१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले जुन विवाद आएको छ । यो बिचौलियाको विषयमा माननीय न्यायाधीशहरूको उठबसको कुरा । यो उठबसको कुरामा हामीलाई अहिले चर्को दबाब के छ भने तत्काल संसदीय समिति गठन गर्नुपर्छ,’ सांसद चौलागाईँले भने, ‘महाअभियोग सिफारिस समिति गठन गर्नुपर्छ भन्ने दबाब छ ।’
विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रूपमै प्रश्न उठेको छ ।
इनमको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीहरूसँगको संवाद र कारोबारका विवरणहरू पनि सार्वजनिक भएका छन् ।
सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको विषय पनि आएको छ ।
यस सन्दर्भमा सांसद चौलागाईँले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरणका सन्दर्भमा आफूहरू छलफलमा रहेको समेत बताएका छन् ।
यसअघि, रास्वपा सांसद राजीव खत्री र यज्ञमणि न्यौपानेले पनि सर्वोच्च अदालतका न्यायधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4