो माथिमाथि सरिरहेको छ । जति माथि सर्दैछ, त्रास उत्ति बढिरहेको छ ।’

रामहरि ओझा रामहरि ओझा
२०८३ कात्तिक १४ गते १५:५०

१४ कात्तिक, डोटी । एक महिनाभन्दा बढी भइसक्यो सुख्खा पहिरो जान थालेको । पहिलो जान थालेदेखि नै डोटीको आदर्श गाउँपालिका–२ भारिकोटका महादेव थापाको मनमा चैन हराएको छ ।

‘अब त आँगनसम्मै पुगिसक्यो । हिजोबाट पानी पनि पर्दैछ, दिउँसो त यताउता गएर बितिहाल्छ,’ उनी भन्छन्, ‘राति कसरी बिताउने भन्ने चिन्ता बढेको छ ।’

गत असोज ९ गते भएको वर्षा रोकिएलगत्तै भारिकोटमा सुख्खा पहिरो जान सुरु भएको उनी बताउँछन् । निरन्तर पहिरो खस्दै घरको आँगनसम्मै पुगेपछि चिन्ता बढेको उनको भनाइ छ ।

‘सुरुमा थोरथोरै माटो खस्न थालेका थियोे । बिस्तारै जमिनमा चिरा पर्दै भासिँदै गयो । माथिमाथि हुँदै आँगनसम्मै पुगेको छ’, महादेव भन्छन् ।

पहिरो रोकथामका लागि आदर्श गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र भू तथा जलाधार कार्यालयलाई समेत अनुरोध गरेको उनी बताउँछन् । ‘तर अहिलेसम्म कतैबाट पनि कुनै पहल भएको छैन,’ उनी भन्छन्, ‘१५० घरधुरी भएको गाउँ पहिरोको जोखिममा पर्दा पनि कोही गम्भीर देखिएन ।’ उनका अनुसार करिब २५ परिवार तत्कालै सार्नुपर्ने अवस्था छ ।

पहिरोका कारण गाउँमा रुवाबासी भइरहेको आदर्श गाउँपालिका– २ की वडा सदस्य गंगादेवी भूल बताउँछिन् । ‘पहिरो जाँदा पूरा घर हल्लिन्छन्, घरभित्र वृद्धवृद्धाहरू छन्, बालबालिका छन् । बिरामी मान्छे छन्,’ उनी भन्छिन्, ‘दिनदिनै पहिरो माथिमाथि सरिरहेको छ । जति माथि सर्दैछ, त्रास उत्ति बढिरहेको छ ।’

शुक्रबारदेखि वर्षा सुरु भएपछि गाउँभरि थप चिन्ता बढेको भूलले बताइन् । ‘डरले २०/२२ परिवारले अलिअलि रासन र केही लुगाफाटो लिएर गाउँकै कालिका आधारभूत विद्यालयमा सरिसकेका छन्,’ उनी भन्छिन् ।

असोज १३/१४ गतेतिर नै गाउँपालिकालाई पहिरोको विषयमा जानकारी गराएको स्थानीय ममता थापा बताउँछिन् ।

आश्वासन आयो, समाधान आएन

सञ्चारमाध्यममा कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने समाचार सुनेपछि स्थानीयबासीहरूले सम्बन्धित निकाय गुहारेका थिए । ‘चिरा परेको जमिनमाथि प्लास्टिक राखेर पानी भित्र छिर्न नदिए पहिरोको जोखिम कम हुनसक्थ्यो भनेका थियौं,’ ममता भन्छिन्, ‘गाउँपालिकाले हामी पठाइदिन्छौं पनि भन्नु भएको हो । तर आएन ।’

स्थानीयबासीको आग्रहमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ नेतृत्वको टोली अनुगमनमा पनि पुगेको थियो । तर, टोलीले प्लास्टिक र भेल निकासका लागि बाटो बनाउन डोजर पठाउन दिएको आश्वासन कार्यान्वयन नभएको स्थानीयको गुनासो छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल पनि अनुगमनमा पुगेका थिए । उनले पनि स्थानीयको मागअनुरुपको पहल नगरिदिएको स्थानीयबासी बताउँछन् ।

‘पहिरोले घरै पुरेपछि, दुई/चार जना मरेपछि मात्रै सरकारले सुन्ने होला । तर, सहजै सुनेन,’ एक स्थानीयले भने ।

पहिरो रोक्न देउताको पूजा

स्थानीयबासीले पहिलो रोक्न माग गर्दै सामूहिक रूपमा देउताको पूजा गरेको बताउँछन् । ‘पहिले यसरी पहिरो जाँदैनथ्यो, कतै देउता रिसाएर हो कि भनेर स्थानीय तिव देवताको पूजा गर्‍यौं । तर, त्यति गर्दा पनि पहिरो रोकिएन,’ स्थानीय महादेव थापाले भने ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?