युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् ।
जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरे त्यसले युक्रेनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
‘म रिपब्लिकनप्रति पनि आभारी छु । तर डेमोक्रेटिक पार्टीले युक्रेनलाई समर्थन गर्ने र सहयोग उपलब्ध गराउने विषयमा स्पष्ट धारणा राख्दै आएको छ,’ जेलेन्स्कीले भनेका छन् ।
उनले अमेरिका र युरोपबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विषयमा पनि डेमोक्रेटिक नेताहरूले स्पष्ट धारणा राखेको बताए ।
‘त्यसैले शक्ति सन्तुलन कायम हुने र युक्रेनले थप सहयोग प्राप्त गर्ने आशा छ,’ उनले भने ।
जेलेन्स्कीले अमेरिकाबाट थप सहयोग प्राप्त भए त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि पनि प्रभाव पार्न सक्ने बताएका छन् ।
प्रतिक्रिया 4