+
+
Shares
विचार :

समाजले सिक्न बाँकी शोक र वियोगको भाषा

शोक सबैले एउटै तरिकाले अनुभव गर्दैनन् । कोही खुलेर रुन्छन्, कोही मौन रहन्छन् । कोही अरूको साथ खोज्छन् त कोही एकान्त रोज्छन् । सहज रूपले दैनिक जिम्मेवारी पूरा गरिरहेका व्यक्तिसमेत भित्रभित्रै गहिरो पीडाबाट गुज्रिरहेका हुन सक्छन् ।

सृजना आचार्य सृजना आचार्य
२०८३ कात्तिक २० गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले नुवाकोट र रसुवामा बाढीपछि भेटिएका शोकसन्तप्त मानिसका अनुभवले शोक र वियोगबारे थप सचेतना आवश्यक देखाएको बताएका छन्।
  • लेखमा शोकलाई आँसु मात्र नभई प्रियजन वा आधार गुमाउँदा उत्पन्न हुने स्वाभाविक भावनात्मक प्रतिक्रिया भनिएको छ, र सबैले फरक तरिकाले भोग्ने उल्लेख छ।
  • लेखकले ‘अब बलियो हुनुपर्छ’ जस्ता वाक्यले शोकमा परेको व्यक्तिको पीडा बढाउन सक्ने भन्दै सुनिदिनु, व्यवहारिक सहयोग गर्नु र पछि पनि साथ नछोड्न सुझाएका छन्।

मानिस सामाजिक प्राणी भएकाले समाजका घटना-परिघटनाले उसलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । ऊ चाहेर वा नचाहेर पनि त्यसबाट भाग्न सक्दैन । जस्तोसुकै प्रिय-अप्रिय परिवेश र घटना आइपरे पनि सहनुको विकल्प हुँदैन । शारीरिक रूपले जति बिर्सन चाहे पनि मानसिक रूपले ती घटना-परिघटनाबाट जकडिएको हुन्छ । चेतन वा अवचेतन मनले उसलाई नजानिँदो तरिकाले हिर्काइरहेको हुन्छ ।

नेपाली समाज अत्यन्त द्रवीभूत हुने समाज हो । खुसीमा हास्न नसके पनि, इर्ष्या गरे पनि पीडाको क्षणमा मानवीय समवेदना प्रकट गर्ने प्रयास गर्छ । पीडामा एकाकार हुन खोज्छ ।  ढाडस दिन अग्रसर हुन्छ । तर जानी-नजानी हामी अरूका पीडा र समवेदनालाई आफ्नै बुझाइमा विस्तार गरेर झन् पीडा थप्छौं । लामो अर्ति-उपदेश फलाक्न खोज्छौं । हामीले सबैभन्दा नबुझ्ने र बुझेको जस्तो गर्ने भनेको शोक र वियोगको भाषा हो ।

कसैले आफ्नो प्रियजन गुमाएको खबर सुनाउँदा हामीमध्ये धेरैको पहिलो प्रतिक्रिया हुन्छ- मलाई किन खबर नगरेको ?, पहिल्यै किन नभनेको ? वा मलाई किन नबोलाएको ?

यी प्रश्नहरू माया, चिन्ता वा आफूलाई बेवास्ता गरिएको अनुभूतिबाट जन्मिएका हुन्छन् । तर भर्खरै आफ्ना आमा, बुबा, जीवनसाथी, सन्तान वा अत्यन्त प्रिय व्यक्ति गुमाएको मानिस कस्तो मानसिक अवस्थाबाट गुज्रिरहेको होला भन्नेबारे हामी कति सोच्छौँ ? कसरी सोच्छौ ?

सायद उसलाई घटनाको वास्तविकता स्वीकार गर्न गाह्रो भइरहेको छ । सायद ऊ असह्य पीडाबीच आफूलाई सम्हाल्ने प्रयास गरिरहेको छ । यस्तो बेला उसले आफ्नै दुःखसँग जुध्नुका साथै अरूलाई किन खबर गर्न सकेन भन्ने कुराको स्पष्टीकरणसमेत दिनुपर्ने बाध्यता पो हामीले सिर्जना गरिरहेका छौं कि ?

