+
+
Shares

नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने

नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्‍याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्।
  • क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य भ्रमण गरी त्यहाँका आकर्षण, संस्कृति, प्रकृति र पर्यटन गतिविधिबारे भिडियो सामग्री बनाउनेछन्।
  • बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले टिकटकमार्फत सामग्री सार्वजनिक गरेर नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बताए।

१५ कात्तिक, काठमाडौं । नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्म टिकटक मार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरिका दर्शकमाझ पुर्‍याउने उद्देश्यले उनीहरूलाई नेपाल बोलाइएको हो ।

उनीहरूमध्ये यूएई र ट्युनिसियाका क्रिएटर ३ जना फ्लाई दुबईको जहाजबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरूलाई पर्यटन बोर्डले पोखरामा स्वागत गरेको छ । अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा स्वागत गरियो ।

कार्यक्रम अन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधि सम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन् ।

उनीहरूले टिकटक सहित सामाजिक सञ्जाल मार्फत ती सामग्री सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताए ।

बोर्ड र टिकटकबीच यसअघि सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

उक्त सहकार्य अन्तर्गत सुरु गरिएको #LifetimeExperiences अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियो मार्फत विश्वभरिका दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले भने, ‘अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई सहभागी गराउने र उनीहरूलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिने छ, यसरी उत्पादन गरिएका सामग्रीलाई टिकटक मार्फत् प्रवर्द्धन गरिने छ ।’

यस सहकार्यलाई प्रभावकारी बनाउन २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिइएको वरिष्ठ प्रबन्धक थपलियाले बताए ।

यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीन दिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो ।

उक्त कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जाल मार्फत गन्तव्य प्रवर्द्धनका लागि प्रशिक्षण दिइएको थियो ।

यसपालि भ्रमणमा सहभागी हुने क्रिएटरमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी र यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् ।

फ्रान्सका जेरेमी ब्युडेट चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभव समेट्नेछन् । त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्री मार्फत प्रस्तुत गर्नेछन् ।

भ्रमणका क्रममा क्रिएटरहरूले सम्बन्धित गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिन सक्ने मौलिक अनुभव समेत समेटेर सामग्री उत्पादन गर्ने वरिष्ठ प्रबन्धक थपलियाको भनाइ छ ।

डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्य प्रचार गर्ने अभियानले वास्तविक यात्रा अनुभव, दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटक आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

विशेषगरी युवापुस्तामाझ लोकप्रिय टिकटकमा प्रसारण हुने छोटा भिडियोले नयाँ गन्तव्य पहिचान विस्तार गर्नुका साथै पर्यटकलाई गन्तव्य यात्राका लागि निर्णयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्ल्याटफर्म र सिर्जनात्मक सामग्री प्रयोगलाई प्राथमिकता दिँदै आएको बोर्डले अन्तर्राष्ट्रिय क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारमा पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको छ ।

यसबाट पोखरा, चितवन र बर्दियाजस्ता स्थापित तथा सम्भावनायुक्त गन्तव्यको अन्तर्राष्ट्रिय प्रबर्द्धनमा टेवा पुग्‍नुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्‍याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?