+
+
Shares

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

हिजो अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र पूर्वाधार विकास मन्त्रीसँग अलग–अलग भेट गरेका भारतीय विदेश सचिवले आज प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते ५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै आजै अपराह्न स्वदेश फर्किनेछन्।
  • मिश्रीले हिजो अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, पूर्वाधार विकास मन्त्री र परराष्ट्र सचिवसँग अलग-अलग भेट गरेका थिए।
  • स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

१८ कात्तिक, काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए ।

उनले हिजो नै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए ।

आज प्रधानमन्त्री बालेनसँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आएका थिए ।

यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् । छिट्टै भनिएको मिति भारतीय विदेश सचिव विक्रम मिश्रीको यही भ्रमणपछि सार्वजनिक हुनसक्ने स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?