१८ कात्तिक, जनकपुरधाम । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे मागपत्र बुझाएको छ ।
अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वमा जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै रेल सेवा थप व्यवस्थित र यात्रुमैत्री बनाउन माग गर्दै नेपाल रेल्वे कम्पनीकन प्रवन्धकलाई ज्ञापनपत्र बुझाइएको हो ।
नेपाल–भारत सरकारको संयुक्त पहलमा वि.स.१९९३ मा सुरु भएको जनकपुरधाम–जयनगर रेल सेवा विभिन्न कारणले बन्द भएको थियो । भारत सरकारको सहयोगमा रेल्वे सेवा स्तरोन्नति गरी २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।
अभियानले रेल चढ्ने यात्रुको सहज आवागमन, प्लेटफर्मको दैनिक सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेको छ ।
त्यस्तै, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हात बजारको व्यवस्थित सञ्चालन र सडक तथा छेकबारको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
अभियानले रेल्वे क्रसिङमा दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्था तथा मालवाहक ढुवानी सेवा सञ्चालन गर्नसमेत माग गरेको छ ।
प्रतिक्रिया 4