News Summary
Generated by OK AI. Editorially reviewed.- यामाहाले क्लासिक डिजाइन र आधुनिक प्रविधिसहित एक्सएसआर १५५ बाइक नेपालमा ल्याएको छ ।
- यो बाइकमा १५५ सीसी इन्जिन, भीभीए प्रविधि, ट्र्याक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस उपलब्ध छन् ।
- कम्पनीका अनुसार एक्सएसआर १५५ को मूल्य रङअनुसार ५ लाख ३४ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय रुपैयाँसम्म छ ।
१९ कात्तिक, काठमाडौं । सडकमा अहिले यामाहाको ‘एक्सएसआर १५५’ बाइक देखिन थालेको छ । क्लासिक डिजाइन र आधुनिक प्रविधि संयोजन रहेको यो बाइकले विशेषगरी युवा रेट्रो बाइक पारखीको ध्यान तानिरहेको छ ।
बाहिरी बनावटमा पुरानो क्लासिक बाइकको झल्को दिने एक्सएसआर १५५ मा यामाहाले आफ्नो चर्चित १५५ सीसी इन्जिन प्रयोग गरेको छ ।
आकर्षक लुक्ससँगै पावर, सिटी राइडिङ र आधुनिक फिचर खोज्ने ग्राहक लक्षित गरी ल्याइएको यो बाइकको मूल्य रङ अनुसार ५ लाख ३४ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय रुपैयाँसम्म छ ।
एक्सएसआर १५५ को सबैभन्दा ठूलो आकर्षण यसको डिजाइन हो । गोलो हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांकी र क्लासिक शैलीको सिटले यसलाई परम्परागत मोटरसाइकलको लुक्स दिन्छ ।
बाहिरी बनावट क्लासिक भए पनि यसको प्रविधि भने आधुनिक छ । बाइकमा यामाहाको भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधि सहित १५५ सीसी इन्जिन प्रयोग गरिएको छ ।

यही इन्जिन यामाहाका वाईजेडएफ आर१५ र एमटी–१५ जस्ता मोडेलमा पनि प्रयोग हुँदै आएको छ । अन्य मोडेलमा परीक्षण भइसकेको इन्जिन भएकाले नयाँ डिजाइनको बाइक भए पनि यसको इन्जिनप्रति ग्राहकको विश्वास बढ्दै गएको कम्पनीको दाबी छ ।
भीभीए प्रविधिले इन्जिनको विभिन्न आरपीएममा उपयुक्त पावर डेलिभरी गर्न सहयोग गर्छ । यसले विशेषगरी मध्यम आरपीएममा राम्रो पावर उपलब्ध गराउने भएकाले सहरभित्रको ट्राफिकमा बाइक चलाउन सहज हुनेछ ।
सिटी राइडिङमा कत्तिको सहज ?
एक्सएसआर १५५ को राइडिङ पोजिसन तुलनात्मक रूपमा अपराइट छ । ह्यान्डलको अवस्थिति र बाइकको बनावटले सहरभित्र चलाउन सहज बनाएको छ । बाइकको आकार सानो र तौल वितरण राम्रो भएकाले ट्राफिकमा चलाउँदा तथा बाइकलाई मोड्दा नियन्त्रण गर्न सहज हुनेछ । विशेषगरी ६ फिटभन्दा कम उचाइ भएका राइडरका लागि यो बाइक सिटी राइडिङमा रमाइलो छ ।

यूएसडी सस्पेन्सन र स्लिपर क्लच
एक्सएसआर १५५ मा अगाडि अपसाइड डाउन (यूएसडी) सस्पेन्सन र पछाडि मोनोशक सस्पेन्सन राखिएको छ । यसले बाइकको स्थिरता र राइडिङ अनुभवमा सहयोग गर्छ ।
यसमा एसिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध छ । यसले गियर परिवर्तन गर्दा क्लच सञ्चालन सहज बनाउनुका साथै तीव्र रूपमा गियर घटाउँदा पछाडिको पांग्रामा हुने अनावश्यक प्रभाव कम गर्न सहयोग गर्छ । बाइकमा दिइएको सानो डिजिटल डिस्प्लेले यसको रेट्रो डिजाइनलाई कायम राख्दै आधुनिक प्रविधिको अनुभव दिन्छ ।

४० देखि ४८ किलोमिटर माइलेज
१५५ सीसीको पावरफुल इन्जिन भएको बाइकमा माइलेज कस्तो हुन्छ भन्ने प्रश्न पनि ग्राहकका लागि महत्त्वपूर्ण हुन्छ । एक्सएसआर १५५ ले ४० देखि ४८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । यद्यपि, वास्तविक माइलेज राइडिङ शैली, ट्राफिक, सडकको अवस्था र बाइकको मर्मतसम्भारमा निर्भर हुन्छ ।
बाइकमा भीभीए प्रविधि, ट्र्याक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस जस्ता आधुनिक फिचर पनि उपलब्ध छन् । ट्र्याक्सन कन्ट्रोलले चिप्लो सतहमा पछाडिको पांग्रा अनावश्यक रूपमा घुम्ने सम्भावना कम गर्न सहयोग गर्छ भने एबीएसले आकस्मिक ब्रेकिङमा पांग्रा लक हुने जोखिम कम गर्छ ।

रङ अनुसार मूल्य फरक
नेपालमा यामाहा एक्सएसआर १५५ विभिन्न रङमा उपलब्ध छ । निलो रङको बाइकको मूल्य ५ लाख ३४ हजार ९ सय, रातो रङको ५ लाख ४४ हजार ९ सय, खैरो रङको ५ लाख ४९ हजार ९ र कालो रङको ५ लाख ६४ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
क्लासिक डिजाइन, आधुनिक प्रविधि र यामाहाको ब्रान्ड पहिचानका कारण एक्सएसआर १५५ युवा राइडरका साथै ३० देखि ४० वर्ष उमेर समूहका ग्राहकको समेत रोजाइमा पर्दै आएको छ ।
एक्सएसआर १५५ केवल आकर्षक देखिने बाइकमात्र नभई सिटी राइडिङका लागि उपयोगी, राम्रो पावर भएको र आधुनिक फिचरले सुसज्जित मोटरसाइकलका रूपमा चिनिएको छ ।



तस्बिर/भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4