१९ कात्तिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् ।
जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका त्रियुगा नगरपालिका–३ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार वडा नम्बर ३ का ११ र वडा नम्बर ५ का २७ परिवारले पुर्जा प्राप्त गरेका छन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरेका परिवारलाई प्राथमिकताका आधारमा पुर्जा वितरण गरिएको उनले बताए ।
‘भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएका छौँ । बाँकी वडामा पनि प्रक्रिया पूरा भएपछि वितरण गर्दै जानेछौँ,’ नगरप्रमुख बस्नेतले भने ।
लालपुर्जा प्राप्त गरेसँगै वर्षौंदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व नपाएका परिवारले आफ्नो बसोबास रहेको जग्गामाथि कानुनी अधिकार प्राप्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्लाका विभिन्न स्थानीय तहमा जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको बताए । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
आयोगका अनुसार शुक्रबार कटारी नगरपालिकाका ११ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी छ ।
यस्तै, रौतामाई गाउँपालिका–७ का ६५ परिवारको पुर्जा तयार भइसकेको छ । चौदण्डीगढी नगरपालिकाका ३२ र बेलका नगरपालिकाका ४५ परिवारका लागि पनि जग्गाधनी पुर्जा वितरण गर्न आवश्यक तयारी पूरा भएको शाहीले जानकारी दिए ।
‘पुर्जा तयार भएका स्थानीय तहलाई वितरण प्रक्रिया अघि बढाउन भनेका छौँ । अन्य पालिकाबाट प्राप्त भएका कानुनी प्रक्रिया पूरा गरेका कागजातको पनि अध्ययन भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी शाहीले भने ।
प्रतिक्रिया 4