+
+
Shares

खोटाङ जिल्ला अस्पतालको ५० शय्याको भवन हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अस्पताल खोटाङको ५० शैयाको चार तले भवन ठेक्का सम्झौताभन्दा झण्डै तीन वर्ष ढिलागरी तयार भएर निमित्त मेडिकल सुपरिटेन्डेण्टलाई हस्तान्तरण गरिएको छ।
  • श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले भ्याटसहित २२ करोड ९० लाख ४७ हजारमा भवन निर्माण सम्पन्न गरेको हो।
  • तिहार लगत्तै नयाँ भवनबाट सेवा सुरु गर्ने अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

२० कात्तिक, काठमाडौं । जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन तयार भएको छ । ठेक्का सम्झौता गरेको झण्डै तीन वर्ष ढिलागरी जिल्ला अस्पतालको चार तले भवन निर्माण सम्पन्न भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त भ्याट सहित २२ करोड ९० लाख ४७ हजारमा श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले अस्पतालको भवन पुरा गरेको हो । अस्पताल भवन बनिसकेसँगै कात्तिक १९ गते सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इन्जिनियर सुरोज पौडेलले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. पुष्कल राईलाई हस्तान्तरण गरेका छन् ।

जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शैयाको जिल्ला अस्पतालका लागि ५० शैयाको भवन निर्माण गरिएको हो ।

श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले ३० महिनामा सक्नेगरी २०७८ असार २४ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । तीन पल्ट म्याद थप गर्दा ४० मिटर लम्बाइ र साढे २० मिटर चौडाइ भएको भवन तयार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।

तिहार लगत्तै नयाँ भवनबाटै सेवा सुरु गर्ने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । कोशी प्रदेश सरकारको २०८२ जेठ १२ गतेको बैठकले जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । २०७८ सालमा जिल्ला अस्पतालको पुरानो भवन भत्काएर पक्की भवन निर्माण सुरु गरिएको थियो ।

पुरानो भवन भत्काइएसँगै अस्पतालको सेवा साँघुरो कोठामा केन्द्रित गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. पुष्कल डा. राईका अनुसार जिल्ला अस्पतालमा स्वास्थ्य जाँचका लागि दैनिक डेढ सयको हाराहारीमा बिरामी पुग्छन् । एउटै कोठामा धेरैजना हुने भएकाले कतिपय बिरामीले खुलेर आफ्नो स्वास्थ्य समस्या भन्न सक्दैनन् । स्वास्थ्यकर्मीलाई पनि कतिपय बिरामीको समस्याबारे अरुले ‘सुन्नेगरी’ बताउन गाह्रो भइरहेको डा. राईले बताए ।

भवन लगायतका पूर्वाधारको तयारीबिनै जिल्ला अस्पताललाई २०८२ असार २२ गते तत्कालिन स्वास्थ्य मन्त्री भूपेन्द्र राईले ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरेका थिए । १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिए पनि जिल्ला अस्पतालबाट सोही अनुसारको सेवा भने सुरु हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?