+
+
Shares

काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते २१:४५

१९ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित एवं सुरक्षित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ ।

कार्यालयले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्दै शान्ति सुरक्षा कायम राख्न देउसीभैलो खेल्ने समूह, क्लब, संघसंस्था, आयोजक तथा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो ।

प्रशासनले देउसीभैलो कार्यक्रममा सहभागी हुने व्यक्तिहरूले मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्न, होहल्ला गर्न, झैझगडा गर्न वा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गर्न नपाउने जनाएको छ ।

त्यस्तै, देउसीभैलो खेल्दा ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने प्रशासनले जनाएको छ । अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रम तथा अन्य संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

कुनै घर, निजी आवास, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा घरधनी, सञ्चालक वा सम्बन्धित जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्नेछ । अनुमति नदिएको स्थानमा जबरजस्ती देउसीभैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य गर्न पाइने छैन ।

त्यसैगरी, पटका, आतिसबाजी, भुइँचम्पा, रकेट, विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने अन्य पदार्थ प्रयोग, ओसारपसार, बिक्री वितरण तथा भण्डारण गर्न निषेध गरिएको छ ।

देउसीभैलो खेल्ने क्रममा सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई बाधा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न नपाइने प्रशासनको निर्देशन छ ।

देउसीभैलोका नाममा सर्वसाधारण, व्यवसायी, घरधनी तथा यात्रुलाई जबरजस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्ने कार्य नगर्न पनि प्रशासनले सचेत गराएको छ ।

बालबालिकालाई देउसीभैलोमा सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्नुपर्ने र उनीहरूलाई असुरक्षित स्थानमा लैजाने वा जोखिमपूर्ण गतिविधिमा संलग्न गराउन नपाइने उल्लेख छ ।

सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, फोहोरमैला गर्ने, सार्वजनिक स्थानमा अव्यवस्थित भेला हुने वा अरूको अधिकार तथा स्वतन्त्रतामा असर पर्ने गतिविधि गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै, जातजाति, धर्म, भाषा, संस्कृति तथा समुदायका आधारमा घृणा, द्वेष, अपमान वा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गीत, नारा, व्यवहार तथा गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।

देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब, संघसंस्था तथा आयोजकले आवश्यकताअनुसार सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीसँग समन्वय गर्नुपर्नेछ । कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले जारी निर्देशन तथा प्रचलित कानुन उल्लंघन गरी सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव वा सार्वजनिक सम्पत्तिमा असर पुर्‍याउने गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

सम्बन्धित गुनासो वा समस्या भएमा प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रशासनले सबै नागरिक, देउसीभैलो समूह, क्लब तथा आयोजकलाई मर्यादित र सुसंस्कृत देउसीभैलो मनाएर दीपावली पर्वलाई सभ्य, सुरक्षित, शान्तिपूर्ण र उल्लासमय बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?