उद्देश्य कसैलाई चोट पुर्‍याउनु नहुन सक्छ । तर राम्रो नियतले व्यक्त गरिएका शब्दले पनि शोकमा परेको व्यक्तिको पीडा बढाउन सक्छ । बुझ्नुपर्ने यी र यस्ता थुप्रै विषय छन् । तर हामी कति संवेदनशील छौं ? प्रश्न हामीतिर तेर्सिरहेका हुन्छन् ।

नुवाकोट र रसुवामा मैले महसुस गरेको अभाव

हालै मनोसामाजिक परामर्श दिने सिलसिलामा भदौ १० को बाढीले क्षतविक्षत नुवाकोट र रसुवाका विभिन्न ठाउँमा पुग्ने अवसर पाएँ । मानिसहरूसँग भेट्दा र उनीहरूका अनुभव बुझ्ने प्रयास गर्दा एउटा कुरा महसुस भयो- दुःख भोग्नु र दुःखलाई कसरी बुझ्ने भन्ने जान्नु फरक कुरा रहेछ ।

हाम्रो समाजमा कसैको मृत्यु हुँदा के गर्ने,  कुन संस्कार पूरा गर्ने र परिवारलाई कसरी समवेदना दिने भन्ने आफ्नै परम्परा छ, अभ्यास छ । तर प्रियजन गुमाएपछि मानिसको मनमा के चलिरहेको हुक्छ ? ऊ किन एक्लै बस्न चाहन्छ ? किन सामान्य कुरामा पनि रिसाउन सक्छ ? वा, बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै संघर्ष गरिरहेको हुनसक्छ ?

मैले देखेको अवस्थाले शोक र वियोगबारे थप सचेतना आवश्यक रहेको महसुस गरायो । यसको अर्थ त्यहाँका मानिसहरू दुःख बुझ्दैनन् भन्ने होइन । हाम्रो समाजमा एकअर्काको दुःखमा साथ दिने समृद्ध परम्परा छ । तर साथ दिनु र शोकको मनोवैज्ञानिक प्रक्रियालाई बुझेर साथ दिनु एउटै कुरा होइनन्, बिल्कुलै फरक कुरा हुन्।

शोक भनेको आँसु मात्र होइन

मनोवैज्ञानिक दृष्टिकोणबाट शोक कुनै प्रिय व्यक्ति वा महत्त्वपूर्ण सम्बन्ध गुमाउँदा उत्पन्न हुने स्वभाविक भावनात्मक प्रतिक्रिया हो । प्रियजनको मृत्यु यसको परिचित उदाहरण भए पनि सम्बन्धविच्छेद, गर्भ गुमाउनु, घरबार वा जीविकोपार्जनको आधार गुमाउनु जस्ता अनुभवले पनि शोक जन्माउन सक्छन् । तिनका आफ्नै व्यथा र कथा हुन्छन् । तिनलाई समयमै सही तरिकाले समाधान गर्न सकिएन भने तिनले विकराल समस्या निम्त्याउन सक्छन् ।

शोक सबैले एउटै तरिकाले अनुभव गर्दैनन् । कोही खुलेर रुन्छन्, कोही मौन रहन्छन् । कोही अरूको साथ खोज्छन् भने कोही एकान्त रोज्छन् । सहज रूपले दैनिक जिम्मेवारी पूरा गरिरहेका व्यक्तिसमेत भित्रभित्रै गहिरो पीडाबाट गुज्रिरहेका हुन सक्छन् । स्वयं मनोविद्हरू पनि मानसिक समस्याले गुज्रिरहेका हुन सक्छन् ।

शोक र पीडालाई थुप्रै मनोविद्हरूले आआफ्नै ढङ्गले व्याख्या गरेका छन् । तीमध्ये  स्विस-अमेरिकन मनोचिकित्सक कुब्लर रसले प्रतिपादन गरेको शोकका पाँच चरण प्रसिद्ध छन् जसले पीडाका स्वाभाविक र अस्वाभाविक चरणहरूलाई राम्रोसँग बुझाउँछ । ती चरणहरू हुन्- अस्वीकार, क्रोध, सम्झौता, गहिरो दुःख र स्वीकार ।

