News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा सुक्खा मौसम सुरु भएसँगै आज बिहान एक्यूआई १११ पुगेर वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ ।
- काठमाडौं महानगरपालिकाले स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली र अन्य क्षेत्रमा प्रदूषण बढेकाले वायु प्रदूषण हुने गतिविधि नगर्न अनुरोध गरेको छ ।
- नयाँदिल्लीमा एक्यूआई ४२२ पुगेपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले वायु गुणस्तरलाई ‘अति खराब’ भनेको छ ।
२० कात्तिक, काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार बिहीबारजस्तै आज शुक्रबार बिहान पनि उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको छ । आगामी आइतबारसम्मै वायु प्रदूषण अस्वस्थकर तहमा रहने पूर्वानुमान छ ।
आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा आज बिहान वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ छ । हिजो काठमाडौंको मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो । आज बिहान सवा ९ बजेसम्म भने मध्यबानेश्वर क्षेत्रमा १२७ एक्यूआई छ ।
काठमाडौं महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डमा अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर तहमा छ ।
त्यसैले काठमाडौं महानगरपालिकाले वायु प्रदूषण हुने गतिविधि नगर्न सम्बद्ध सबैलाई अनुरोध समेत गरेको छ ।
सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कणको मात्रा बढ्ने भएकाले उपत्यकाको वायु गुणस्तर थप खस्किने गर्दछ ।
वायु गुणस्तर सूचकांक अनुसार हावामा पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म हुनुलाई संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा विशेष गरी स्वासप्रश्वासका बिरामी, वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू जस्ता संवेदनशील समूहका मानिस थप जोखिममा पर्ने जानकारहरू बताउँछन् ।
पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ । पीएम २.५ भन्नाले हावामा रहेका २.५ माइक्रोमिटरभन्दा साना व्यासका ठोस कणलाई बुझिन्छ । यो सबैभन्दा खतरनाक वायु प्रदूषकमध्ये एक हो । यस्ता सूक्ष्म कण नाक र घाँटीको प्राकृतिक अवरोध पार गर्दै फोक्सो अनि रगतमा मिसिने गर्दछन् । त्यसबाट मानिसहरू क्यान्सर जस्ता गम्भिर रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा ५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । त्यस्तै, २४ घण्टाको औसत मात्रा प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने संगठनको मापदण्ड छ ।
भारतको अवस्था अति खराब, दिल्लीमा एक्यूआई ४०० नाघ्यो
छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० नाघेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार एक्यूआईका आधारमा दिल्लीको वायु गुणस्तर ‘अति खराब’ (सिभियर) अवस्थामा पुगेको छ ।
सीपीसीबीले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार बिहान ८ बजे दिल्लीमा एक्यूआई ४२२ मापन गरिएको थियो ।
त्यस्तै जवाहरलाल नेहरू स्टेडियमनजिक ४२१ र नजफगढमा ४१४ एक्यूआई रेकर्ड गरिएको छ । चाँदनी चोक क्षेत्रमा भने एक्यूआई ३९१ मापन भएको छ ।
सीपीसीबीका अनुसार एक्यूआई ४०१ देखि ५०० सम्म पुग्नुलाई ‘सिभियर’ अर्थात् गम्भीर अवस्था मानिन्छ । यस्तो प्रदूषित हावाले स्वस्थ मानिसको स्वास्थ्यमा समेत असर पार्न सक्छ भने बिरामीहरूमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
त्यस्तै एक्यूआई ३०१ देखि ४०० सम्म रहेमा लामो समयसम्म त्यस्तो हावामा सास फेर्दा श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने सीपीसीबीले जनाएको छ ।
सीपीसीबीका अनुसार एक्यूआई शून्यदेखि ५० सम्म रहँदा मात्र वायु गुणस्तरलाई ‘राम्रो’ मानिन्छ । एक्यूआई १०० सम्म भएमा भने त्यसलाई ‘सन्तोषजनक’ अवस्थाका रूपमा वर्गीकरण गरिन्छ ।
प्रतिक्रिया 4