शोकबारे सचेतना फैलाउनु भनेको सबैलाई मनोवैज्ञानिक बनाउनु होइन । यसको अर्थ मानिसहरूलाई दुःखका बेला कसरी प्रतिक्रिया दिने, अरूको भावनालाई कसरी सम्मान गर्ने र आवश्यक पर्दा सहयोग कहाँ खोज्ने भन्ने सिकाउनु हो ।

सुरुमा मानिसले आफूमाथि आइपरेको बज्रपात स्वीकार गर्न सक्दैन । इन्कार गर्छ, यस्तो हुनै सक्दैन भन्छ । त्यसपछि क्रोधित हुन्छ । अनि कुनै सन्दर्भलाई लिएर सम्झौता गर्न पुग्छ। अनि, विस्तारै गहिरो दुःखमा रुमलिन्छ । र, अन्त्यमा अवश्यम्भावी सत्यलाई स्वीकार गर्नुको विकल्प देख्दैन ।

यी चरणहरू सबैले एउटै क्रममा पार गर्नुपर्ने निश्चित प्रक्रिया होइनन् तर लगभग उस्तैउस्तै हुन्छन् प्रायः सबैका मानवीय समवेदना र पीडाका अनुभूति ।

त्यसैले, कोही चाँडै सहज रूपमा दैनिक जीवनमा फर्कियो भन्दैमा उसले पर्याप्त माया गरेको थिएन भन्न मिल्दैन । लामो समयसम्म दुःखी रह्यो भन्दैमा ऊ कमजोर छ भन्न पनि मिल्दैन ।

शोक कुनै परीक्षा होइन, जसमा निश्चित समयभित्र उत्तीर्ण हुनुपर्छ । यो बुझ्न, स्वीकार गर्न र आवश्यकताअनुसार सहयोग पाउन दिनुपर्ने मानवीय अनुभव हो जसलाई हामीले अत्यन्त संवेदनशील ढङ्गले बुझ्नुपर्छ । 

कहिलेकाहीँ हाम्रो सान्त्वनाले पनि चोट पुर्‍याउन सक्छ ?

नेपाली समाजमा अन्त्येष्टिमा सहभागी हुनु, शोकसन्तप्त परिवारको घरमा पुग्नु र आवश्यक काममा सहयोग गर्नु महत्त्वपूर्ण सामाजिक अभ्यास हुन् । यस्ता परम्पराले मानिसलाई अपनत्व र सहारा दिन्छन् । तर साथ दिने क्रममा प्रयोग गरिने भाषा र व्यवहारप्रति पनि सचेत हुनुपर्छ।

जस्तै- ‘अब बलियो हुनुपर्छ ।’

‘जे भयो, बिर्सिनुपर्छ ।’

‘अरूले त अझ ठूलो दुःख भोगेका छन् ।’

‘अझै कति दिन रुने ?’

‘मलाई किन खबर नगरेको ?’

‘जन्मेपछि को मर्दैन ? जन्मसँगै मृत्यु लिएर आएको हुन्छ ।’

यी वाक्य हामीले सामान्य रूपमा प्रयोग गरिरहेका हुन सक्छौँ । तर शोकमा परेको व्यक्तिले यिनलाई आफ्नो पीडा स्वीकार्य छैन, छिट्टै सामान्य हुनुपर्छ वा अरूको अपेक्षा पूरा गर्नुपर्छ भन्ने सन्देशका रूपमा बुझ्न सक्छन् । जसले गर्दा उसलाई आफूले भोगेको पीडा सामान्य रहेछ भन्ने नकारात्मक भान पर्न सक्छ ।

‘बलियो बन्नुपर्छ’ भन्ने आग्रहले आफ्नो आँसु लुकाउनुपर्ने दबाब सिर्जना गर्न सक्छ । अरूको दुःखसँग तुलना गर्दा उसले आफूले भोगिरहेको पीडासमेत व्यक्त गर्न नसक्ने अवस्था आउन सक्छ ।

आफूलाई खबर नगरिएकोमा दुःख लाग्नु स्वाभाविक हो । तर आफ्नो दुःखको जिम्मेवारी शोकमा परेको व्यक्तिमाथि थोपर्नु उचित हुँदैन । त्यसको सट्टा हामी भन्न सक्छौँ, ‘तपाईंको क्षतिप्रति मलाई धेरै दुःख लागेको छ । यस्तो बेला तपाईंको साथमा हुन चाहन्छु ।’

कहिलेकाहीँ सही शब्द खोजिरहनुभन्दा कसैको पीडालाई स्वीकार गर्नु र उसको कुरा सुनिदिनु बढी महत्त्वपूर्ण हुन्छ । 

साथ दिनु भनेको समाधान खोज्नु मात्र होइन

शोकमा परेको व्यक्तिलाई सहयोग गर्न मनोविज्ञानको विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन । तर आफ्नो व्यवहारले उसलाई कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे भने सचेत हुनुपर्छ ।

पहिले आफ्नो निर्णय नथोपरी अरूको कुरा सुनौँ । व्यक्तिले आफ्नो दुःख, रिस वा अन्योल व्यक्त गर्दा तुरुन्तै सल्लाह दिन वा उसको भावना सच्याउन नखोजौँ ।

दोस्रो, उसलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ । बोल्न, सामाजिक भेटघाटमा सहभागी हुन वा हरेक फोनको जवाफ दिन दबाब नदिऔँ । उसको भावनात्मक अवस्थाको सम्मान गरौँ ।

बाढीपहिरो, भूकम्प र आकस्मिक मृत्यु जस्ता घटनाले मानिसको जीवनमा एकैपटक धेरै क्षति ल्याउन सक्छन् । कसैले परिवारको सदस्य गुमाएको हुनसक्छ, कसैले घर वा जीविकोपार्जनको आधार । कसैले आफ्नो समुदाय र सुरक्षाको अनुभूतिसमेत गुमाएको हुनसक्छ ।

तेस्रो, व्यावहारिक सहयोग गरौँ । खाना पुर्‍याइदिने, घरको काममा सहयोग गर्ने वा बालबालिकाको हेरचाह गर्ने जस्ता साना कामले पनि कठिन समयमा ठूलो राहत दिन सक्छन् । यसबारे सचेत रहौं ।

चौथो, अन्त्येष्टिपछि पनि दुःखमा परेका व्यक्तिको साथ नछोडौँ । सुरुका दिनमा आफन्त र साथीभाइको उपस्थिति बाक्लो हुनसक्छ, तर समय बित्दै जाँदा शोकमा परेको व्यक्ति अझ एक्लो महसुस गर्न सक्छ, त्यस बेलाको मनोविज्ञान बुझौँ। केही दिन वा हप्तापछि उसको अवस्था सोधौं, आफ्नोपनको अनुभूति गराऔं ।

शोक आफैँमा मानसिक रोग होइन । तर पीडा अत्यधिक हुँदा, दैनिक जीवन गम्भीर रूपमा प्रभावित हुँदा वा आत्महानिको विचार आउँदा उपयुक्त मानसिक स्वास्थ्य सहयोग आवश्यक हुन्छ, त्यसबारे सचेत रहौं।

विपद्पछि भावनात्मक पुनःस्थापनामा सचेत रहौं

बाढीपहिरो, भूकम्प र आकस्मिक मृत्यु जस्ता घटनाले मानिसको जीवनमा एकैपटक धेरै क्षति ल्याउन सक्छन् । कसैले परिवारको सदस्य गुमाएको हुनसक्छ, कसैले घर वा जीविकोपार्जनको आधार । कसैले आफ्नो समुदाय र सुरक्षाको अनुभूतिसमेत गुमाएको हुनसक्छ ।

यस्तो अवस्थामा उद्धार, उपचार, खाद्यान्न र आवासको व्यवस्था पहिले प्राथमिकता हुन् । तर मानिसको आवश्यकता सधैं भौतिक राहतमा मात्र सीमित हुँदैन ।

विपद्पछि मानिसहरूले डर, अन्योल, निद्रासम्बन्धी कठिनाइ वा घटनाको बारम्बार सम्झना अनुभव गर्न सक्छन् । सबैको प्रतिक्रिया एउटै हुँदैन । सबैलाई एउटै किसिमको सहयोग आवश्यक नपर्न सक्छ । त्यसैले राहत र पुनःस्थापनाका कार्यक्रमहरूमा मनोसामाजिक सहयोगलाई पनि महत्त्व दिनुपर्छ ।

नुवाकोट र रसुवामा शोक र वियोगबारे थप संवाद आवश्यक देखिनुले मलाई एउटा प्रश्नतर्फ फर्काएको छ- हामी मानिसहरूलाई फेरि उभिन सहयोग गर्ने कुरा त गर्छौँ, तर उनीहरूले भोगिरहेको भावनात्मक प्रक्रियालाई बुझ्न र सम्हाल्न कति ठाउँ दिन्छौँ ?

पुनःस्थापना भनेको भत्किएको घर पुनर्निर्माण गर्नु मात्र होइन । मानिसले आफ्नो जीवन, सम्बन्ध र सुरक्षाको अनुभूति फेरि निर्माण गर्न पाउने वातावरण बनाउनु पनि हो। 

आफैंलाई सोध्नुपर्ने प्रश्न

शोकबारे सचेतना फैलाउनु भनेको सबैलाई मनोवैज्ञानिक बनाउनु होइन । यसको अर्थ मानिसहरूलाई दुःखका बेला कसरी प्रतिक्रिया दिने, अरूको भावनालाई कसरी सम्मान गर्ने र आवश्यक पर्दा सहयोग कहाँ खोज्ने भन्ने सिकाउनु हो ।

परिवार, विद्यालय, कार्यस्थल र समुदायमा शोकबारे खुला संवाद हुनुपर्छ । सबैले बुझ्नुपर्छ- आँसु कमजोरी होइन, मौनता सधैं बेवास्ताको संकेत होइन । हरेक व्यक्तिले दुःख फरक तरिकाले अनुभव गर्छ ।

नुवाकोट र रसुवामा गरेको अनुभवले शोकप्रति संवेदनशिलता केवल व्यक्तिगत गुण नभई सामाजिक रूपमा विकास गर्नुपर्ने क्षमता पनि हो भन्ने महसुस गरायो ।

हामी अरूको पीडा सहजै हटाउन सक्दैनौँ । तर आफ्नो व्यवहारबाट उनीहरूको दुःखमा थप अपराधबोध, तनाव वा एक्लोपन नथप्ने प्रयास भने गर्न सक्छौँ ।

कसैले प्रियजन गुमाउँदा ‘मलाई किन खबर नगरेको ?’ भनेर सोध्नुअघि एक पटक रोकिऔँ । ‘अब बलियो बन्नुपर्छ’ भन्नुअघि उसको कुरा सुनौँ । निर्णय गर्नुअघि उसले भोगिरहेको परिस्थितिलाई बुझ्ने प्रयास गरौँ ।

किनकि, शोकमा परेको व्यक्तिले आफ्नो प्रेम प्रमाणित गर्न, मौनताको स्पष्टीकरण दिन वा आफ्ना निर्णयको बचाउ गर्नुपर्ने अवस्था सिर्जना नगरौं । उसले आफ्नो पीडा बुझिएको, भावनाको सम्मान गरिएको र आफू एक्लो नरहेको अनुभूति गर्न पाओस् ।

शोकलाई रोक्न सकिँदैन । तर शोक भोगिरहेको मानिसलाई एक्लै हुनबाट भने रोक्न सकिन्छ ।

आउनुहोस्, यस्तो समाज निर्माण गरौँ जहाँ हामी दुःखमा परेका मानिसको वरिपरि भेला मात्र नहोऔं ।  उनीहरूको दुःख बुझ्न र साँच्चिकै साथ दिन पनि जानौं ।

(लेखक आचार्य मनोविद् हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?